फोर्सफूल बीमा गराएरै ल्याप्स रेसियो बढेको होइन, सूर्या लाइफका सिइओ पवन खड्कासँगको अन्तर्वार्ता

जागिरका हिसावले बैंक तथा वित्तीय संस्थाको तुलनामा बीमा क्षेत्रलाई खासै रुचाइदैन । तर पछिल्लो समय बैंककै उच्च तहका कर्मचारीको आकर्षण बीमा क्षेत्रमा देखिन थालेको छ । नेपालमा बीमा क्षेत्र फराकिलो हुँदै गर्दा चार्टर्ड एकाउण्टेन्टदेखि लिएर विदेशमा पढेर आएकाहरुको समेत बीमा क्षेत्र रोजाइमा पर्न थालेको छ । यसै सन्दर्भमा अन्य क्षेत्रमा लामो अनुभव हासिल गरेर पुनः बीमा क्षेत्रमै फर्किएका जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छो सिइओ पवन कुमार खड्कालाई इन्स्योरेन्स खवरका अरुण सापकोटाले सोधे, बीमा बाहेक हाइड्रोपावर, सिमेन्ट, अध्यापन लगायतका क्षेत्रमा काम गर्नु भयो । नेपाल लाइफ छाडेर विचमा एक वर्ष विशाल सिमेन्टमा काम गर्नु भयो । अन्य क्षेत्र र बीमामा काम गर्दा के के फरक पाउनु भयो ?

विशेषगरी बीमा क्षेत्रमा मेरो पहिलादेखिनै लगाव थियो । वित्तीय क्षेत्रमा बीमा क्षेत्रको धेरै महत्व रहेको छ । बीमा र अन्य क्षेत्रलाई तुलना गरेर हेर्दा यो क्षेत्र गाहकहरुसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । ग्राहकहरु तर्फ पनि दुई वटा पाटा रहेका हुन्छन् । एउटा एजेन्सी फोर्स, जुन हाम्रो च्यानल पनि हो जसलाई ग्राहक पनि मान्न सक्छौ र अर्को बीमित । दुबै पक्षसँग सम्बन्ध व्यवस्थापन गर्नु पर्ने हुन्छ । तर अन्य पेशामा विटुवि (विजनेस टु विजनेस) हुन्छ । बीमा क्षेत्रमा भने ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो धेरै संवेदनशिल पनि हुने भएकाले व्यवस्थापन गर्न चूनौतिपुर्ण छ । ‘विटुवि’ हुने वित्तीकै प्रक्रियागत र करारका कुराले गर्दा ग्राहकसँगको रिलेसनले धेरै हदसम्म काम गर्न सकिन्छ ।

अन्य क्षेत्रमा काम गरेको हिसावले यो क्षेत्र ‘फाइनान्सियल रिसोर्स कलेक्सन सेन्टर’ हो । सबैभन्दा तल्लो तहदेखि नै संकलन गर्न सक्छौ । मैले हाइड्रोपावर तथा म्यानुफ्याक्चरिङ क्षेत्रमा काम गरेको छु । त्यहाँ धेरै हदसम्म फण्डको सोर्सिङ र वर्किङ क्यापिटल म्यानेजमेन्टमा केन्द्रित हुनु पर्ने हुन्छ । बीमामा फण्ड सोर्सिङको कुनै इस्यु हुँदैन तर जुन लेभलबाट फण्ड सोर्सिङ गर्छौ त्यो लेभलबाट सोर्सिङ गर्दा समग्र अर्थतन्त्रमा टेवा पुर्याउछ । सानो सानो पूँजी संकलन गरेर अर्थतन्त्रको मुलधारमा ल्याएर विभिन्न क्षेत्रमा प्रयोग गर्छौ । यि दुबै पक्षलाई हेर्दा अर्थतन्त्रको एउटा चक्रमा मैले काम गर्न पाए जस्तो लाग्छ ।

आफ्नो ठाउँमा सजिलो गाह्रो भन्ने कुरा क्षेत्र विशेष छँदैछ । रमाइलो कुरा के हो भने एउटा ‘एप्लिकेसन अफ फण्ड’ र अर्को ‘सोर्स अफ फण्ड’को दुबै पाटोमा काम गर्ने मौका पाए । प्रत्यक्ष रुपमा ग्राहकसँग सम्बन्ध बनाएर स्रोत तयार पार्ने र व्यवसायिक सम्बन्धका आधारमा स्रोतको प्रयोग गर्ने दुबै काममा सरिक भए ।

नेपालको सन्दर्भमा बैंकमा जागिर खाए पछि समाजमा छुट्टै प्रेस्टिज हुन्छ । तर बीमा क्षेत्रमा त्यति धेरैको आकर्षण देखिदैन । प्रायको रोजाइमा नपर्ने बीमा क्षेत्रलाई नै तपाईले कसरी रोज्न पुग्नु भयो ?

अवसरका हिसावले तुलना गर्नु स्वभाविक हो । तर मेरो धारणा जहाँ गए पनि काम गर्ने हो । काम गर्दाखेरि निष्पक्ष रुपमा आफ्नो भुमिका निभाउन सक्छौ कि सक्दैनौ, त्यसमा आफ्नो क्षमता छ कि छैन भनेर आफुलाई नै नियाल्नु पर्ने हुन्छ ।

मेरो आफ्नो अनुभवलाई हेर्यो भने शिक्षा, इन्स्योरेन्स, हाइड्रो, म्यानुफ्याक्चरिङ मध्ये शिक्षा पछि सबैभन्दा धेरै इन्स्योरेन्समै काम गरेको छु । नेपाल लाइफ इन्स्योरेन्समै ६ वर्ष विताए । यसको एउटा चाम जुन छ त्यसले पनि यो क्षेत्रमा आउन मलाई आकर्षित गरेको छ । त्यो भनेको ‘यु विल वि क्रियटिभ सेल्फ इम्प्लोइड पिपुल इन द फर्म अफ एजेन्सी ।’ हामी यस्तो देशमा छौ १८/२० हजार रुपैयाँको लागि बैदेशिक रोजगारीमा जानु पर्ने र वाक्सामा फर्कनु पर्ने बाध्यता छ । तै पनि हाम्रो अर्थतन्त्रको मेरुदण्डको रुपमा वैदेशिक रोजगारीमा गरेका नेपालीले पठाएको रेमिट्यान्स बन्न पुगेको । यसैबाट हाम्रो अर्थतन्त्र चलिरहेको छ ।

तर बीमा यस्तो क्षेत्र हो जसले स्वः रोजगार सिर्जना गरेको छ । अभिकर्ता पेसा आफैमा प्रतिस्पर्धी र गाह्रो पेसा हो । घर घरमा गएर बीमाको वारेमा बुझाउने र बीमा गराउन कन्भिन्स गराउने क्रममा केहिलेकाही फोर्सली सेलिङ गराउने पर्ने बाध्यता समेत छ । उहाँहरुले ‘ग्रासरुट लेभल’देखि फण्ड ल्याएर आफ्नो जीविकोपार्जन गरिरहनु भएको छ ।

त्यस्तै बीमितको लागि हामीले कम्पनी खोलेका छौ । बीमा कम्पनीहरुले उहाँहरुको परिवारलाई आर्थिक सुरक्षण दिनका लागि योगदान पुर्याउन सक्छौ । त्यो बीमामा मात्रै सम्भव छ । थोरै थोरै जम्मा गरेर पनि ठुलो ठुलो जोखिम बहन गर्ने, ठुला सपना परिपूर्ती गर्न सक्ने एउटा माध्यम बनेको छ । प्रत्यक्ष रुपमा आर्थिक हिसावले आकर्षक नदेखिएता पनि यसका विशेषताले मलाई यस क्षेत्रप्रति धेरै नै आकर्षित गरेको छ ।

हामीले जुनसुकै क्षेत्रमा मिहिनेत गर्नु नै पर्छ । यदि बीमा क्षेत्रमा मिहिनेत गर्ने हो भने करिअर ग्रोथ एकदमै छिटो हुन्छ । अन्य क्षेत्रबाट एजेन्सी म्यानेजर वा कर्मचारीको रुपमा जोडिनु भएका कतिपय साथीहरुले यो फिडलाई राम्ररी बुझेपछि आफ्नो क्षमता र दक्षतालाई पुर्ण रुपमा प्रयोग गरेर राम्रो करिअर ग्रोथ गरिरहनु भएको छ ।

अवसरलाई राम्रोसँग हेर्ने र आफ्नो यस क्षेत्रमा काम गर्न सक्ने क्षमता र निभाउन सक्ने गुण राखिन्छ भने मलाइ लाग्छ कुनै सेक्टर स्पेसिफिक हुनै पर्छ भन्ने छैन । यि सबै चामको कारणले पनि म यो पदमा आइपुगेको हूँ । मलाइ जहाँसम्म लाग्छ भोलिका दिनमा मैले यो पदमा रहेर त्यसलाई प्रमाणित गर्नु पर्नेछ ।

सूर्यालाइफको स्थापना भएको १३ वर्ष भइकेको छ । सूर्या लाइफ भन्दा धेरै पछाडि आएका कम्पनीहरुले टपेको हो कि जस्तो देखिन्छ । समग्रमा सूर्या लाइफको ४.८ प्रतिशत हाराहारी बजार हिस्सा देखिन्छ । कम्पनीको बजार हिस्सा बढाउन कस्तो योजना बनाउनु भएको छ ?

गत वर्ष सूर्या लाइफको बजार हिस्सा ३.८ प्रतिशत थियो । यस अवधिमा हामीले ४५/५० प्रतिशतले बजार विस्तार गरेका छौ । यस हिसावले हामीले बजार हिस्सा ४.८ प्रतिशत पुर्याएका छौ । हामीले एउटा मोमेन्टम गेन गरेका छौ । विगतको ७/८ महिनामा हामीले गरेको कामले गर्दा यो उपलब्धी हासिल गरेका हौ । यस अवधिमा प्रोडक्ट, इन्स्टिच्युसन च्यानलमा काम गर्यौ । त्यसैले गर्दा हामीलाई के विस्वास छ भने हामी सँग भएको ह्युमन रिसोर्स र पुर्वाधारको उपलब्धतालाई अधिकतम प्रयोग गरेर राम्रो सेवा प्रवाह गरिरहेका छौ । बीमितलाई दिनु पर्ने, बीमा योजनाले तोकेका दाबी भुक्तानी, पोलिसी लोन लगायतका कुरामा सहजिकरण गर्ने संयन्त्रहरु बनाएका छौ । भएका ग्राहकहरुबाटै क्रस सेलिङ उहाँहरुको रिटेन्सन लगायतका पाटोलाई विशेष ध्यान दिएका छौ । अन्य रणनीति पनि अवलम्बन गरिरहेका छौ । बीमा योजनामा इनोभेसन र वितरण च्यानललाई सहि हिसावले प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राखेका छौ ।  यस हिसावले हामी अगाडि बढ्दै गर्दा अहिलेको हाम्रो बजार हिस्सा निश्चयनै बढ्नेछ । अहिलेको हाम्रो ४.८ प्रतिशतको बजार हिस्सालाई दोहोरो अंकमा पुर्याउने हिसावले अगाडि बढेका छौ ।

बजारमा १९ वटा कम्पनी छन् । सबै कम्पनीले आ-आफ्नो हिसावले काम गरिरहेका  छन् । यसले हामीलाई चुनौती सँग सँगै चाखलाग्दो कुरा काम गर्ने अवसर पनि प्रदान गरिरहेको छ । जस्तो कि हाम्रा बीमा योजना, एजेन्सीको सञ्जाल सहित सेवा प्रवाह मै इनोभेटिभ हिसावले काम गर्न सक्छौ । यसले समग्रमै जीवन बीमा क्षेत्रको बृद्धि हुन्छ । यसले गर्दा अवको काम सेवा र इनोभेसनमै केन्द्रित हुनु पर्ने हुन्छ । यसले हाम्रो बजार विस्तार गर्नका लागि सकारात्मक भुमिका खेल्ने नै छ ।

सूर्या लाइफ भन्दा पछाडि आएका कम्पनीहरुले सुरुवातदेखिनै आफ्नो प्रिजेन्सका लागि शाखा सञ्जाल र एजेन्सीको नेटवर्कमा आक्रामक देखिए । तर सूर्या लाइफको शाखा सञ्जाल अन्य कम्पनीको तुलनामा कम जस्तो देखिन्छ । यि पक्षलाई कसरी अगाडि बढाउनु हुन्छ ?

यसमा दुई वटा कुरा आउछन् । अहिले सञ्चालनमा रहेका शाखा सञ्जाल एक सय हाराहारीमा छ । हामी ७० वटा भन्दा धेरै जिल्लामा शाखा सञ्जाल पुर्याउन सफल भएका छौ । तपाईले भन्नु भएको जस्तो नयाँ आएका कम्पनीहरुको शाखा सञ्जाल हाम्रो भन्दा बढि छ । उनिहरुले धेरै नै शाखा सञ्जाल विस्तार गरिसके पछि हामीले त्यहि हिसावले किन बढाइहालेनौ भन्ने पाटीमा कम्पनीको आफ्नो विचार छ । विशेषगरी शाखाको सख्या बढ्नु भनेको त्याहाँ कम्पनीको खर्च बढ्नु हो । बीमितबाट आउने पैसालाई सहि हिसावले प्रयोग गर्नु पर्छ । खर्चमा नियन्त्रण गरेर सक्दो धेरै पोलिसीहोल्डरलाई प्रतिफल दिनु पर्छ ।

यस हिसावले पनि शाखा विस्तारका कुरामा संवेदनशिल नै हेर्नु पर्ने हुन्छ । शाखा सञ्जाललाई नै प्राथमिकता दिनु पर्छ भन्ने सोचलाई मात्रै नहेरी सबै ठाँउमा पहुँच पुगोस भनेर वितरणको सञ्जाललाई थप बलियो बनाउने रणनीति लिएका छौ । तै पनि कतै कतै शाखा आवस्यक पनि छ । त्यसका लागि हामीले केहि प्रकृया अगाडि बढाएका छौ । तर खर्चको सम्पुर्ण स्रोत बीमितबाट संकलन गरिएको प्रिमियम नै हो ।

पोलिसीहोल्डरको पहुँचका लागि हामीले योजना बनाएका छौ । साथ साथै उनिहरुले पाउने सेवा सुविधामा सहजताका लागि हामी सचेत छौ । त्यसको मतलब आक्रामक रुपमा शाखा सञ्जाल विस्तार नै समाधान हो भन्ने पक्षमा छैनौ ।

बीमितलाई सेवा सुविधा दिने हिसावले शाखाको ठाउँमा उपशाखा खोल्न सकिएला । सँग – सँगै सेवा प्रवाह गर्ने अन्य कुनै माध्यम रहन सक्छ ?

अहिले डिजिटलाइजको युग छ । हामीले रिन्युअल प्रिमियम कनेक्ट आइपिएस, इसेवा, खल्ति लगायतका डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई प्रयोग गरेर संकलन गरिरहेका छौ । अर्को हाम्रो आफ्नै एप मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएका छौ । र अन्य च्यानलहरु पनि विकास गर्ने सोचमा छौ । त्यस हिसावले हाम्रो उपस्थिति जुनसुकै ठाउँमा रहन्छ । कतिपय अवस्थामा बीमितहरुलाई केन्द्रिय स्तरबाटै सेवा प्रवाह गरिरहेका छौ । फलोअपको सेवा दिएका छौ ।

बजारमा बीमा कम्पनीहरु पनि धेरै छन् साथ साथै अभिकर्ताको संख्या पनि धेरै छ । सबैलाई व्यवसायको दवाव छ । जसले गर्दा राम्रो सँग बीमा भएको पाइदैन । बीमा समितिकै अनुसार पनि सहि नियतका साथ बीमा नहुँदा सरेण्डर रेसियो बढिरहेको छ । फर्सफुल्ली बीमा हुने भएकाले पनि यस्तो अनुपात बढिरहेको आकलन गरिरहदा यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?

बीमामा जुन हिसावले ल्याप्स रेसियो बढिरहेको छ त्यसमा फोर्स सेलिङ एउटा कारण हो कि भन्ने विश्लेषण रहेको पाइन्छ । त्यसमा मेरो फरक धारणा हुन सक्छ । कम्पनी र बीमितको विचमा अभिकर्ता साथिहरु हुनुहुन्छ । यहाँ समन्वयको एकदमै जरुरी छ । कतिपय अवस्थामा अभिकर्ता तथा बीमिलाई नै बीमाको त्यति धेरै चेतना नभएको कारणले पनि भएको हो कि जस्तो लाग्छ । एक पटक बीमा गरिसके पछि पुनः रिन्युअल प्रिमियम तिर्नु पर्छ भन्ने कतिपयलाई जानकारी नै छैन ।

कतिपय अभिकर्ता साथिहरु केहि बीमा पोलिसी बिक्री गराएर विस्थापित हुनु भएका धेरै घटना छन् । उहाँहरु विस्थापित हुने वित्तीकै बीमित र कम्पनी विचमा दुरी बढ्छ ।

पोलिसी बिक्री गर्ने पेशा आफैमा चुनौतीपूर्ण पेशा हो । यो काम गरेर आफु टिक्न नसक्ने भएपछि कतिपय साथिहरु विस्थापित हुनु भएको छ । त्यो पाटोलाई पनि हामीले हेर्नु पर्छ । त्यसैले उहाँहरुलाई यस क्षेत्रमा कसरी टिकाउन सकिन्छ भनेर हेर्नु पर्नेछ ।

अन्य देशमा पहिलो बीमा शुल्कको बृद्धिदर नकारात्मक हुन्छ । तर हाम्रो मात्रै यस्तो देश हो जहाँ पहिलो बीमा शुल्क धेरै हुन्छ तर नविकरण बीमा शुल्क कम हुन्छ । हामीले भोलिका दिनमा पहिलो भन्दा पनि नविकरण बीमा शुल्कलाई प्राथमिकता दिदै जानु पर्छ । पहिलो बीमा शुल्क धेरै खर्चिलो हुने भएकाले नविकरणमा ध्यान दिनै पर्छ । तर अन्य कम्पनीको जस्तो हाम्रो त्यस्तो अवस्था भने छैन ।

हाम्रोमा ठ्याक्कै फोर्सफूल सेलकै कारणले ल्याप्सेस रेसियो बढिरहेको भन्ने अवस्था होइन । मैले कहाँ ग्याप देख्छु भने, बीमित र कम्पनीहरु प्रत्यक्ष रुपमा सम्पर्कमा आएका छैनन् । भएका अभिकर्ताहरु विस्तारै विस्थापित भैइरहेका छन् । त्यसले गर्दा त्यो दुरी बढिरहेको छ । विगतका दिनमा बीमा कम्पनीहरु सँग सम्पुर्ण रेकर्डहरु राख्ने चलन थिएन । सम्पर्क गर्ने मोबाइल लागयतका अन्य साधन थिएन । यस्तो ग्यापले गर्दा बीमितले तिर्नु पर्ने बीमा शुल्कको विषयमा उनिहरुलाई जानकारी पनि भएन । कम्पनी सँग पनि बीमितलाई सम्पर्क गर्ने माध्यम पनि थिएन । इन्फरमेसन ग्याप या कन्ट्याक्टको ग्याप या कोअर्डिनेसनको ग्यापले सिर्जना भएको हो । तर फोर्स सेलिङको कारणले यो शिर्जना भएको भन्नेमा म सहमत छैन ।

अरुकोमा मलाई थाहा भएन हाम्रोमा हेर्यो भने ३ देखि १० लाख रुपैयाँ बीमाङ्क बरारबरको पोलिसी बिक्री भएको छ । यसको मतलब फोर्स सेलिङ भएको छैन । बीमितले आफुले बहन गर्न सक्ने बीमा मात्रै खरिद गर्नु भएको छ । जो जसको फोन नम्बर हामी सँग छ उहाँहरुलाई हामी आफै फोन गर्छौ । जो जो अभिकर्ताहरु सक्रिय हुनुहुन्छ उहाँहरुले जानकारी गराइराख्नु भएको छ । विचमा विस्थापित हुनु भएका अभिकर्ता साथीहरुका कारण बीमित र कम्पनी विचमा ग्याप बढ्यो । त्यो कारणले केहि हदसम्म ल्याप्स बढेको जस्तो लाग्छ ।

यसमा कम्पनीको के भुमिका रहन सक्छ ?

हामीले विभिन्न प्ल्याटफर्म क्रियट गरेका छौ । जस्तो सोसल मिडिया मार्फत पनि जानकारी गराइरहेका छौ । बीमा समितले पनि आफुले नियमन गरेका कम्पनीहरु मार्फत जनचेतनाका विभिन्न कार्यक्रम अगाडि बढाइरहेको छ । ल्याप्सेस रेसियोलाई एउटा सीमाभित्र राख्नु पर्छ भन्नुको मतलब बीमितहरुलाई पोलिसी नवीकरण गर्दा लाग्ने हर्जनामा छुट दिने नीति लिइरहेका छौ ।

पोलिसी नविकरण गर्दा लाग्ने हर्जनामा छुट दिएर वा व्याजमा छुट दिएर प्रोत्साहन गरिरहेका छौ । डिजिटल प्ल्याटफर्मले पनि धेरै हदसम्म सहयोग गरिरहेको छ । डिजिटल माध्यमबाट भुक्तानी गर्न मिल्ने भौतिक रुपमा कार्यालयमा धाउनु नपर्ने अभ्यासको सुरु भए सँगै रिन्युअल प्रिमियम संकलन धेरै राम्रो भइरहेको छ । त्यसैले गर्दा ल्याप्सेस रेसियो घटाउँछ । अर्को कुरा ल्याप्सेस रेसियो बढाउने कारणहरु पत्ता लगाउन जरुरी छ । मलाई लागेको एउटा कारण बीमित र कम्पनी विचमा सम्पर्क हुन नसकेर हो । त्यसैले यसको कारण फोर्स सेलिङ नै भन्न मिल्दैन । त्यसमा फोर्स सेलिङको हिस्सा ५ प्रतिशत होला तर त्यो ५ प्रतिशतलाई हेरेर पुरै कारण नै यहि हो भन्न मिल्दैन ।

बीमा समितिले पछिल्लो समय सम्पुर्ण कम्पनीहरुलाई ५ वर्ष भित्रमा सतप्रतिशत फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्न निर्देशन दिएको छ । यसै क्रममा उक्त ५ वर्षमा के कसरी प्रोभिजनिङ गर्ने हो सोको योजना पेश गर्न भनिएको छ । यसका लागि तपाईहरुले के योजना बनाउनु भएको छ ?

बीमा समितिले फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्ने र  केहि समय अवधि दिएर १०० प्रतिशत सुरक्षित हुने गरि अहिले तोकेको बोनस भविष्यमा पनि त्यति नै हुनु पर्छ भन्ने ध्यय रहेको छ । यसले कम्पनीहरुमा स्थिरता ल्याउछ । बोनसदरमा धेरै नै उतारचढाव आउने कतिपय अवस्थामा सुरुमा धेरै हुने पछि आउदा धेरै नै कम हुने त्यो फ्लक्चुएसनका कारण हुने अस्थिरतलाई नियन्त्रण गर्दे बीमितको कन्फिडेन्स बढाउनका लागि यो जरुरी पनि थियो ।

सुरुका दिनमा कम्पनीहरुले नबुझ्दाका अवस्थामा यसले धेरै नै नकारात्मक प्रभाव पार्छ भन्ने थियो । सुरुमा ग्रोथ कम हुन्छ । दिर्घकालिन रुपमा हेर्ने हो भने बीमितहरु एउटा हिसावले सुरक्षित रहन्छन् । यसले जोखिम रहित लगानीको पोर्टफेलियो क्रियट पनि गरिदिन्छ ।

यसका लागि सूर्या लाइफले तयारी गरिसेकको छ । यो प्रोभिजनिङका कारण हाम्रो कम्पनीको कुनै पनि बोनसदरमा गिरावट आउनेवाला छैन । हामीले यसलाई सहजै व्यवस्थापन गर्छौ । यसमा हामीले अभ्यास गरिसकेका छौ । यसलाई हामीले धेरै नै प्राथमिकता दिएर काम गरिरहेका छौ ।

यसले दुई वटा कुरालाई प्रोत्साहन गर्छ । अनावश्यक खर्चलाई रोक्न प्रोत्साहन गर्छ । जसको अनावश्यक खर्च भैरहेको थियो त्यसलाई कम गर्न भुमिका खेल्छ । अर्को कुरा इल्ड मेन्टेन गर्नु पर्छ भन्ने छ । यसमा सकारात्मक पक्ष अर्को पनि छ । जसलाई कार्यान्वयन गर्दा आत्तीहाल्ने पर्ने अवस्था किन छैन भने बीमा समितिले दायित्व मूल्याङ्कनका लागि डिस्काउन्ट फ्याक्टर या इन्ट्रेष्ट फ्याक्टर ६ प्रतिशत छ । हामीले अहिले पनि ९.५ प्रतिशत इल्डमा व्यवस्थापन गरिरहेका छौ । यसमा जुन किसिमको कुसन छ । यसले पनि प्रोभिजनिङको पक्षलाई पनि केहि हदसम्म मद्दत गर्छ । यसबाट हामी केहि फण्ड क्रियट गर्न सक्नेछौ । र यसले केहि रिलिफ क्रियट गर्नेछ ।

बीमितबाट आर्जन भएको स्रोतलाई राम्रो सँग प्रयोग गरेर राम्रो प्रतिफल पनि दिनु पर्छ । बीमितहरुको अपेक्षालाई स्थिरता ल्याउनका लागि बीमा समितिको यो कदमले मद्दत गर्नेछ ।

कहिले काँही कम्पनीहरुले अस्वस्थ रुपमा बोनसको पक्षलाई नहेरी बीमितलाई आकर्षित गरेर पोलिसी ल्याउने ट्रेण्ड छ । त्यसलाई यस्तो व्यवस्थाले केहि हदसम्म नियन्त्रण गर्न सक्ला ?

कसले कुन पोलिसी ल्याएको छ भन्ने कुरा सम्बन्धित कम्पनीको आफ्नै किसिमको रणनीति होलान् । यसमा कोहि इनोभेटिभ तरिकाले आउछ भने त्यसलाई माल प्राक्टिस भन्न सकिदैन । इनोभेसन छ, पोलिसीहोल्डरलाई राम्रो प्रतिफल दिन सक्छ, कम्पनी आफै वित्तीय हिसावले राम्रो छ र शेयरहोल्डरको आंकाक्षालाई पुरा गर्न सक्छ भने त्यसलाई वेलकम पनि गर्नु पर्छ ।

कुनै पनि कुरा, जे छ त्यसैमा चल्नु पर्छ भन्ने भन्दा पनि कसैले इनोभेटिभ हिसावले ल्याएको छ भने त्यो आफैमा नराम्रो होइन । तर अल्पकालिन रुपमा राम्रो प्रतिफल देखाउने ‘लो बलिङ’ गर्ने हिसावले आउछन् भने यो मात्रै होइन अन्य कुराले पनि त्यसलाई असर पार्छ । सोल्भेन्सी रेसियो बीमा समितिले तोकेको छ त्यसमा बसेर र फ्युचर बोनसमा पनि बसेर जाने हो भने माल प्राक्टिसहरु स्वत घटेर जान्छ ।

पछिल्लो समय बीमा समितिको काम कारबाहीलाई हेर्यो भने अलिकति कडा हुन खोजेको हो कि जस्तो देखिन्छ । समय समयमा निर्देशिका निर्देशन जारी गर्ने अवस्था अनुसार नियमहरु लागु गर्ने गरेको पाइन्छ । हिजोका दिनमा बीमा कम्पनी र बीमा समिति आ-आफ्नै हिसावले चलेको जस्तो देखिन्थ्यो । समितिको सक्रियताले कम्पनीहरुलाई कत्तीको साह्रो गाह्रो पर्यो ?

हाम्रो बीमा ऐनमा यि सबै व्यवस्थाहरु थियो । खालि कार्यान्वयन मात्रै हुन सकेको थिएन । यसले फेयर प्राक्टिस ल्याउछ । बैंकहरुको असार मसान्तमा क्लोजिङ गर्न सक्छन् भने बीमा कम्पनीले किन सक्दैनन् । दुबैको वित्तीय क्षेत्र एउटै हो । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले बीमा क्षेत्रमा अनुसासन बनाउछ । यस्तो अनुशासनले सबैलाई फाइदा पुग्छ । किने भने नियमनमा बसेर सेवा दिनु पर्छ । समयमा सबै काम गर्नु पर्छ । यो कसैलाई देखाउन भन्दा पनि आफ्नो वित्तीय अवस्था राम्रो हुनु पर्छ भन्ने हिसावले नियमन नहुँदाखेरि सबैले यसलाई स्वीकार गरेका छन् ।

कुनै पनि माल प्राक्टिसलाई निरन्तरता दिनु पर्छ भनेर कसैले पनि वकालत पनि गर्दैन होला । यसमा हामी सबैले नियामकलाई सहयोग गर्नु पर्छ । बीमा समितिको यस्तो कुराले हिजोका दिनलाई कसैले पनि फर्केर हेर्नु पर्दैन ।

भोलिका दिनमा लक्ष्य लिएर हिड्न मद्दत गर्छ । यस सँगै बीमा कम्पनीहरुको समयमै बीमाङ्किय मूल्याङ्कन तथा साधारणसभा हुन थाल्यो भने बीमा क्षेत्रमा असल अभ्यासको सुरुवात हुन्छ । समितिको यस्ता कार्य प्रति हृदयदेखिनै आभारी छु । नियामकले नियमनको जुन मापदण्डहरु छन् त्यसलाई राम्ररी कार्यान्वयन गराएर बीमा क्षेत्रलाई नै एउटा लेभलमा अगाडी बढाइरहेको छ त्यसैले समितिका निर्देशनहरुलाई हामीले पालना गर्नु पर्छ ।

सुरुवातमा कार्यान्वयन गर्न गाह्रो पर्ला तर मलाई जहाँसम्म लाग्छ हामी सबै बीमामा काम गर्ने साथिहरु र बीमा बुझेका साथिहरुले सहज र सकारात्मक रुपमा लिनु भएको छ हामीले पनि मनन गरेर त्यहि हिसावले अगाडि बढेका छौ ।

बीमा कम्पनीहरुले अहिले पनि बीमितसँग संकलन गरेको झण्डै ८० प्रतिशत भन्दा धेरै रकम बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा मुद्दती निक्षेपमा जम्मा गरेर राखेको पाउँछौ । बैंकमा मात्रै केन्द्रित हुँदा बैंकको व्याजदर अनुसार हाम्रो मुनाफा तलमाथि पर्ने भयो । त्यसैले गर्दा राम्रो मुनाफा दिने लगानीका अन्य क्षेत्रमा जान सक्दैनौ ?

सिद्धान्ततः बीमा कम्पनीहरु किन स्थापना भयो भन्दा सबैभन्दा पहिला बीमितको हितका लागि काम गर्ने संस्था हो । बीमा कम्पनीहरुले के कुरा भुल्नु भएन,  हाम्रो प्राथमिक कार्य भनेको रक्षावरण हो । बीमितको परिवारलाई आर्थिक सुरक्षण दिनु हो ।

त्यस बापतमा हामीले बीमा शुल्क लिन्छौ । बीमितसँग लिएको रकमलाई लगानी गरेर बीमितलाई शेयर गर्छौ । त्यसबाट आएको आर्जनबाट केहि बीमितलाई दिन्छौ र उहाँहरुलाई दिएर बाँकी रहेको केहि रकम शेयरधनीहरुलाई वितरण गर्छौ ।

यसमा हामीले के ध्यान दिनु पर्यो भन्दा प्रतिफल बढि दिने भन्दैमा जोखिमलाई कम गर्ने पाटोलाई बिर्सनु भएन । बीमा ऐन अन्तर्गत बीमा समितिले लगानीका लागि दिएको निर्देशिन बसेर लगानी गर्दा त्यसबाट परिवर्तन हुनु पर्ने अवस्था छैन । समितिले तोकिदिएका क्षेत्रमा लगानी गर्दा जोखिम छैन ।

सरकारी बण्डमा लगानी गर्न धेरै प्रतिफल छैन तर त्यसमा जोखिम पनि छैन । हाम्रो जोखिम रहित लगानी बैंकहरुको मुद्दती निक्षेप हो । हाम्रो पहिलो प्राथमिकता जोखिम रहित लगानीका क्षेत्रमा लगानी गर्ने हो

यस बाहेक अन्य क्षेत्रमा लगानी गर्ने कि नगर्ने भन्ने पाटोमा हेर्ने हो भने अन्य लगानीका क्षेत्र पनि छन् । त्यो काम हामीले समुहिक रुपमा गर्न सक्छौ । बीमा कम्पनीहरु मिलेर सहायक कम्पनी खोल्न सक्छन् । सोहि सहायक कम्पनी मार्फत विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ । उक्त कम्पनी मार्फत हाइड्रोपावर पर्यटन क्षेत्रमा लगानी गर्न सकिन्छ ।

यस बाहेक अन्य पनि क्षेत्र हुन सक्छन् जहाँ सामुहिक रुपमा लगानी गर्न मिल्छ । जसले गर्दा जोखिम राम्रो सँग बाडियोस । हामी आफै जोखिम बोकेर बस्ने कम्पनीहरुले थप अन्य जोखिम बहन गर्न सक्ने भन्ने हुँदैन । त्यसमा पनि यो पोलिसी होल्डरको फण्ड हो ।

उहाँहरुको पैसालाई हामीले सुरक्षा गर्ने भएकाले यसमा धेरै नै प्रतिफल दिन्छु भनेर जोखिम माथि जोखिम थप्ने कुरा हुँदैन । लगानीका अन्य आधारहरु खोज्दै गर्दा नेपाल सरकारले विकास ऋणपत्रहरु जारी गर्न सक्छ । यस्तो अभ्यास अन्य देशमा पनि भैरहेको छ ।

यदि नेपाल सरकारले विकास आयोजना निर्माणका लागि बण्ड जारी गर्छ भने बीमा कम्पनीहरु सँग लगानीको प्रयाप्त स्रोत छ । सरकारले उक्त बण्डका लागि विदेशमा स्रोत खोज्न जानु पर्दैन । बीमा कम्पनीले पनि मजाले लगानी गर्न सक्छन् त्यसका लागि नेपाल सरकारले सुरक्षाको प्रत्याभुति दिनु पर्छ ।

बीमा समितिले दिएको प्रतिशत भित्र रहेर लगानी गर्न सक्ने अवस्थामा हामी छौ तर लगानीका लागि हाम्रो विशिष्टिकरण पनि छैन । बरु बीमा कम्पनीहरुले संयुक्त रुपमा सहायक कम्पनी स्थापना गरेर संयुक्त रुपमा लगानी भने गर्न सक्छन् । बैंक वित्तीय क्षेत्रबाहेकका क्षेत्रमा लगानी गर्दै गर्दा पुर्ण बृहत अध्ययन गरेर मात्रै छिर्नु पर्ने अवस्थाले गर्दा उनिहरुले लगानी गरिरहेका छैनन् ।

बीमा समितिको निर्देशिका अनुसार लगानी गरेको कम्पनीले तीन वर्ष भित्रमा प्राथमिक शेयर निष्काशन गरेन भने प्रोभिजनिङ गर्ने पर्ने भएकाले हौसिएर लगानी गरिहाल्ने अवस्था पनि छैन । यदि प्रोभिजनिङ गर्नु पर्ने अवस्था आयो भने त्यसले कम्पनीको समग्र वित्तीय विवरणमै असर पार्नेछ । यसमा समितिले केहि हेरिदिन पर्ने हुन सक्छ ।

अर्को हामीले संयुक्त रुपमा लगानी गर्दै जानु पर्नेछ । कुनै कम्पनीले म मात्रै लगानी गर्छु भनेर गयो भनेर त्यसले एउटा कम्पनीमा मात्रै नभएर पुरै बीमा क्षेत्रलाई नै असर पार्छ ।

कार्यकालको पूर्वार्धमा हुनुहुन्छ । आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएको छ । अवको चार वर्ष पछि सूर्या लाइफलाई कस्तो अवस्थामा देख्न पाउछौ ?

छोटो रुपमा भन्नु पर्दा मेरो कार्यकाल सफल हुनेछ मात्रै भन्न सक्छु । यदि मैले ग्राहक, शेयरधनी, अभिकर्ता र कर्मचारीलाई सन्त्रुष्ट बनाउन सके भने त्यो नै मेरो सफलता हुनेछ । त्यसकै लागि म लागि परेको छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार