जहाँ जोखिम त्यहाँ बीमा

सुजित प्रसाद शाह । जोखिम एक त्यस्तो किसिमको प्रकृति हो, जुन कुनै निश्चित छैन । त्यही भएर मानिस भविष्यमा आइपर्ने जोखिमसँग हरपल कुनै न कुनै रूपमा चिन्तित भएका हुन्छन् । जोखिम विभिन्नप्रकारका हुन्छन् । जसमा मानिसको ज्यानसमेत जाने गर्छ । जस्तै : आगलागी, बाढीपहिरो, करेन्ट(बिजुली), घातक रोग, दुर्घटनालगायत अन्य । यी विभिन्नप्रकारका जोखिममध्ये दुर्घटनाबाट बढी नेपालीको अकाल मृत्यु हुने गरेको छ । यसको विभिन्न कारण भए पनि नेपालको अधिकांश सडक नदीनालाको छेउछाउ हुँदै  बनेका छन् वा पहाडको बाटो हुँदै गएका छन् । सडक बनाउँदा छोटो र सजिलो हुने ठानिए पनि यस्ता सडकमा दुर्घटना हुँदा धेरैको ज्यान जाने गरेको छ ।

नेपाल प्रकृतिको हिसाबले जतिसुकै सुन्दर तथा भौगोलिक धरातलीयको हिसाबले छुट्टै अस्तित्व बोकेको भए पनि हामीले यसलाई एउटा छुट्टै पहिचान दिन सकेको छैनौं । नेपालले वरदानका रूपमा पाएको प्रकृतिको सुन्दरता कुनै न कुनै रूपमा दिनानुदिन अभिशापका रूपमै साबित भएका छन् । नयाँ–नयाँ प्रविधि अवलम्बन हुन नसक्नु, पँुजीको अभाव हुनु, दक्ष जनशक्ति विदेशतिर पलायन हुनु, भ्रष्टाचार हुनु र राजनीतिक अस्थिरता हुनु आदि कारणले यसमा प्रभाव परेको छ ।

नेपालमा सयौँ मानिस दिनप्रतिदिन दुर्घटनाका कारणले गर्दा अल्पायुमै ज्यान गुमाउने गर्छन् । फलस्वरूप निजको घरपरिवार निकै अप्ठ्यारोमा पर्न गई आर्थिक रूपले सिकिस्त हुने गर्छन् । यतिसम्म मात्र नभई, स्वास्थ्य समस्या तथा भरपर्दो उपचार नपाएर पनि धेरैजना मृत्युको सिकार भएका छन् । तसर्थ, जोखिम एक त्यस्तो किसिमको खतरनाक स्थिति हो, जसलाई हामीले नचाहँदानचाहँदै सामना गर्नुपरेको छ । हुन त ‘‘हुने हुनामीलाई कसले टार्न सक्छ र रु’’ तैपनि, यसबाट कसरी बच्ने र कुन हिसाबले अघि बढ्ने वैकल्पिक नीति अवलम्बन गर्नतिर सोच्नु आवश्यक छ ।

सामान्य रूपमा अधिकांश नेपाली बैङ्क तथा वित्तीय संस्थासँग कुनै न कुनै रूपमा सेवा लिए पनि बीमाको क्षेत्रमा धेरैजसो नेपालीको पहुँच छैन । फलस्वरूप नेपालीको जोखिम वहन भएका हुँदैनन् । यसको विभिन्न कारण भए पनि प्रायःजसो बीमा कम्पनी सहरकेन्द्रित तथा उच्च आयस्तर भएकालाई नै लक्षित गर्नु हो । तैपनि आफ्नो हित तथा संरक्षणका लागि आफ्नो आम्दानी तथा तिर्न सक्ने क्षमताका आधारमा बीमा गराउनु नै उचित देखिन्छ । किनभने बीमाले एक हिसाबले स-सानो रकम बचत गर्न मद्दत पुर्याउँछ भने अर्को हिसाबले आपत–विपतमा पर्न सक्ने बाधा-व्यवधानलाई टार्ने गर्छ ।

नेपाल एउटा यस्तो परिस्थितिमा गुज्रिरहेको छ कि जहाँ कुनै चीजको सुनिश्चित छैन । जसरी कि बिहान कुनै कामका लागि गाडी चढेर सदरमुकाम गएको मानिस साँझ घर फर्किन्छ कि फर्किन्न भन्ने अन्योल कायम हुन्छ, घरबाट अफिस गएको कर्मचारी भरे आफ्नो घरपरिवारसँग खाना खान पाउँछ कि पाउँदैन भने निश्चित हुँदैन, स्कुल गएका बालबालिका बेलुकातिर आफ्नो गृहकार्य गर्न सक्छन् कि सक्दैनन् भन्ने निश्चित छैन । यस्तै अनेक प्रकारका अन्योल छन् । यस्ता परिस्थिति सामना गर्न हामी जतिसुकै सचेत भए पनि भोग्न बाध्य भएका छौँ । यो परिस्थितिमा मन जतिसुकै दुखे तापनि, घरपरिवार गुमाएको पीडा केहीसँग तुलना गर्न नसके तापनि, आफ्नो भविष्यको योजनामा आगो लागे पनि, बीमा गरेको छ भने कुनै न कुनै रूपमा अवश्य पनि घाउमा मलहम लगाउने काम गर्छ । जसरी बीमाबाट प्राप्त रकमले आफ्नो भावी योजनालाई एउटा मार्गदर्शन दिलाउन सकिन्छ । आर्थिक भारको सङ्कटबाट केही हदसम्म सामना गरेर आफ्नो पाइलालाई फेरि पनि एउटा सही ठाउँमा टेकाउन सकिन्छ । हुन त बीमा नगरेको मानिसको जिन्दगी चलेकै छ । तर पनि बीमा गरेको छ भने पक्कै पनि नगरेको व्यक्तिभन्दा केही न केही रूपमा अलि सहज हुन्छ ।

यसप्रकारले नै नेपाल जतिसुकै सुन्दर र नेपालीको मन अति नै कोमल भए पनि देश र राजनीतिक परिस्थितिले गर्दा हामीसँग छातीमा ढुङ्गा राखेर गुजारा चलाउनुबाहेक अन्य विकल्प छैनन् । सरकारको भरमा बस्यो भने न त हामीले राम्रो शिक्षा पाउन सक्छौँ, न त राम्रो स्वास्थोपचार । रोजगारीको त कुरै नगरौँ, यसका लागि त नेपालबाट दिनानुदिन आकाशमा उडेको हवाईजहाजले नै हामीलाई मनमष्तिस्क र कानमा राम्ररी नै सूचना दिइरहेका छन् ।

बीमा एक यस्तो प्रकारको बचत गर्ने तथा जोखिम वहन गरिदिने माध्यम हो, जहाँ थोर–थोरै रकम जम्मा गरेर निश्चित समयावधिमा यसको प्रतिफल एकत्रित भएर बोनससहित बीमितले पाउँछन् भने बीमा अवधिभर तनावरहित जीवन जिउने मौका प्रदान गर्छन् । साथै, बीमाबाट प्राप्त रकमले घरपरिवारको एउटा ठूलै तथा महत्वपूर्ण काम गर्ने टेवा पुर्याउँछ । जसरी कि आफ्ना बालबच्चालाई उच्च शिक्षाका लागि राम्रै कलेज तथा विश्वविद्यालयमा पढाउन सकिन्छ । यतिसम्म मात्र नभई, सानोतिनो व्यवसाय गरेर आफूलाई विदेश पलायन हुनबाट जोगाउन सकिन्छ । फलस्वरूप आफ्नो घरपरिवारसँग सुख-दुःख साटेर सँगै बस्न पाइन्छ ।

धेरैजसो नेपालीको आयस्तर अति न्यून रहेको छ । त्यही भएर बीमा गर्ने मनसाय भए पनि धेरै जनाले गराउन सकेका छैनन् । तर, एउटा भनाइ छ– जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पक्कै पनि छ । विभिन्न उपायले बीमा गराउन सकिन्छ, दिनको एक कप चियामा कटौती गरेर, चुरोट, रक्सीलाई केही हदसम्म कम गरेर, आफ्नो आम्दानीको पाँचदेखि १० प्रतिशत रकम बचतका रूपमा जम्मा गरेर पनि सजिलै बीमा गराउन सकिन्छ । खासगरी वैदेशिक रोजगारीमा गएकाले त अनिवार्य रूपमा बीमा गराउनुपर्छ । जसले गर्दा आफ्नो मासिक आम्दानीको केही रकम जम्मा हुनुको साथै भविष्यमा आइपर्ने आर्थिक भारबाट बच्न सकिन्छ र आफ्नो घरपरिवारको जीवनस्तर
माथि उकास्न सकिन्छ ।

बीमा गराउनका लागि सबैभन्दा पहिला कुन कम्पनीमा बीमा गराउँदा सहज, सरल र सुलभ हुनुको साथै पाउने प्रतिफल राम्रो अर्थात् बढी बोनस दर रहेको बीमा कम्पनी कुन हो, राम्ररी बुझेरमात्रै गराउनुपर्छ । अरूको लहैलहैमा नपरी आधिकारिक व्यक्तिसँग सबै कुराको विस्तृत विवरण पाइसकेपछि आफूले तिर्न र धान्न सक्ने बीमाङ्कबराबरको बीमा गराउनु उपयुक्त हुन्छ । बजारमा धेरैजसो बीमा कम्पनीमध्ये नाफामूलक नभई, सेवाग्राहीको हक–हित तथा सेवामूलक संस्थामा गई आफूलाई सुहाउँदो ‘पोलिसी’ मात्रै किनेर जीवनको सुनिश्चितता गर्नुपर्छ । यसरी नै आफ्नो जीवनमा आउन सक्ने भावी जोखिम वहनका लागि समयमै सोच्नु उपयुक्त देखिन्छ । एउटा गीत पनि छ, ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाऊँ कुन ठाउँ जाऊँ, मान्छे नमर्ने सहर हुँदैन ।’ हो– बीमा नगरी यस्ता जोखिम वहन हुँदैन ।

बीमा गरेपछि प्रत्यक्ष रूपमा बीमितलाई लाभ भए पनि यसको दीर्घकालीन प्रभाव देश र अर्थतन्त्रलाई पर्छ । फलस्वरूप देश विकासको बाटोमा पनि अघि बढिन्छ । आफू सुखी नभई देश समृद्ध हुँदैन , देश विकसित र सम्पन नभई भविष्य सुनिश्चित हुदैंन । तसर्थ, देशको विकास, अर्थतन्त्र बलियो र भावी पुस्ताका लागि पनि सोच्नु एक सच्चा नेपालीको नाताले आफ्नो सानो संलग्नता जनाउनु नितान्त जरुरी छ । अनि मात्रै ‘‘सुखी र समृद्ध नेपाली’’ हुन्छ ।

(शाह राष्ट्रिय बीमा संस्थानमा कार्यरत छन् )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार