कुलिङ पिरियड लागु नहुँदा बीमा कम्पनीहरुमा कति छ जोखिम ?

काठमाडौं । एउटा बीमा कम्पनीमा काम गर्दा गर्दै अर्को बीमा कम्पनीमा जम्प गर्ने तथा एउटा बीमा कम्पनी छाडेको एक/दुई सातामै अर्को बीमा कम्पनीमा जाने प्रवृत्तीलाई रोक्न बीमा समितिले कुलिङ पिरियडको व्यवस्था गरेको हो । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा सेवाबाट निवृत्त भएको ६ महिनाको अवधि पुरा नभएसम्म अर्को बीमा कम्पनीको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन नपाउने व्यवस्था गरेको छ ।

समितिले जारी गरेको यो निर्देशिकालाई बीमा कम्पनीहरुले एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत अर्को कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मात्रै जान नपाउने भन्दै आफुखुसी व्याख्या गरेका छन् । कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतबाट प्रमुख कार्यकारी अधिकृत पदमा मात्रै जान नपाउने व्यवस्था रहेको भन्दै गरेको व्याख्यालाई समितिले पनि सदर गरिदिएको छ ।

नियामक निकाय बीमा समितिले नै यस्तो व्याख्या गरिदिए पछि कुलिङ पिरियड किन राख्नु पर्यो ? बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सामान्य जिम्मेवारी र दायित्व निर्वाह गर्ने पद होइन । लाखौ हजारौ बीमितको जोखिम तथा दायित्व बहन गर्न जिम्मा लिएको पद हो । सबै कम्पनीका आ-आफ्ना रणनीति हुन्छन् । उनिहरुका आफ्नै किसिमका ग्राहक हुन्छन् । यो सबै विवरण प्रमुख कार्यकारी अधिकृत सँग हुन्छ । त्यसैले गर्दा उनिहरु ‘प्रोफेसनल’  र ‘इथिकल’ हुनुपर्छ ।

कुनै एउटा व्यवसायिक घरानाको व्यवसाय भित्र्याउने प्रलोभनमा बीमा कम्पनीका सञ्चालकहरुले कर्मचारी नियुक्ति गर्ने प्रचलन त सामान्य हो । तर यहि नियम कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनमा पनि लागु गरिदा कम्पनीहरुमा अराजकता मात्रै होइन अस्वस्थ अभ्यास भइरहेको छ ।

बीमा समितिले नेपाल राष्ट्र बैंकको नियम कपि मात्रै गर्ने भन्दा पनि बीमा क्षेत्रको अभ्यास र कार्यशैलीलाई पनि नजरअन्दाज गर्नु पर्नेदेखिन्छ । निर्देशिकामा सामान्य हिसावले कुलिङ पिरियड राख्दा खुलेआम यस्ता हर्कत देखिन्छ भने अन्य यस्तै अभ्यास डिसिइओ, विभागीय प्रमुखमा त धेरै नै छ ।

कतिपय सिइओ, डिसिइओ तथा विभागीय प्रमुखहरुले अर्को संस्थामा जाने सौंझाता गरेर पनि काम गरिरहेको पाइन्छ । जागिर एउटा कम्पनीमा खाने तर काम आफु जान लागेको कम्पनीको गर्ने गरेका छन् । एउटा कम्पनीमा राजिनामा नदिइ काम गरिरहेको कुरालाई नियमन गर्न गाह्रो छ । तर राजिनामा दिए पछि एउटा निश्चित अवधि राखिदिने हो भने यस्ता हर्कत बन्द हुन सक्छ । नियममै एउटा कम्पनीबाट अर्को कम्पनीमा जागिर खान जादा निश्चित अवधिसम्म कुनै पनि पदमा जान नपाउने व्यवस्था गरिदिने हो भने पनि यस्ता अराजक अभ्यास कम भएर जान्छ ।

विज्ञहरुका अनुसार प्रमुख कार्यकारी अधिकृत सँगै अन्य पदका कर्मचारीहरुलाई पनि कुलिङ पिरियड आवस्यकता देखिन्छ ।  एउटा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएको व्यक्ति ६ महिना सम्म अन्य कम्पनीको कुनै पनि पदमा नियुक्त हुन नपाउने व्यवस्था गरिदिने हो भने दुई वटा कम्पनीमा काम गर्ने परिपाटीको पनि अन्त्य हुन्छ । नियमले नै ६ महिनासम्म काम गर्न नपाउने भए पछि उसले विचको ६ महिनामा अर्कै योजना बनाउछ । यो नियम डिसिइओ लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुमा पनि लागु हुनु पर्ने देखिन्छ । उनिहरुका लागि ६ महिनाको सट्टामा ४/५ महिना मात्रै लागु गर्न सकिन्छ । र उनिहरुलाई पनि अर्को कम्पनीको कुनै पनि पदमा नियुक्त हुन नपाउने व्यवस्था गरिनु पर्छ ।

कुलिङ पिरियड नहुँदा बीमा कम्पनीहरुमा थिति बिक्रीन सक्छ । एउटा रणनीतिमा हिडेको कम्पनीले एकाएक रणनीति परिवर्तन गर्नु पर्ने हुन सक्छ । अर्को कम्पनीमा जादै छु भने वित्तीकै काम गरिरहेको कम्पनीको संरचना विगार्ने तथा भड्काउने हुन सक्छ । ताकी आफु जान लागेको कम्पनीमा गएर यसको भन्दा राम्रो प्रस्तुती दिन सकियोस । अर्को तर्फ आफ्नै सेट नै उठाउने र कम्पनीलाई समस्यामा पार्ने अभ्यास पनि धेरै देख्न सकिन्छ ।

आफुले छोड्दै गर्दा राम्रा कर्मचारीलाई सँगै लिएर जाने अभ्यास पनि कुलिङ पिरियडको कार्यान्वयनले बन्द हुन सक्छ । निर्जीवन बीमा कम्पनीमा ठुला ठुला व्यवसायी तथा ग्राहकको विवरण हुन्छ । आफुले छोड्दै गर्दा ति ग्राहकको विवरण लैजाने तथा अर्को कम्पनीमा गएर वार्गेनिङ गर्ने प्रचलन पनि उत्तीकै छ । यसले प्राइसिङमै ठुलो असर गर्छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा दर घटाउन उनिहरुको ठुलो भुमिका रहन्छ । यो आफैमा इथिकल कुरा भएकाले प्रमुख कार्यकारी अधिकृत जस्तो व्यक्तिले यो कुरालाई मनन गर्नु पर्ने हो तर उनिहरु स्वयं उल्लङ्घन गर्न तल्लीन छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार