आजदेखि तीन कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन वटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आएको हो ।

नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२१ रुपैयाँ, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४८१ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने हुन्छ ।

तीन वटै कम्पनीको शेयर खरीदको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार