नयाँ जीवन बीमा कम्पनी ल्याउँनु भनेको सरासर पुरानालाई कोल्याप्स गर्न खोज्नु हो: युनियन लाइफका कर्ण सँगको अन्तर्वार्ता

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्दै छ । स्थापनाकालदेखिनै आक्रामक रुपमा अगाडी बढेको युनियन लाइफले दुई/तीन वर्षमै पुराना कम्पनीलाई उछिन्न सफल भयो । एकै पटक नयाँ १० वटा कम्पनी आउदा पनि युनियन लाइफ नेपालको जीवन बीमा व्यवसायमा स्थापित हुन सफल भयो ।

तर पछिल्लो समय कोभिड १९ का कारण जीवन बीमा कम्पनीहरुको व्यवसायमा खासै ठुलो बृद्धि देखिदैन । बीमा समितिले पनि जीवन बीमा क्षेत्रमा रहेका कतिपय बिक्रितिहरुलाई नियन्त्रण तथा नियमन गर्ने क्रममा बृद्धिदरमा केहि असर पुर्याउने आकलन गरिएको छ । यसै सन्दर्भमा आधारित भई इन्स्योरेन्स खवरका अरुण सापकोटाले युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण सँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

प्राथमिक शेयर निष्काशनको तयारी कस्तो भइरहेको छ ?

राम्रो भैरहेको छ । धितोपत्र निष्काशन तथा प्रवन्धकको जिम्मेवारी प्रभु क्यापिटललाई दिएका छौ । उहाँहरु राम्रै सँग लाग्नु भएको छ । यसका लागि शाखा प्रमुख तथा अभिकर्ताहरुलाई तयारी अवस्थामा बस्नुहोस भनेका छौ ।

प्राथमिक शेयर निष्काशन गर्दै गर्दा लगानीकर्ताको पहिलो चासो कम्पनीले भोलिका दिनमा के कति प्रतिफल दिन सक्छ भन्ने नै हुन्छ । आगामी वर्षमा लगानीकर्ताले कत्तीको प्रतिफल पाउन सक्लान् ?

साधारणतया प्राथमिक शेयर निष्काशन गर्दा कम्पनीहरु प्रारम्भिक चरणमै हुन्छन् । अहिले नै कम्पनीबाट यो पाउला त्यो पाउला भन्ने सोचाइ हुँदैन । यतिवेला कम्पनीको ग्रोथ कस्तो छ, कम्पनीको व्यवस्थापन कस्तो छ, कम्पनी कुन हिसावले अगाडि बढिरहेको छ र भविष्यमा कम्पनीले के गर्न सक्छ भन्ने कुरालाई हेरेर लगानी गरिन्छ । यस हिसावले युनियन लाइफ एकदमै राम्रो छ ।

सुरुदेखिनै हामी आक्रामक रुपमा अगाडी बढिरहेका छौ । सुरुदेखिनै हाम्रो व्यवसाय राम्रो भैरहेको छ । स्वभाविक कुरा हो, कम्पनी खोल्दा सुरुमा १० वटा मात्रै शाखा खोलियो भने खर्च कम हुन्छ । संस्थापक तर्फको एक अर्ब ५० करोड रुपैयाँको व्याजबाटै राम्रो मुनाफा भएको देखिन्छ । तर त्यो होइन । व्याजबाट कम्पनी चल्ने होइन ।

त्यसका लागि आधारभुत पुर्वाधार बनाउनु पर्यो । धेरै संख्यामा शाखा कार्यालयहरु खोल्नु पर्यो ताकी ५/७ वर्ष पछि कम्पनी धेरै राम्रो गर्न सकोस । यस हिसावले नै लगानीकर्ताले कम्पनीको मुनाफा अनुमान गर्न सक्छन् । यहि हिसावले कम्पनीको मुनाफालाई पुर्वानुमान गर्ने हो भने कम्पनी धेरै राम्रो छ र यसले भविष्यमा धेरै नै राम्रो प्रतिफल दिन सक्छ ।

तपाईले भन्नु भए जस्तो कम्पनीले सुरुवाति दुई तीन वर्ष आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको थियो । तर पछिल्लो एक वर्षको व्यवसायिक बृद्धिलाई हेर्ने हो भने कम्पनीको रफ्तार कम भएको जस्तो देखिन्छ । अन्य कम्पनीले धेरै सुधार गरेर हो या कम्पनी नै सुस्ताएको ?

हैन हैन । कम्पनीको रफ्तार कम भएको छैन । रफ्तार उहि छ । अहिले बजारमा सबै कम्पनीको रफ्तार घटेको छ । विगत एक वर्षदेखि कोभिडको प्रभाव राम्रै परेको छ । यस वर्ष पनि बैशाख र जेठ महिना पुर्ण रुपमा बन्द भयो । यस अवधिमा हामी जस्तै अन्य कम्पनीहरुले जुन हिसावले व्यवसाय विस्तार गर्ने योजना बनाएका थिए कसैले पनि सकेका छैनन् ।

तर कोभिडको प्रभाव विस्तारै कम भए सँगै आवातजावत सुरु हुन थालेको छ । यदि पहिलाकै जस्तो आवतजावत गर्न सकियो भने हामी पुरानो रफ्तारमा फर्कन्छौ ।

अहिलेको पेण्डामिक समयमा जीवन बीमा कम्पनी मात्रै नभएर समग्र व्यवसाय नै सिथिल भयो । पेण्डामिक अवस्था विस्तारै कम भए सँगै यस अवधिको नोक्सानलाई पुर्ती गर्ने गरि तपाईहरुले कस्तो रणनीति बनाउनु भएको छ ?

हामीले यस अवधिमा अभिकर्तालाई भर्चुअल माध्यमबाट ब्रान्च म्यानेजर, कर्मचारी तथा अभिकर्तालाई तालिम दिने काम गर्यौ । अहिले जस्तो सुकै रणनीति बनाए पनि भर्चुअल माध्यमबाट भएका गतिविधिबाट खासै विजनेस आउदैन । जुम मार्फत मिटङ गरेर भए पनि हाम्रो विजनेज केहि हदसम्म बढेको छ ।

तर मलाइ लाग्दैन कि सधै यस्तै रहन्छ । अव केहि खुकुलो हुँदै जान्छ । मानिसहरुको आवतजावत विस्तारै बढ्दै जान्छ । आवतजावत बढ्ने वित्तीकै विजनेस व्यापार पनि बढ्दै जान्छ । पहिलादेखिको हाम्रो जुन एग्रेसिभ थियो त्यसमा केहि पनि कमि आउन दिएका छैनौ ।

निषेधाज्ञाको अवधिमा हामीले ५ वटा सवारी पास पाएका थियौ । सबै कर्मचारी आउन सम्भव नभए पनि डिपार्टमेन्ट हेड भने आयौ । जो अफिसमा आउन सक्नु भएन उहाँहरुलाई सबै सिस्टम घरमै उपलब्ध गराइसकेका थियौ । हाम्रा ग्राहकहरुलाई कुनै पनि समस्या नहोस भनेर अनलाइनबाटै सेवा प्रवाह गर्यौ । अनलाइनबाट आएका पोलिसीलाई पनि अनलाइनबाटै  जारी गर्यौ ।

हामीले २०० वटा शाखा कार्यालय खोलिसकेका छौ । अवको हाम्रो रणनीति ति सबै शाखा कार्यालयबाट कसरी धेरै भन्दा धेरै पोलिसी ल्याउने भनेर अगाडी बढ्छौ । मलाई जहाँसम्म लाग्छ उहाँहरुले व्यवसाय ल्याउन थालिसक्नु भएको छ अव कुनै समस्या हुँदैन ।

यो व्यवसाय अभिकर्ता मार्फत सञ्चालन हुने भएकाले मैले अफिस खोले अव ग्राहक आउछन् अनि बीमा गरौला भनेर चल्दैन । बानेश्वर चोकमा युनियन लाइफको होडिङ बोर्ड हेरेर कोहि पनि बीमा गर्न आउदैन । जवसम्म अभिकर्ता बीमित समक्ष १० पटक जादैन, बीमाको बारेमा बताउदैन तवसम्म बीमा व्यवसाय चल्दैन ।

केहि समय अगाडि बीमा समितिले संस्थागत अभिकर्ताको निर्देशिका जारी गर्यो । यसलाई लिएर अभिकर्ताहरुले चर्को विरोध पनि गरे । वास्तवमा संस्थागत अभिकर्ताले व्यवसायमा कत्तीको राम्रो भुमिका खेल्लान् ?

यसले बीमा कम्पनीहरुलाई राम्रो नराम्रो कुनै हिसावले पनि असर पर्दैन । किनभने अहिले बजार पुरै खाली छ । कुनै हिसावले संस्थागत अभिकर्ताको लाइसेन्स दिइयो भने पनि अहिले भैरहेका अभिकर्ताहरुलाई असर पुर्याउदैन ।

यो व्यवसाय अभिकर्ता मार्फत सञ्चालन हुने भएकाले मैले अफिस खोले अव ग्राहक आउछन् अनि बीमा गरौला भनेर चल्दैन । बानेश्वर चोकमा युनियन लाइफको होडिङ बोर्ड हेरेर कोहि पनि बीमा गर्न आउदैन । जवसम्म अभिकर्ता बीमित समक्ष १० पटक जादैन, बीमाको बारेमा बताउदैन तवसम्म बीमा व्यवसाय चल्दैन । त्यसैले गर्दा संस्थागत अभिकर्ता आउनु नआउने कुनै किसिमको असर पर्दैन । यस्तो व्यवस्थाले पोलिसी ल्याउने एउटा गेटवे मात्रै थपिएको हो तर व्यवसायमै पुरै हलचल पुर्याउने गरि असर पार्दैन ।

शेयरधनीले पाउने प्रतिफल र बीमितले पाउने बोनसका लागि कम्पनीले उचित स्थानमा लगानी गर्नु पर्छ । तर बीमा कम्पनीहरु अझै पनि बैंकहरुको मुद्दती निक्षेप भन्दा माथि उठ्न सकेका छैनन् । अव बीमा कम्पनीहरुले कस्तो क्षेत्रमा लगानी गर्नु पर्छ जसले गर्दा बीमितको रकम सुरक्षित होस सँग सँगै प्रतिफल पनि उच्च रहन सकोस ?

लगानीको दायरा जति धेरै फराकिलो हुन्छ कम्पनीका लागि त्यति नै राम्रो हुन्छ । अरु देशमा बीमा कम्पनीहरुले अपार्टमेन्टमा लगानी गर्ने परिपाटी छ । तर नेपालको सन्दर्भमा यस्ता क्षेत्रमा लगानी गर्नेहरु समस्यामै छन् ।

बीमा समितिले जुन किसिमको लगानी निर्देशिका बनाएको छ त्यो एकदमै ठिक छ । आजका दिनमा बैंकमा गरिएको लगानीबाट आठ/साढे आठ प्रतिशत सुरक्षित छ । समितिले दिएको क्षेत्राधिकार भित्र रहेर लगानी गर्न सकिन्छ । तर अहिले नै त्यस्ता कुनै क्षेत्रमा लगानी गर्न जानै पर्छ भन्ने छैन । किनकी लगानी गर्दै गर्दा सुरक्षित पनि हुनु पर्यो । अहिले नै लगानी सुरक्षित हुने त्यस्तो कुनै क्षेत्र छैन् ।

भोलिका दिनमा विभिन्न किसिमका बण्डहरु आउलान् । एकै पटक लगानी गर्नु पर्छ भन्ने छैन तर विस्तारै विस्तारै लगानीको दायरा फराकिलो हुँदै जानु पर्छ । यसमा बीमा समिति एकदमै सजग छ । समय समयमा उहाँहरुले लगानीका क्षेत्रहरु थप गरिरहनु भएको छ । जस्तो निश्चित प्रतिशत शेयर बजार, जलविद्युत क्षेत्रमा लगानी गर्न दिइएको छ । बीमा कम्पनीहरुले पनि लगानीको अवसरहरु खोजिरहेका छन् । तर अहिलेसम्मको स्थिति अनुसार सबैभन्दा सुरक्षित बैंकहरुकै मुद्दती निक्षेप रहेको छ ।

जस्तो अहिले सुरुङ मार्ग तथा रोडहरु बनिरहेका छन् । यसका लागि बीमा कम्पनीहरुबाट निश्चित रकम लिएर लगानी जुटाउन सकिन्छ । तर कम्पनीहरु आफैले लगानी गर्न जादैनन् नि ! हामी बीमा गर्ने कि रोड बनाउन जाने ?

सुरक्षित भनेर सजिलो माध्यमलाई मात्रै हेर्ने कि विस्तारै विस्तारै अन्य क्षेत्रमा पनि लगानी गर्दै जान सकिएला ? यसै सन्दर्भमा समितिले पुर्वाधार क्षेत्रमा लगानी गर्न दिएको निर्देशन कत्तीको सम्भव छ ?

विस्तारै विस्तारै जान सकिन्छ । जान नसकिने भन्ने होइन । जानु पनि पर्छ । यदि पुर्वाधारका राम्रो राम्रो आयोजना आए भने लगानी गर्न सम्भव छ । जस्तै पर्यटनका क्षेत्रमा लगानी गर्न सक्नु पर्छ । भोलिका दिनमा पर्यटन क्षेत्रमा लगानीको अवसर आयो भने किन नजाने ? अन्य देशहरुमा सरकारले नै पुर्वाधार क्षेत्रमा लगानी गर्ने गरि बण्ड जारी गरेका हुन्छन् ।

जस्तो अहिले सुरुङ मार्ग तथा रोडहरु बनिरहेका छन् । यसका लागि बीमा कम्पनीहरुबाट निश्चित रकम लिएर लगानी जुटाउन सकिन्छ । तर कम्पनीहरु आफैले लगानी गर्न जादैनन् नि ! हामी बीमा गर्ने कि रोड बनाउन जाने ? जुन दिन सरकारले यस्ता नीति नियम ल्याउछ त्यो दिन हामी पनि लगानी गर्छौ ।

बीमा कम्पनीहरुले सहायक कम्पनी खोलेर आफैले लगानी गर्न सक्ने अवस्था रहन्छ कि रहदैन ?

भोलिका दिनमा सम्भव पनि हुन सक्छ । कम्पनीहरुले आफैले कम्पनी खोलेर त्यस मार्फत लगानी गर्न सक्छन् । अन्यले खोल्ने अनि हामीले लगानी गर्ने पनि हुन सक्छ । तर अहिलेको अवस्थामा त्यस्ता क्षेत्रमा लगानी गर्नु जोखिम नै छ । अहिलेको टुरिजमकै अवस्था दयनिय छ । यदि त्यतातिर लगानी गरिदियौ र त्यो क्षेत्र धराप भयो भने के गर्ने ? त्यसैले गर्दा बीमा कम्पनीहरुले एउटा सुरक्षित लगानीको क्षेत्र खोज्छन् । अहिलेको सबैभन्दा सुरक्षित लगानीको क्षेत्र भनेको बैंकको मुद्दती निक्षेप नै हो ।

हिजोका दिनमा एकल बीमा पोलिसी जुन हिसावले बेचिएको थियो साथै कर्जा दिइएको थियो त्यो अवस्था दयनिय नै थियो । विजनेस व्यापार कहिलेकाँही तल माथि हुन्छ । तर एउटा सिस्टममा ल्याइदिए पछि भोलिका दिनमा स्वचालित रुपमै नेचुरल ग्रोथ हुन्छ ।  त्यस्ता लोनका कारणले अहिले हामी आफै पिडित भैइरहेका छौ ।

बीमा समितिले एक पछि अर्को गर्दै नियमनलाई कडाइ गर्दै आएको छ । हिजोका दिनमा व्यवसाय विस्तारका लागि कम्पनीहरुले जुन अस्त्र प्रयोग गर्थे त्यसलाई समितिले कडाइ गरेको छ । जस्तो एकल बीमा पोलिसी होस या अभिकर्तालाई कर्जा दिने विषय नै किन नहोस् । उक्त कार्यले कम्पनीको व्यवसायलाई कत्तीको असर पार्ला ?

असर पर्नु सबैभन्दा ठुलो कुरा होइन । हिजोका दिनमा एकल बीमा पोलिसी जुन हिसावले बेचिएको थियो साथै कर्जा दिइएको थियो त्यो अवस्था दयनिय नै थियो । यस्तो कार्यले भोलिका दिनमा बीमा कम्पनीहरुलाई ठुलो प्रभाव पर्नेवाला थियो । एक त सिङ्गल पोलिसी त्यसमा पनि लोन दियौ भने त्यसैले ठुलो प्रभाव पार्छ । बीमा समितिले जुन हिसावले यो काम गरेको छ सह्रानिय नै छ ।

विजनेस व्यापार कहिलेकाँही तल माथि हुन्छ । तर एउटा सिस्टममा ल्याइदिए पछि भोलिका दिनमा स्वचालित रुपमै नेचुरल ग्रोथ हुन्छ ।  त्यस्ता लोनका कारणले अहिले हामी आफै पिडित भैइरहेका छौ । वास्तवमा जथाभावी सिङ्गल पोलिसीमा लोन दिनु हुँदैन । भोलिका दिनमा लोन उठेन भने कम्पनीला ठुलो हानी पुग्छ । त्यसैले बीमा समितिले जुन किसिमले नीति लिएको छ त्यसलाई म सम्मान गर्छु ।

बीमा समितिको यस कदमले कम्पनीहरुको खासै ग्रोथ घट्दैन । कम्पनीको ग्रोथ घट्ने एक मात्रै कारण कोभिड १९ नै हो । लोन दिइएन भन्दैमा बीमा घट्ने होइन । वास्तवमा बीमा गर्नेलाई बीमा चाहियो नि । हामीले उनिहरुलाई के सिकाउनु पर्यो भने जसलाई बीमा गर्नु छ उहाँहरुको जोखिम बहन हुन्छ । जसको जोखिम बहन गर्ने हो उहाँहरुले पैसा निकाल्नु पर्यो ।

हामिले अभिकर्तालाई कर्जा दिने । अभिकर्ताले बीमित सँग पैसा नलिइ बीमा गरिदिदा त्यसको जोखिम त अभिकर्तालाई नै पर्ने हो । यदि बीमितले पैसा नदिने हो भने भोलि अभिकर्ता नै डुब्छन् । हामी मात्रै डुब्दैनौ नि अभिकर्ता पनि डुब्छन् । त्यसैले गर्दा बीमा समितिले जुन हिसावले सिस्टममा ल्याइरहेको छ त्यो आवस्यक थियो ।

बैंकास्योरेन्स आउनु पर्छ तर यसका नाममा अनावस्यक रुपमा शिर्जना भएको बिक्रिति देखिनु भएन । त्यसको लागि एउटा नीतिनियम बन्नु पर्छ

नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडि बन्द गरेको बैंकास्योरेन्सलाई बैंकहरुले पुनः कार्यान्वयनमा ल्याउन अनुरोध गर्दै आएका छन् । के बैंकास्योरेन्स पुनः कार्यान्वयनमा ल्याउन उपयुक्त होला ?

हिजोका दिनमा जुन हिसावले बैंकास्योरेन्स भएको थियो त्यो धेरै नराम्रो थियो । बैंकका ब्रान्च म्यानेजरहरुलाई टार्गेट दिइन्थ्यो, यति वटा बीमा गर्नु पर्यो भनेर । अव ब्रान्च म्यानेजरहरुले जो जो कर्जा लिन आउथे उनिहरुलाई यतिको बीमा गर्नै पर्छ होइन भने कर्जा नै दिन्न भन्थे । विचरा क्लाइन्ट १० लाख कर्जा लिनै पर्ने भए पछि एक लाख प्रिमियममै गए पनि ९ लाख लिएर जाउ भन्ने अवस्थामा पुगे ।

यस्तो हुने वित्तीकै सबैभन्दा धेरै सरेण्डर हुने पोलिसी बैंक मार्फत जारी भएका पोलिसी नै हुन् । बैंकास्योरेन्स हुनु पर्छ भन्नेमा दुई मत छैन । दुनियाभर नै बैंकास्योरेन्स चलिरहेको छ । त्यसैले बैकास्योरेन्सको अलग नीति बन्नु पर्छ । त्यसका लागि अलग प्रोडक्टहरु बन्नु पर्छ । जसले गर्दा हिजोका दिनमा जुन किसिमको बिक्रिति देखिएको थियो त्यो देखिदैन । अव यहाँ बैंकहरु आफ्नो काम छाडेर बीमा पोलिसी बिक्री गर्न हिडेपछि समस्या भैइहाल्छ । बैंकहरुले माथिबाट दिनमा यति पोलिसी बिक्री गर्नै पर्छ भनेर दवाव दिए पछि विचरा ब्रान्च म्यानेजरहरुलाई क्लाइन्ट खोजेर हिड्नु पर्ने बाध्यता थियो । त्यसैले गर्दा बैंकहरु बीमा व्यवसाय गर्ने संस्थाहरु भैइसकेको थियो ।

बैंकास्योरेन्स आउनु पर्छ तर यसका नाममा अनावस्यक रुपमा शिर्जना भएको बिक्रिति देखिनु भएन । त्यसको लागि एउटा नीतिनियम बन्नु पर्छ । कसरी बेच्ने बृहत छलफल गर्नु पर्छ । अहिले बैंकर्स संघले बैंकस्योरेन्सको माग गरिरहेका छन् । त्यस भन्दा अगाडि संघले बीमा कम्पनीहरु सँग बसेर नीति नियम बनाउनु पर्छ । अहिले भैरहेका प्रोडक्ट नै बेच्ने भए यो आउनु हुँदैन ।

बीमाको पहुँच ३३ प्रतिशत मात्रै किन ५० प्रतिशत पुग्नु पर्छ । तर पहुँच बढाउने नाममा नयाँ कम्पनी नै खोल्नु पर्छ भन्ने पक्षमा म छैन ।

हाल नेपालमा बीमाको पहुँच २५ प्रतिशत हाराहारी छ । विश्वका अन्य देशको तुलना गर्दा नेपालको सन्दर्भमा बीमाको पहुँच कति प्रतिशतसम्म पुग्दा राम्रो मानिन्छ ?

अहिलेको अवस्थामा बीमाको पहुँच २५ प्रतिशत छ । विश्वका अन्य देशको तुलनामा यो कमै हो । बीमा सबैलाई चाहिन्छ । आज कोभिड कै समयमा धेरै जनाको अकालमा मृत्यु भैरहेको छ । जसले बीमा गरेको छैन उनिहरुको घर त बर्बाद भएको छ । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्यु हुँदा उहाँहरुको परिवारले १३/१४ लाख रुपैयाँ पाइरहनु भएको छ । मृत्यु हुँदा हामीलाई दुःख त लाग्छ । तै पनि बीमा गरिएकोले गर्दा १३/१४ लाख रुपैयाँबाट सानो तिनो किराना पसल सञ्चालन गरेर भए पनि घर चलाउन सक्नु हुन्छ ।

त्यसैले गर्दा बीमाको पहुँच ३३ प्रतिशत मात्रै किन ५० प्रतिशत पुग्नु पर्छ । तर यो एकै पटक जादैन । क्रमश बढ्दै जानु पर्छ । बीमा सबैलाई चाहियो । मजदुर किसानदेखि उद्योगी व्यापारी सबैलाई चाहियो । राउटेदेखि लिएर अर्बपतिसम्मका लागि बीमा आवस्यक छ । अर्बपतिको पनि कुन बेला विजनेश व्यापार सकिने हो ठेगान छैन । अर्बौ रुपैयाँको दायित्व बहन गर्ने उहाँहरु जस्तोलाई झन् बीमा आवस्यक पर्छ । भवितव्य उहाँहरुलाई केहि भइहाल्यो भने ठुलो क्षति हुन्छ ।

विगत ४/५ वर्षको अवधिमा ७ प्रतिशतको पहुँच २५ प्रतिशत पुगेको छ । यो राम्रै हो । यो अझै बढ्नु पर्छ । यसको मतलब पहुँच बढाउने नाममा नयाँ कम्पनी नै खोल्नु पर्छ भन्ने पक्षमा म छैन । अहिले सञ्चालमा रहेका कम्पनी नै धेरै छ ।

कम्पनी खोल्ने भन्दा पनि अभिकर्ताहरुको संख्या बढाउनु पर्यो । भएका अभिकर्तालाई मोटिभेसनल तालिम दिनु पर्यो । उनिहरुलाई हरेक ठाउँमा पठाउनु पर्यो । गएका चार वर्षमा जुन हिसावले बृद्धि भएको थियो त्यो राम्रो थियो तर कोभिडका कारण अपेक्षाकृत सुधार हुन सकेको छैन ।

लकडाउन खुलेपछि पुनः अभिकर्ताहरुलाई गाउँ गाउँमा परिचालन गराउनु पर्छ । आजका दिनमा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको ३ हजार हाराहारीमा शाखा कार्यालय रहेका छन् । अहिले हरेक ठाउँमा शाखा कार्यालय पुगेका छन् । जुन स्थानीय निकायमा शाखा छ त्यस वरिपरिका स्थानबाट पनि अभिकर्ताले व्यवसाय भित्र्याउन सक्छन् । अहिलेको परिस्थितिमा शहरबाट मात्रै नभएर गाउँ गाउँबाट व्यवसाय आइरहेको छ । विगत एक वर्षदेखि हरेक कम्पनीको व्यवसायिक बृद्धिमा ब्रेक लागिरहेको छ ।

१९ वटा कम्पनी हुँदा हुँदै नयाँ कम्पनी ल्याउने हो भने भोलिका दिनमा भद्रगोल अवस्था शिर्जना हुन्छ ।

जुन सुकै कुराको एक तहमा पुगे पछि स्याचुरेट हुन्छ । बीमाको विस्तार पनि कुनै निश्चित तहमा पुगे पछि त्यसको बृद्धिदरमा ब्रेक लाग्छ । त्यस अवस्थासम्ममा अहिले भैइरहेका कम्पनीहरु बढि हुन्छन् । अहिले नै बीमा कम्पनी धेरै भयो भनिरहदा बीमा समितिले आन्तरिक रुपमा भने नयाँ लाइसेन्सको तयारी गरिरहेको भन्ने चर्चा लिरहेको सन्दर्भमा यसलाई तपाईले कसरी हेर्नु भएको छ ?

मेरो विचारमा नयाँ जीवन बीमा कम्पनी आउनु हुँदैन । इन्डिया जस्तो १४० करोड जनसंख्या भएको देशमा समेत २३ वटा मात्रै जीवन बीमा कम्पनी छन् । हाम्रोमा भने १९ वटा कम्पनी हुँदा हुँदै नयाँ कम्पनी ल्याउने हो भने भोलिका दिनमा भद्रगोल अवस्था शिर्जना हुन्छ ।

यसको असर स्वरुप सरेण्डर बढ्न थाल्छ । आज नयाँ ४ वटा जीवन बीमा कम्पनी ल्याइदिनुहोस हरेक कम्पनीको सरेण्डर बढ्न थाल्छ । कसरी बढ्छ, यहाँका कर्मचारी तथा अभिकर्ताहरु नयाँ कम्पनीमा जान्छन् । अभिकर्ताहरुलाई अनावस्यक प्रलोभन दिएर लैजाने । ति अभिकर्ताले पहिलाको ठाउँमा बीमा गरिरहेकालाई सरेण्डर गराएर नयाँ कम्पनीमा लैजान थाल्छन् । त्यसैले नयाँ कम्पनीहरु आउनु हुँदैन ।

अहिले भैइरहेका कम्पनीले राम्रो सँग काम गर्ने हो भने हरेक वर्ष १० प्रतिशतका दरले पहुँच बढाउन सक्छन् । आजका दिनमा ५ लाख अभिकर्ता भैसकेको छ । नेपालको सन्दर्भमा यो संख्या धेरै ठुलो हो । ति ५ लाख अभिकर्ताले हरेक ठाउँमा गएर बीमा गराउन थाले भने पहुँच बढाउन धेरै समय लाग्दैन ।

नयाँ कम्पनीको लाइसेन्स मात्रै थपेर हुँदैन । अभिकर्ताको संख्या नै थपेर अगाडि बढ्नु पर्छ । बीमा ल्याउने च्यानल बढाउने हो । अहिले १९ वटै कम्पनीहरु अभिकर्ता उत्पादनका लागि आक्रामक रुपमा अगाडि बढिरहेका छन् । ति अभिकर्ताले गाउँमा गएर बीमा गर्ने हो । यसले स्वचालित रुपमा बीमाको पहुँच विस्तार हुन्छ ।

तर अहिले भैरहेका १९ वटा कम्पनीहरु पनि नेपालका लागि आवस्यक छैन । अहिले नेपाललाई १० वटा जीवन बीमा कम्पनी भए पुग्छ । नयाँ जीवन बीमा कम्पनी ल्याइनु भनेको सरासर पुराना कम्पनीलाई कोल्याप्स गर्न खोज्नु हो । यसरी अव आउने नयाँ कम्पनीहरु पनि कोल्याप्स हुन्छ । किनभने नयाँ कम्पनी सर्भाइव गर्न सक्दैन । मानौ नयाँ आएको कम्पनीले मेरो कम्पनीबाट म्यानेजर लेभलको कर्मचारी लग्यो भने उसलाई एजिएम दिनु पर्छ । मेरो असिस्टेन्टलाई सिनियर असिस्टेन्टको जिम्मेवारी दिनु पर्छ । अनि कहाँबाट त्यो कम्पनीले धान्न सक्छ ?

हिजोका दिनमा ९ वटा कम्पनी हुँदा हुँदै १० वटा कम्पनीलाई लाइसेन्स दिदा पुराना कम्पनीलाई धेरै नै अप्ठ्यारो परेको थियो । फेरि त्यस्तै अवस्था दोहोर्याउने हो भने भैरहेको अवस्थालाई विगार्नु बाहेक अरु केहि हुँदैन । हिजोका दिनमा नयाँ कम्पनी आउदा पनि सरेण्डर रेसियो बढेको थियो । त्यसको जिम्मेवारी कसले लिने । नयाँ कम्पनी आउनु भनेको बीमा कम्पनी, अभिकर्ता, कर्मचारी, लगानीकर्ता तथा नियामकलाई नै लस हुनु हो ।

नयाँ माइक्रोइन्स्योरेन्स कम्पनी आउनु पर्छ तर एकै पटक ५/१० वटालाई लाइसेन्स दिनु हुँदैन

बीमा समितिले बीमाको पहुँच बढाउने भन्दै माइक्रोइन्स्योरेन्स कम्पनी खोल्ने भन्दै अध्ययन सुरु गरेको छ । जवकी अहिले भैइरहेकै बीमा कम्पनीहरु धेरै भयो भन्दै गर्दा यिनिहरुलाई नै माइक्रोपोलिसी बिक्री गर्न दिएर अगाडी बढ्दा कत्तीको उचित हुन्छ ?

मेरो विचारमा देशमा माइक्रोइन्स्योरेन्स कम्पनीहरु पनि आउनु पर्छ । किनकी ठुला ठुला कम्पनीहरुको साना साना पोलिसी तर्फ ध्यान जादैन । उनिहरुले १०/२० हजार रुपैयाँको पोलिसी बिक्री नै गर्दैनन् । हाम्रो कम्पनीमा नै २५ हजारको पोलिसी एउटा पनि छैन ।

बजारमा हरेक किसिमका कम्पनीहरु आउनु पर्छ । तर माइक्रोइन्स्योरेन्सल कम्पनीको नाममा एकै पटक ५/१० वटा लाइसेन्स वितरण गर्ने । अहिले एक/दुई वटा कम्पनी खोल्न दिएर विस्तारै विस्तारै व्यवसाय गर्न दिनु पर्छ । तर एकै पटक ५/१० वटा कम्पनी खोल्न दियो भने भद्रगोल हुन्छ । माइक्रोइन्स्योरेन्स चाहिन्छ भन्नुको मतलब जथाभावी लाइसेन्स दिने होइन । अर्को तर्फ माइक्रोइन्स्योरेन्स कम्पनीले गर्ने बीमाको सिलिङ भने माइक्रोलेभलकै हुनु पर्छ । माइक्रोइन्स्योरेन्स गाउँमा मात्रै नभएर सहरमा पनि हुन सक्छ । काठमाडौं भित्रै पनि मजदुर सुकुम्बासी समुदायहरुले माइक्रोइन्स्योरेन्सको पोलिसी खरिद गर्न सक्छन् । बीमाको पहुँच भन्दा बाहिर रहेका समुदायलाई पनि बीमाको दायरामा ल्याउनका लागि माइक्रोइन्स्योरेन्स आउदा केहि पनि फरक पर्दैन र आउनु पनि पर्छ ।

सरकारी लगानीको एक मात्र पुनर्बीमा कम्पनी रहेको अवस्थामा बीमा समितिले निजि क्षेत्रको लगानीमा नयाँ पुनर्बीमा कम्पनी खोल्न अनुमति दिएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

नेपालमा दुई वटा पुनर्बीमा कम्पनी चाहिएकै थियो । तर म चार/पाँच वटा आवस्यक छ भन्दिन । दुई वटा कम्पनी भयो भने प्रतिस्पर्धा हुन्छ । एउटा मात्रै भयो भने राम्रो सेवा प्रवाह गर्न सक्दैन । अर्को कुरा पुरानो पुनर्बीमा कम्पनीले पनि विदेशबाट व्यवसाय ल्याएकै छ । नयाँ आएकोले नेपालकै विजनेसबाट सर्भाइव गर्छु भन्यो भने त्यो सम्भव छैन । उहाँहरुले पनि बाहिरबाट विजनेस ल्याउनु भयो भने नेपालको लागि राम्रो कुरा हो । यसले वैदेशिक मुद्रा भित्र्याउन मद्दत गर्छ । अर्को कुरा दुई वटा भए पछि जसले जुन हिसावले नेपाली कम्पनीहरुलाई कन्भिन्स गराउन सक्छ त्यहि हिसावले व्यवसाय गर्छ ।

पुनर्बीमाको नाममा जुन हिसावले पैसा बाहिरिएको थियो त्यो अव नियन्त्रण हुन्छ । यदि नयाँ आएको कम्पनीले राम्रो सुविधा दियो भने नेपाली बीमा कम्पनीहरुले नै यसमा पुनर्बीमा गराउन सक्छन् । यस कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट व्यवसाय भित्र्याउने हो भने विदेशबाट उच्च व्यवस्थापनका कर्मचारी ल्याउनु पर्छ । नेपालमा पुनर्बीमाको कर्मचारीको धेरै खाचो छ । केहि समयका लागि विदेशबाट जनशक्ति ल्याउने हो भने यहाँका कर्मचारीहरुले पनि सिक्ने अवसर पाउछन् । उनिहरुले नयाँ व्यवस्थापन रणनीति ल्याउन सक्छन् जसले गर्दा एक तहको व्यवस्था स्थापित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार