सर्भेयरलाई बीमा कम्पनीको कर्मचारीको रुपमा लिने जनमानसको बुझाईलाई समितिको मान्यता

 शेर बहादुर बुढा  

निर्जीवन बीमा दाबीको क्षति मुल्यांकनका दौरान बीमा  कम्पनी  र दाबीकर्ता बीमितको चासो विपरीत ध्रुबमा हुन्छ | स्वभाविक रुपमा बीमा कम्पनी  क्षतिपूर्ति रकम घट्न सक्ने पक्षहरुमा केन्द्रित रहेको पाइन्छ भने दाबीकर्ता बीमित क्षतिपूर्ति रकम बढ्न सक्ने पक्षहरुमा केन्द्रित रहेको पाइन्छ | त्यसकारण दावी निरुपणका लागि क्षति मुल्यानकनकर्ता सर्भेयरलाइ स्वतन्त्र र निष्पक्ष निकायको रुपमा बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ ले व्यवस्था गरेका छन | बेलायतको The Association of Insurance Surveyors Ltd. को वेवसाइटको पहिलो वाक्य नै We are Independent of Insurance and Security Industries रहेकोछ | स्पस्ट छ कि बीमा सर्भेयरका लागि स्वतन्त्रता र निष्पक्षता निक्कै महत्वपूर्ण छ |

सर्भेयरलाइ बीमा कम्पनीको कर्मचारीको रुपमा लिने जनमानसको बुझाइ

तर नेपालमा प्राय सर्वसाधारण दाबीकर्ताले सर्भेयरलाइ बीमा कम्पनीको कर्मचारीको रुपमा लिई आफ्नो क्षति मुल्यांकन रकम वृद्धि गर्ने मनसायका साथ सर्भेयरलाइ सुनाउने गर्दछन जस्तै – तपाइको कम्पनीमा निवेदन दिएको ४ दिन पछी मात्र सर्भे गर्न किन आउनु भो ?, तपाइको बीमा कम्पनीमा दस बाह्र बर्ष देखि बीमा गराई रहेकोछु, दाबी  गरेको यो बीमा बाहेक हाम्रा धेरै सम्पतिहरु तपाइ कै बीमा कम्पनीमा बीमा छ, चित्त बुझ्दो क्षतिपूर्ति नआए तपाइको बीमा कम्पनी  छोडी दिन्छु आदि आदि | सर्वसाधारण मात्र होइन लकडाउनका समयमा सवारी संचालन अनुमतिका बारे सोधपुछका क्रममा प्रहरी अधिकृतले समेत समेत तपाइ कुन बीमा कम्पनीको सर्भेयर हो भन्ने प्रश्न गरे | यसरी सबैजसो सर्भेयरले सर्भेका दौरानमा  आफु बीमा कम्पनीको कर्मचारी नरहेको र एक स्वतन्त्र मुल्यांकनकर्ता रहेको तथ्य पटक पटक बुझाउन पर्ने अवस्था आइ रहन्छ   |

बीमा क्षेत्र बुझेकाले समेत सर्भेयर बीमा कम्पनीको हितको मात्र पक्षपोषण गर्छ ठान्दछन

निर्जीवन बीमा क्षेत्रको कार्य प्रक्रिया बुझेका धेरैले समेत बीमा सर्भेयरको स्वतन्त्रत़ा औपचारिकतामा सिमित रहेको र व्यबहारमा सर्भेयरले सदैव बीमा कम्पनीको हितको मात्र पक्षपोषण गर्ने गरेको ठान्दछन | बीमा कम्पनीबाट निरन्तर काम पाउने आशामा आफुलाई नियुक्त गर्ने बीमा कम्पनी  कै हितको मात्र सर्भेयरले पक्षपोषण गर्छ भन्ने बिश्वास  गर्दछन | त्यसकारण क्षति मुल्यांकन रकम बढाउने प्रयोजनका लागि बीमा कम्पनीबाट सर्भेयरलाइ दवाव दिन लगाउने कार्यहरु गर्ने गराउने गरिएको पाइन्छ |

एक पटक दावी गरे पछी आफ्नो बीमा कम्पनि छोडी दिने प्रचलन

निर्जीवन बीमा क्षेत्र बुझेका र नबुझेका कतिपय बीमितहरु सर्भेयरले बुझाउन खोजेको क्षति मुल्यांकनका आधारहरुमा तार्तिक छलफल गर्न समेत मान्दैंनन र क्षति मुल्यांकन रकममा चित्त नबुझेता पनि स्वीकार गर्दछन | तर आफुलाई क्षति मुल्यांकन रकममा चित्त नबुझेको बदलाको रुपमा आफ्नो बीमा कम्पनी  छोडी दिन्छन | यसरी एउटा दाबी  पश्चात बीमा कम्पनी  छोड्ने एक मात्र कारण हो।  आफुलाई दिइएको क्षति मुल्यांकन रकम सर्भेयरले गरेको निष्पक्ष मुल्यांकन होइन र बीमा कम्पनीको निर्देशन र सहमतिमा सर्भेयरले निकालेको रकम मात्र हो भन्ने     बीमितको बिश्वास  |

सर्भेयरको क्षमता निष्पक्षता प्रति जनमानसको बिश्वास वृद्धि गर्नु आवश्यकता र चुनौती

निर्जीवन बीमा क्षेत्र बुझेका र नबुझेका दुवैमा उल्लेखित धारणा प्रवल रहेसम्म आफ्नो दावीको क्षति मुल्यांकन प्रक्रिया प्रति दाविकर्ताको बिश्वास  रहदैन | दाबीको क्षति मुल्यांकन प्रक्रिया प्रति दाविकर्ताको बिश्वास  नरहेको अवस्थामा दावी फरफारक छिटो छरितो र विवादरहित हुदैन | अर्थात दावी फरफारक छिटो छरितो र विवादरहित हुनका लागि क्षति मुल्यांकन प्रक्रिया प्रति दाविकर्ताको बिश्वास  हुनु पर्छ नत्र विवाद होहल्ला र दवावका भरमा बढी क्षति मुल्यांकनपाइन्छ भन्ने भावना बिकसित हुन्छ | त्यसबाट निर्जीवन बीमा क्षेत्रको बिकास अवरुद्ध हुन्छ | यसकारण क्षति मुल्यांकन प्रक्रिया प्रति अर्थात सर्भेयर प्रति दाविकर्ता बीमित  वर्गको बिश्वास  वृद्दि गर्नु निर्जीवन बीमा  क्षेत्रको मुख्य आवश्यकता र चुनौती हो ।

सर्भेयरको स्वतन्त्रताका विद्यमान प्रावधानहरु

नेपालमा सर्भेयरको स्वतन्त्रताका केहि प्रावधानहरु रहेकाछन | निर्जीवन बीमा कम्पनी  र निर्जीवन बीमा सर्भेयर दुबैको लाइसेन्स बीमा कम्पनी बाटै जारी  हुन्छ | त्यस्तै नियुक्त भइ सकेको सर्भेयरलाइ बीमा कम्पनीले बीमा समितिको अनुमतिबिना हटाउन सक्दैन | बीमा कम्पनीको कर्मचारीको रुपमा कार्यरत सर्भेयरले आफ्नो लाइसेन्स नविकरण गर्न सक्दैन | यस बाहेक बीमा सर्भेयरहरुको क्षमता, स्वतन्त्रता, निष्पक्षता प्रति जनमानसको बिश्वास  वृद्धि गर्न बीमा समितिबाट सहजै गर्न सकिने धेरै कामहरु छन जस्तै सर्भेयरको लाइसेन्स जारि गर्दा, नवीकरण गर्दा र बर्ग वृद्धि गर्दा परीक्षाका आधारमा मात्र गर्ने र सो को प्रचार प्रसार गर्ने, बीमा समितिको वेवसाइटमा निर्जीवन बीमा सर्भेको कार्य प्रक्रिया सम्बन्धि बृस्तित विवरण यस प्रकारले राख्ने कि  जसबाट सर्भेयरको स्वतन्त्रता र निष्पक्षता झल्कियोस, बीमा समितिले सर्भेयर एसोसियसनको परामर्श र सहयोगमा सर्भेयरहरुको क्षमता अभिवृद्धिका बिभिन्न कार्यक्रमहरु गर्ने |

बीमा कम्पनीका शाखा कार्यालयहरुका क्रियाकलापहरु

निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयहरुको मुख्य काम मार्केटिंङ गर्नु र प्रिमियम संकलन गर्नु हो | कहिलेकही आफुकहाँ  दर्ता हुने दाबी  निवेदनलाई निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयहरुले आफ्नो हेड अफिसमा पेस गर्दछन र सर्भेयर खटाउन फलो अप गर्दछन | सर्भे र क्षति मुल्यांकन कार्यप्रक्रिया र बीमितलाइ क्षति मुल्यांकनमा सहमत गराउने कार्यहरुमा बीमा कम्पनीको शाखा कार्यालयहरुको संलग्नता हुदैन | सर्भेयरले पेश गरेको क्षति मुल्यांकन फाइल सम्म शाखा कार्यालयहरुको पँहुच  नै हुदैन | यसकारण शाखा कार्यालयहरु बीमा सर्भेका कार्य प्रक्रियाहरुमा अनभिज्ञ हुने भएकाले क्षति मुल्यांकन कसरि भो र दाबीकर्ता बीमितसंग के कसो कुराकानी भो भनि सर्भेयरबाट जानकारी लिने गर्दछन |

कार्यरत सर्भेयर र बीमा कम्पनीका शाखाहरुको सम्बन्ध

बीमा कम्पनीका शाखाहरुको मुख्य चासो नै आफ्नो बार्षिक टार्गेट पुर्याउने हुन्छ | यसका लागी यस बर्ष दावी गरेका बीमितहरुले आउदो बर्ष समेत पोलिसी नविकरण गराउन भन्ने स्वभाविक चाहना शाखाहरुमा हुन्छ | आफ्नो दाबीको क्षति मुल्यांकन रकममा चित्त नबुझेमा बीमितले आउदो बर्ष नविकरण गराऊदैनन | त्यसैले कतिपय बीमा कम्पनीका शाखाहरुले क्षति मूल्यांकन  रकम वृद्धि गर्न अनुरोध गर्ने गर्दछन | अनुरोधका वावजुत कतिपय क्षति मुल्यानकन रकम वृद्धि गर्न नसकिने अवस्थामा हुन्छ र क्षति मूल्यांकनका आधारहरु बारे जानकारी लिन समेत बीमितले मान्दैनन | यसको सोझो परिणाम हुन्छ – दाबीकर्ता बीमितले सो बीमा कम्पनि छोड्ने | यस्तो अवस्थामा कतिपय शाखाहरुले उक्त सर्भेयरलाइ आफ्ना बीमितहरुको नयाँ  दावीहरुमा नखटाई दिन दावी विभागमा अनुरोध गर्दछन | यसबाट स्पस्ट छ सर्भेयरको कामले    बीमा कम्पनीका कतिपय शाखाहरुलाई बेखुसी पारेको हुन्छ | यसबाट स्पस्ट छ बीमा कम्पनीका शाखाहरुमा हुनेवाला सर्भेयरहरुलाई ज्ञान दिएर दीक्षित गर्ने विषयवस्तु नै हुदैन |

निर्जीवन बीमा सर्भे पेशाको रुपमा अगाडी बढ्दै

नेपालमा बीमा सेवाको सुरुवाती चरणमा इन्जिनियरहरुलाई बोलाइ बिमा कम्पनिहरुले नै अनौपचारिक तालिम दिई सर्भेयरको रुपमा काम लगाउने अवस्था थियो | बीमा क्षेत्रको वृद्धिसंगै निर्जीवन बीमा सर्भे क्षेत्र समेत वृद्धि भइ रहेको छ | बिगतका बर्षहरुमा स्वरोजगार प्रकारका व्यक्तिगत सर्भेयरहरु र अन्य पेशामा रहेका पार्ट टाइम सर्भेयरहरु बढी रहेकामा सो घट्दै गइ हालका बर्षहरुमा बिमा सर्भे आफुले छनोट गरेको करियरको रुपमा लिएका व्यक्तिगत सर्भेयरहरु र आफ्नो ब्रान्ड स्थापित गरि रहेका सँस्थागत सर्भेयरहरु बढ्दै गइ रहेकाछन | यस वृद्धिलाइ दिगो र व्यवस्थित रुपबाट आगाडी बढाउन समितिबाट बिभिन्न प्रकारका पहलहरु हुन आवश्यक छ | हुनेवाला सर्भेयरहरु लाइ बीमा सर्भे क्षेत्रले नै दीक्षित गराउन लगाउनु समेत एउटा यथोचित कदम हुन सक्थ्यो | तर नया बीमा सर्भेयर उत्पादनमा बीमा सर्भे क्षेत्रलाई नै उपेक्षा गरेको देखियो |

हुनेवाला सर्भेयरहरुलाई बीमा कम्पनीका शाखाहरुमा इन्टर्नसिप गराउने निर्णयले दिएका संदेशहरु

सर्भेयरको संख्यात्मक वृद्धि संगै गुणात्मक वृद्धिका लागि परीक्षामा आधारित लाइसेन्स जारि, लाइसेन्स नविकरण र सर्भेयर बर्ग वृद्धि आदि कार्यहरु हुनु पर्ने बहस जारी  नै छ | यस अवधारणामा बीमा समिति सहमत भएमा विभिन्न परीक्षा संचालन तत्कालै सहजै सुरु हुन सक्छन | हुनेवाला सर्भेयरलाइ १५ दिने इन्टर्नसिप समेत सानो तर सर्भेयरको गुणात्मक वृद्धिका लागि सकारात्मक कदम नै हो | डाक्टरको ६ महिनाको इन्टर्नसिप सिनियर डाक्टरहरु काम गर्ने अस्पतालमा हुन्छ – जिल्ला जनस्वास्थ कार्यालयमा हुदैन, डिजाइन इन्जिनियरको इन्टर्नसिप डिजाइन कन्सल्टेन्टको अफिसमा हुन्छ – कन्सल्टेन्टलाई काम दिने कर्पोरेट हाउसमा हुदैन, सिए को पढाइ रुपी इन्टर्नसिप सिए फर्ममा हुन्छ | यसरी नै निर्जीवन बीमा सम्बन्धी  न्युनतम सामान्य ज्ञान भएकाले सोझै अनुमान लगाउछ कि – हुनेवाला सर्भेयरको इन्टर्नसिप सिनियर सर्भेयर कार्यरत कार्यस्थलमा हुनु पर्ने हो | त्यस पछी हुनेवाला सर्भेयरले सिके नसिकेको परीक्षा हुनु पर्ने हो | उक्त अनुमान बिपरित हुनेवाला सर्भेयरलाइ बीमा कम्पनीका शाखाहरुमा इन्टर्नसिप गर्ने आदेश जारी भएको छ | यस आदेशले निर्जीवन बीमा क्षेत्रमा तत्कालिन र दिर्घकालिन रुपमा विभिन्न नकारात्मक असर हुने देखिन्छ, जस्तै |

  • प्रिमियम संकलनका लागि शाखा कार्यालयहरुमा बसेका चार छ जना कर्मचारिहरुबाट हुनेवाला सर्भेयरले आफ्नो काम सम्बन्धी  थप केहि सिक्ने अवसर पाउने छैनन | सर्भे काम सम्बन्धि आफ्ना जिज्ञासाको जवाफ पनि पाउने छैनन | सिक्ने अवस्था नै नभए पछी १५ दिन पछी एक थान पत्र बनाउन शाखामा अनुरोध गर्नेछन – औपचारिकताका लागि |
  • यस निर्णयले यो पनि संदेश दियो कि – बिमा समितिका लागि निर्जीवन बीमा सर्भे क्षेत्र कुनै अलग विधा नै होइन, त्यसकारण हुनेवाला सर्भेयरले सिनियर सर्भेयरहरुसंग सिक्न पर्ने केहि पनि विषयवस्तु नै हुदैन | निर्जीवन बीमा सर्भे क्षेत्रमा सिक्ने सिकाउने सुधार गर्ने कुनै एजेन्डा नै छैनन |
  • विधाको रुपमा स्थापित नै नभएकोले नेपालमा निर्जीवन बीमा सर्भे क्षेत्रमा सिनियर सर्भेयर र कर्पोरेट सर्भेयर छदै छैनन वा भए पनि उनीहरु निर्जीवन बीमा सर्भे क्षेत्रमा भूमिकाविहिन छन वा भूमिकाविहिन हुनु पर्छ |
  • अरबौ प्रिमियम संकलन गर्ने भएकोले निर्जीवन बीमा कम्पनीहरु नै निर्जीवन बीमा क्षेत्रका सर्वेसर्वा हुन | त्यसकारण निर्जीवन बीमा क्षेत्रको प्रत्यक नयाँ  क्रियाकलापमा उनीहरुको मात्र अग्रणी भूमिका हुनु पर्छ | सोहि अनुरुप बीमा सर्भेयरहरुको तालिममा समेत बीमा सर्भेयर एसोसियसन भन्दा बीमक एसोसियसनको अग्रणी भूमिका अनुरुप बीमकका शाखामा इन्टर्नसिपको निर्णय गरियो |
  • सर्भेयर बीमा कम्पनीका कर्मचारी सरह भएकाले सर्भेयर हुनु अघि र सर्भेयर भए पछी बीमा कम्पनीका शाखाहरुको खटनपटनमा काम गर्नु पर्छ |

उल्लेखित सबै सन्देशले जनमानसमा रहेको यो बिश्वासलाइ बल पुग्नेछ कि – बीमा सर्भेयरको क्षति मुल्यांकन उसलाई कार्यादेश गर्ने बीमा कम्पनीको निर्देशन सल्लाह र सम्मतिमा हुन्छ | के यही बिश्वास  लिएका बीमितको संख्यामा बढोत्तरी भएमा निर्जिवन बीमा क्षेत्रको बिकास र विस्तार होला ? लौ न सम्बन्धित सरोकारवालाहरुले चिन्तन मनन गरि आवश्यक कदम चालौ |

(लेखक बुढा नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन – निसा का सदस्य हुन)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार