SKIP THIS

Slicl

बीमा कम्पनीहरु किन घाटामै ‘मनि व्याक’ पोलिसी बिक्री गर्छन् ?

काठमाडौं। चर्को प्रतिस्पर्धाका कारण जीवन बीमा कम्पनीहरुले घाटामै ‘मनि व्याक पोलिसी’ बिक्री गर्ने गरेका छन्। बीमाको सिद्धान्त अनुसार बीमितसँग १५/२० वर्षसम्म प्रिमियम लिएर विभिन्न क्षेत्रमा लगानी गर्नु पर्छ।  उक्त लगानीको प्रतिफलका आधारमा बीमा कम्पनीले आफ्ना बीमितलाई बोनश सहित फिर्ता गरिन्छ। तर कम्पनीहरुले बीमित सँग लिएको प्रिमियमको निश्चित प्रतिशत फिर्ता गर्दा बोनशदर र नाफा दुबैमा असर पुर्याउछ।

यदि अन्य बीमा पोलिसीको जत्तीनै बोनशदर कायम गर्ने हो भने यो धेरै नै महंगो पर्न जान्छ। यसै क्रममा बीमा कम्पनीहरुले घाटा बेहोर्छन्।  केहि समय अगाडि आक्रामक रुपमा आएका यस्ता पोलिसीमा घाटा देखिन थाले पछि कतिपय बीमा कम्पनीहरुले बन्द गर्न थालेका छन्।

नेपालमा यदि ‘ए’ भन्ने कम्पनीले एउटा पोलिसी ल्यायो र उक्त पोलिसि एकदमै राम्रो विक्न थाल्यो भने अरु कम्पनीले कपि गर्छन्। यसरी कपि गर्दा अर्को कम्पनीको भन्दा एक रुपैयाँ कममा ल्याउछन्। थोरै मार्जीनमा पोलिसी ल्याउदा यसको प्रत्यक्ष असर उक्त योजनाको बोनशदरमा पर्छ। अर्को तर्फ धेरै बोनस आउने गरि पोलिसी डिजाइन गरियो भने बिकाउनै गाह्रो पर्ने बीमा कम्पनीहरु बताउछन्।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गएको साता ‘वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ बन्द भएको घोषणा गर्यो। यो पोलिसीमा धेरै नै घाटा भए पछि युनियनले थप परिष्कृत गर्दै अर्को मनि व्याक पोलिसी ‘जीवन आधार बीमा योजना’ जारी गरेको छ। त्यस्तै केहि समय अगाडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि जीवन समृद्धि बीमा योजनालाई बन्द गर्नु परेको थियो।

नेपाल लाइफको यस बीमा पोलिसी धेरै बिक्न थाले पछि अन्य कम्पनीहरुले पनि पछ्याए। तर नेपाल लाइफको जस्तो व्याकअप अन्य कम्पनीको छैन। त्यसैले गर्दा अन्य कम्पनीले घाटामा बिक्री गरे। सबै तिरको दवाव पछि नेपाल लाइफले उक्त पोलिसी परिष्कृत गरेर केहि महंगोमा जारी गर्यो।

मनि व्याक पोलिसी जारी गर्नेमा अरु पनि छन्।  प्रभु लाइफले ‘जीवन आधार बीमा योजना’, रिलायन्स लाइफ इन्स्योरेनसको ‘रिलायन्स मनि व्याक एस्सुरेन्स प्लान’, महालक्ष्मी लाइफको ‘महालक्ष्मी धनधान्य’, रहेको छ। यि बाहेक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लगायतले बिक्री गरेको पाइन्छ।

बीमा कम्पनीले घाटामै बीमा पोलिसी जारी गर्ने भन्दा पनि कम मार्जिनमा बिक्री गरेको नेपाल लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाको तर्क छ। कुनै पनि बीमा पोलिसी बीमा कम्पनीको व्यवस्थापनले बनाउदैन। यस्ता पोलिसी बीमा समितिले स्वीकृति प्रदान गरेका एक्चुरीले बनाउने भएकाले घाटामै डिजाइन नहुने उनले बताए।

कुनै पनि पोलिसी बनाउदा कम्पनीको तत्कालिन वित्तीय अवस्था कस्तो छ भनेर हेरिन्छ। तर एक्चुरीलाई गलत सूचना दिएर ल्याइएको छ भने राम्रो नहुने झाले जानकारी दिए। उनले भने ‘यदि बीमा कम्पनीहरुले पोलिसी तयार पार्दा एउटा सूचना दिने र पोलिसी जारी गर्ने बेलामा अर्को अवस्था रह्यो भने घाटा हुन सक्छु।’

कहिलेकाही बीमा कम्पनीहरुले केहि अवधिका लागि बिमितलाई आकर्षित गर्न यस्ता पोलिसी जारी गरेका हुन्छन्। बजारको पहुँच बढोस भनेर नियामक निकायले पनि स्वीकृति दिने गरेको पाइन्छ। यदि कम्पनीले बीमितलाई आकर्षित गर्न र बीमितको संख्या बढाउन योजनाबद्ध हिसावले ४ वर्षका लागि हो भने यसले खासै असर नगर्ने विश्लेषकहरु बताउछन्। नेपालमा आफुले कसरी राम्रो योजना ल्याउने भन्दा पनि अरुले ल्याएको योजना धेरै राम्रो भयो भने त्यसलाई कसरी रोक्ने भनेर खेल हुने गरेको झा बताउछन्।

बीमाको पहुँच बढाउन थोरै मार्जिनमा प्रोडक्ट ल्याउने र निश्चित अवधिपछि त्यसलाई बन्द गर्ने या थप महंगो बनाउदै लैजानु पर्ने विज्ञहरु बताउछन्। तर कम्पनीहरुले सिधै घाटामा पोलिसी जारी गर्दा समग्र बीमा बजारलाई भने राम्रो गर्दैन।

नेपालमा देखासिखी गर्ने प्रचलन बढि भएकाले समग्र बीमा बजार लागि भने बढि घातक हुन जान्छ। भारतको जाइन्ट र एलआइसीका हजारौ बीमा योजना छन्। साथै त्यहाँ धेरै वटा पोलिसी बन्द पनि भएका छन्। कुन सामान बजारमा ल्याउदा चल्छ यार चल्दैन भनेर हेरिन्छ। सुरुमा बीमितलाई आकर्षित गर्न थोरै मार्जिनमा पोलिसी ल्याउने र पछि मार्जिन बढाउन अर्को प्रोडक्ट ल्याउने अभ्यास पनि भएका छन्।

प्रोडक्ट स्वीकृत गर्दा कम्पनीले आफ्नो वित्तीय विवरण सहि यथार्थ दिइएको छ कि गलत हिसावले दिइएको छ भनेर हेर्नु पर्छ। नेपालमा ६ प्रतिशतको खर्चलाई मूल्याङ्कन गरेर राख्ने अनि १२ प्रतिशतमा पुग्यो भने कम्पनीलाई नै राम्रो हुँदैन। कम्पनीको खर्च पहिलो वर्षको कमिसन र इन्सेन्टिभ जोडेर ३० प्रतिशत हुन जान्छ भने पहिलो वर्षको खर्च ३० प्रतिशत नै लेख्नु पर्यो। योजना बनाउने वेलामा १० प्रतिशत मात्रै खर्च हुन्छ भन्ने अनुमान गरेर योजना बनाउनु हुँदैन।

नेपालमा अभिकर्ता कमिसन र इन्सेन्टिमा मात्रै क्याप लगाउने गरिन्छ। तर अन्य खर्चलाई भने नियन्त्रण गरिदैन। कम्पनीको जुन सुकै खर्चको सम्बन्ध हरेक पोलिसीमा देखिन्छ। यदि खर्च बढि भयो भने पोलिसी होल्डरले पाउने प्रतिफल पनि कम हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार