अभिकर्ताको कमिशनमा लाग्ने कर घटाउदा बीमाको पहुँच थप बढ्छ

निनाम कुलुङ ‘मंगले’ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले केहि समय अगाडी बीमा अभिकर्ताहरुसँगको छलफलमा अभिकर्ताले प्राप्त गर्ने कमिशनमा लाग्ने कर घटाउन पहल गरेको बताएका थिए । बीमा समितिको उक्त पहल सर्ह्रानिय छ ।

बीमा व्यवसाय विस्तारमा ठुलो योगदान पुर्याएका अभिकर्ताहरुले ठुलो रकम नेपाल सरकारलाई कर बापत भुक्तानी गर्दै आएका छन् । नेपाल सरकारले बजेट वक्तव्य मार्फत जीवन बीमाको पहुँच ३५ प्रतिशत पुर्याउने लक्ष्य लिदै गर्दा अभिकर्ताहरुलाई प्रोत्साहन गर्न सक्नु पर्छ ।

अन्य पेशा व्यवसाय छाडेर पुर्णकालिन अभिकर्ताको काम गर्दै आएकाले कमिशनको १५ प्रतिशत राज्यलाई दिनु परिरहेको छ । अभिकर्ताले विगत लामो समयदेखि यस्तो करलाई घटाउनु पर्ने माग राख्दै आए पनि सरकारले अहिलेसम्म संवोधन गर्न सकेको छैन ।

अभिकर्तालाई प्रोत्साहन गर्ने हो भने उनिहरुले प्राप्त गर्ने कमिशनमा लाग्ने करको दर घटाउनै पर्छ । सरकारले विभिन्न किसिमका भत्ता सेवा सुविधाको आम्दानीमा १५ प्रतिशतसम्म कर लिने गरेको छ । अभिकर्ताले प्राप्त गर्ने कमिसन भत्ता नभएर यो उनिहरुको नियमित आम्दानी हो । यदि सरकारले अभिकर्ताले प्राप्त गर्ने कमिशनलाई भत्ताको रुपमा नहेरी तलब तथा अन्य कुनै विशेष किसिमको आम्दानीमा गणना गर्ने हो भने १५ प्रतिशतसम्म कर भुक्तानी गर्न पर्दैन थियो ।

अभिकर्ताले यहि कमिशनबाट आफ्नो गुजारा चलाउदै आएका छन् । दैनिक गुजारा चलाउनु पर्ने आम्दानीमै सरकारलाई यति धेरै कर तिर्नु पर्दा अभिकर्ताहरु बाध्य भएर अन्य पेशा व्यवसाय गर्न बाध्य भएका छन् । यदि सरकारले अभिकर्ताको कमिशनलाई पनि नियमित आम्दानीको रुपमा हेरेर कर घटाउने हो भने पुर्णकालिन अभिकर्ताको संख्या पनि बढ्ने छ । अभिकर्ताको संख्या जति धेरै बढ्छ बीमा पोलिसी पनि त्यहि अनुपातमा बृद्धि हुनेछ ।

सरकारले तथा बीमा समितिले अभिकर्ताहरुको संरक्षणका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष तथा सामाजिक सुरक्षा कोष लगायतका संस्थाहरुबाट भविष्यको सुरक्षण गर्न सक्नु पर्छ । आजका दिनमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु छन् । उनिहरुले मात्रै जीवन बीमा व्यवसाय धान्न सक्दैन । यस अभिकर्ताको काम गरेर पनि जीवन सञ्चालन गर्न सकिने महशुस गराउनका लागि पनि यस्ता प्याकेजहरु आवस्यक छ ।

धेरै भन्दा धेरै अभिकर्ताहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने हो भने नेपाल सरकारले बजेटमा लिइएको लक्ष्य पुरा गर्न धेरै समस्या पर्ने छन् । ५ वर्ष अगाडि बीमाको पहुँच ७/८ प्रतिशत थियो । अहिले २१ प्रतिशत भन्दा माथि छ । यो सबै ५ लाख अभिकर्ताको देन हो । अभिकर्ताहरुको सक्रिय सहभागिताले मात्रै बीमा पहुँच बढ्न सक्ने भएकाले अभिकर्तालाई आकर्षित गर्ने नीति आवस्यक छ ।

जति धेरै जीवन बीमा व्यवसाय बढ्छ त्यहि अनुपातमा कम्पनीहरुले दिर्घकालिन स्रोत संकलन गर्न सफल हुन्छन् । देशमा दिर्घकालिन स्रोतको अभाव हुँदै गर्दा बीमा यस्तो क्षेत्र बन्नेछ जसले देशकै ठुला ठुला विकासका पूर्वधार निर्माण गर्ने स्रोत जुटाउन सक्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र ठप्प हुँदा जीवन बीमा व्यवसाय भने बढ्न सफल भयो । विगतका वर्षको तुलनामा जीवन बीमा व्यवसायको बृद्धिदरमा केहि कमि देखिए पनि समग्रमा व्यवसाय भने बढेको छ । अन्य पेशा व्यवसाय ठप्प हुँदा पार्ट टाइमको रुपमा सक्रिय अभिर्ताले पुर्ण रुपमा समय दिए । उनिहरुले आफ्नो सम्पुर्ण समय बीमा व्यवसाय विस्तारका लागि खर्चिएको हुँनाले व्यवसाय बृद्धि हुन गएको हो । यदि बजारमा पुर्ण कालिन अभिकर्ताको संख्या बढाउने हो भने अझै व्यवसाय बढ्नेछ । तर यसका लागि प्रोत्साहन मुलक प्याकेजहरु दिन सक्नुपर्छ । उनिहरुलाई बजारमा टिक्न सक्ने वातावरण तयार पार्न सक्नुपर्छ ।

राज्यले अभिकर्ताले प्राप्त गर्ने कमिसनमा कर मात्रै लिन जानेको छ तर तिनै अभिकर्ताहरुको बृद्धि विकास र संरक्षणका लागि भने कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन । उनिहरुको जीवन सुरक्षित बनाउनका लागि कोषहरु बनाउने भोलिका दिनमा मर्दा पर्दा राहात तथा सहयोग गर्न सक्ने अवस्था बनाउनु पर्छ ।

                                                                                                                                          बीमा क्षेत्रका जानकार मंगलेको लेख

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार