इसेवा नोट प्रतिस्थापन गर्ने अभियानमा छ, आगामी लक्ष्य क्यासलेस कारोबार

Citizen Life Insurance Co

इसेवा आम नेपालीको दैनिकीसँग जोडिएको छ । भित्तामा हेर्ने टेलिभिजन, छिन छिनमा कानमा कराउने मोबाइल, इन्टरनेट सुचारु हुन इ-सेवा आवश्यक पर्छ । कतिबेला लाईट च्वाट्टै काटिन्छ । तत्काल इसेवाबाट बिल भुक्तानी गर्दा एक कम चिया पिउन नभ्याउँदै काटिएका लाइनहरु जोडिन्छन् । पछिल्लो समय शेयर, विद्युत, फोन, इन्टरनेट, कर, विद्यालय शुल्क, टिभीको शुल्क, सिनेमाको टिकट, अनलाईन सपिङ, फुडकोर्टपछि अहिले बीमा शुल्क भुक्तानीमा इसेवाको प्रवेश भएको छ । मानिसको दैनिकीसँग जोडिइसकेको इसेवा फोन पे प्रा.लिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुभास सापकोटासँग इन्स्योरेन्स खवरका केशव भण्डारीनबराज न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाई इसेवाको संस्थापक मध्ये एक हुनुहुन्छ, हिजोको दिनमा इसेवा सुरु गर्दा देख्नु भएको सपना, बनाउनुभएको चित्र आज पूरा भए जस्तो लाग्छ ?

२००६ मा विशेषगरी पे–पाललगायतबाट प्रभावित भएर हाम्रा सहकार्मी विश्वास ढकालले चित्रांकन गरेको एउटा प्रोडक्ट हो इ–सेवा । जुनबेलामा भुक्तानीको लागि गेटवे नभएको अवस्थामा पे–पालजस्तै नेपालको आफ्नै हुनुपर्दछ भनेर डिजाईन गरिएको हो । एफवान सफ्ट एउटा आईटी कम्पनीको प्रडक्टको रुपमा सुरुमा डिजाइन भयो । विकास गर्दै जाँदा इसेवाको रुपमा २००९ मा बजारमा आयो । पछि आईटी कम्पनी र सेवा प्रदायक भनेर इसेवालाई एफवान सफ्टबाट छुट्टै बनायौं । २००६ मै खाका बन्यो, यो प्रोडक्टले यसरी काम गर्छ भन्ने एउटा हामीले चित्रांकन उतिबेला नै गरेका थियौं । भुक्तानी सेवा प्रदायकको रुपमा साझा कम्पनी बन्छ भन्ने नै थियो । सुरु गर्दा हामीसँग स्पष्ट नियमनकारी निकाय थिएन । हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पेमेन्ट सिष्टम चलाइरहेका पे–पाल, भिषाको राम्रा अभ्यासहरुलाई आत्मसात गर्दै इसेवाको आजको अवस्थामा आईपुगेको हो ।

हिजोको दिनमा हामीले जसरी सोचिरहेका थियौं, त्यही हिजोकै चित्रांकनमा काम गरिरहेका छौं । केही परिवर्तन त भइन नै हाल्छ, तर हामी हिजोकै सपनामा अविचलित रुपमा लागिरहेका छौं । इसेवाको अबधारणा बनाएर अघि बढ्दा नेपालमा डिजिटल भुक्तानीको अभ्यासै भएको थिएन । नेपालमा डिजिटल्ली भुक्तानी गर्न सकिन्छ भन्ने एउटा सपना हामीले पूरा गरेका छौं । युटिलिटी बिल भुक्तानीमा हामी सफल भएका छौं । कूल पाँच करोड चुक्ता पुँजि भएको कम्पनी हो । अहिले दैनिक पाँच लाखभन्दा बढि कारोबार गर्दै आएका छौं । कूल ग्राहकसँग संख्या ३४ लाख छन् भने सक्रिय ग्राहक संख्या १० लाख भन्दा बढि छ । हामीले दैनिक १० करोडभन्दा बढिको मर्चेन्ट पेमेन्ट गर्दै आएका छौं । यसरी हेर्दा हामी हाम्रो गन्तव्यतर्फ अघि बढिरहेका छौं र सफलताको लागि अझै धेरै कामहरु गर्न बाँकी छ । सुरुवातदेखि नै हामी दीर्घकालिन लक्ष्य लिएर अगाडि बढेका थियौं । आज हामी त्यही लक्ष्य पछ्याउँदै छौं ।

इसेवा आज एउटा ठूलो कम्पनी बनेको छ, युटिलिटी बिल भुक्तानी गर्दा पनि क्यासब्याक गरिहेको हुन्छ, कसरी चल्छ कम्पनी ?

हाम्रो कमाई एकदमै सानो छ । हामीले रुपैयाँभन्दा तल पैसा पैसामा मात्रै आम्दानी गर्छौं । आधारभूत सिद्धान्त के हो र हामी कसरी चल्छौं भन्ने सन्दर्भमा हामीले सेवा दिइसकेपछि जसलाई हामीले भुक्तानी गर्छौं, उनीहरुबाट केही कमिशन लिन्छौं । त्यो कमिशनलाई पुनः वितरण गर्छौं । जस्तो नेपाल टेलिकमको टपअप गर्दा हामीले निश्चित रकम ग्राहककै खातामा फिर्ता गरिदिन्छौं । हामीले त्यो पैसा टेलिकमबाट प्राप्त हुने कमिशनमा कटाएर फिर्ता गरेका हौं । युटिलिटी बिल भुक्तानीमा पनि दुई रुपैयाँ क्यास ब्याक पाउँछन् । त्यो क्यासब्याक जसको लागि हामीले सेवा दिएका छौं, उहाँहरुबाट प्राप्त कमिशनलाई पुनः वितरण गरेका हौं । हामीलाई आउने मुख्य अंश पुनः वितरण गर्छौ र केही प्रतिशत हामीलाई राख्छौं । त्यही कमिशनबाट इसेवा चलेको छ ।

इसेवा लकडाउनदेखि यता झनै लोकप्रिय बनेको छ । कबिर ८ वर्षको दौरानमा आम मानिसको जीवनशैलीसँग जोडिन पुगेको देखिन्छ । मानिसको जीवन शैलीसँग थप घनिष्ठ हुन अरु लक्ष्यहरु के के छन् ?

हामीले बजारको एउटा क्षेत्र युटिलिटी बिल भुक्तानीमा राम्रै काम गरिरहेका छौं । विगतमा टेलिफोन, बिजुलीको बिल तिर्न घण्टौ लाइन बस्नुपर्थ्यो, पालो नपाउने, शुक्रबार टेलिफोनको लाइन काटियो भने आइतबार कार्यालय खुलेपछि लाइन बसेर बिल तिरेपछि मात्रै खुल्दथ्यो । अहिले त्यो अवस्था छैन । हामीले सेवा प्रदायक र आम ग्राहकबीच सम्पर्क हुने माध्यम बन्यौं । हामीले खुद्रा समस्याहरुको हल गर्यौं । अब हामी कहाँसम्म सोचेका छौं भने, भुक्तानी सेवा प्रदायक भनेर राष्ट्र बैंकले लाईसेन्स दिँदा दिँदै राष्ट्र बैंक अर्थात सरकारले पनि एउटा सोच त पक्कै राखेको हुनुपर्दछ । राष्ट्र बैंकका गभर्नरको अपेक्षा आगामी दिनमा नोटमा हस्ताक्षर गर्नु नपरे हुन्थ्यो भन्नेसम्मको छ । त्यो भनेको हामीले भोलिका दिनमा भौतिक वस्तुको रुपमा नोटको विकल्पसम्म सोच्नुपर्दछ । हामीमाथि सरकार र जनताको भरोसा क्यासलेस होस् भन्ने छ, त्यसतर्फ हामीले सोचेका छौं । भोलिका दिनमा आम जनताको पैसाको लेनदेनको माध्यम इसेवा बनाउनुपर्छ भन्ने हाम्रो लक्ष्य छ । रकम भुक्तानीको माध्यम भनेकै इसेवा हो भन्ने कुरा जनतालाई बुझाउनु छ, नोट बिना नै पनि आर्थिक कारोबार हुन्छ भन्ने विश्वास दिलाएर व्यक्तिले पकेटमा नोटहरु नबोकी निर्धक्क बजारमा शपिङ गर्न जाने अवस्थामा पुर्याउनु छ । इ-सेवाको सिईओ हुनुको नाताले म त्यही अवस्थामा कसरी पुर्याउन सकिन्छ भनेर मेहनत गरिरहेको छु ।

तपाईहरु आफूले आफूलाई भुक्तानी सेवा प्रदायक मात्रै भन्नुहुन्छ । इसेवाले पैसाको काम गरेको जस्तो पनि छ, बैंकको काम गरेजस्तो पनि छ, खासमा इसेवा पैसा हो कि बैंक ?

दुवै होइन । इसेवा बैंक होइन । बैंक भन्यो भने पैसा राख्ने, ऋण पनि लिने दुवै हुन्छ । त्यसकारण इसेवा बैंक होइन । पैसा भनेको मानिससँग भएको नोट हो । हामी नोट पनि होइनौं । त्यसैले हामी यो दुवै होइनौं तर, यी दुवैले गर्ने साझा काम भने गर्छौं, त्यो के भने भुक्तानी । नोट एउटा माध्यम हो । त्यस्तै इसेवा पनि एउटा माध्यम मात्रै हो । नोट भौतिक रुपमा मानिसको गोजीमा उपस्थित हुन्छ, हामी भौतिक रुपमा उपस्थित हुँदैनौं, डिजिटल्ली उपस्थित भएर नोट जसरी नै तत्कालै भुक्तानीमा रुपान्तरण हुन सक्छौं । त्यसैले हामीले माध्यम भनेका हौं । भुक्तानीका धेरै विधिहरु छन् । त्यसमध्ये एक व्यक्तिसँग भएको रकम अर्को व्यक्तिमाँझ डिजिटल्ली पुर्याउने काम गर्छौं । इसेवा नोटको प्रतिस्थापन चाही पक्कै हो ।

हामीले बीमाको प्रिमियम पनि तिर्न सक्ने गरी व्यवस्था गरेका छौं । बीमा गरेको मानिसले नियमित रुपमा बीमाशुल्क बुझाउनुपर्ने हुन्छ । त्यसमा हामीले भुक्तानीको सरल माध्यम बन्ने प्रयास गरेका छौं । बैंकमा गएर रकम निकालेर पुनः बीमा कम्पनीमा गएर रकम तिर्ने झन्झटबाट मुक्ति दिन हामीले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने बनाएका छौं ।

इसेवा अहिले युटिलिटी बिल भुक्तानीको सरल माध्यम बनेको छ । विद्यालय शुल्कदेखि, टेलिफोन, बिजुली, बीमा प्रिमियम, कर तिर्न सकिन्छ । अझै बजार विस्तार गर्ने लक्ष्यहरु छन् कि ?

इसेवालाई आम जनताले बुझ्दा युटिलिटी बिल भुक्तानीको माध्यमको रुपमा चिनेका छन् । हामीले निकै फराकिलो सोच्नुपर्दछ र सोचेका छौं । हामीले नोटको प्रतिस्थापन त भन्यौं, तर त्यस अनुसार अझै जनताको बीचमा पुग्न बाँकी छ । अबको हाम्रो उद्देश्य भनेको आर्थिक कारोबार, लेनदेन गर्ने माध्यम इसेवा बनाउने हाम्रो लक्ष्य छ । हामीले निकै फराकिलो सोचका साथ आम मानिसका हरेक भुक्तानीलाई इसेवासँग जोड्न खोज्दैछौं । मानिसले बचत गर्छ, कर तिर्छ भनेजस्तै बीमा पनि गरेको हुन्छ । त्यसैले हामीले बीमाको प्रिमियम पनि तिर्न सक्ने गरी व्यवस्था गरेका छौं । बीमा गरेको मानिसले नियमित रुपमा बीमाशुल्क बुझाउनुपर्ने हुन्छ । त्यसमा हामीले भुक्तानीको सरल माध्यम बन्ने प्रयास गरेका छौं । बैंकमा गएर रकम निकालेर पुनः बीमा कम्पनीमा गएर रकम तिर्ने झन्झटबाट मुक्ति दिन हामीले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने बनाएका छौं । त्यस्तै शेयर कारोबारमा हेर्दा शेयर खरिद गर्दा हुने भुक्तानी, बिक्री गर्दा प्राप्त हुने आय र खरिद बिक्रीबापत ब्रोकर कम्पनीलाई गरिने भुक्तानी आदिमा पनि आर्थिक कारोबार त भइनै रहेको छ । त्यो आर्थिक कारोबारमा हामी भुक्तानीको माध्यम बन्ने प्रयत्न गर्दैछौं ।

इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्दा कस कसलाई के– के फाइदा हुन्छ ?

लेनदेन गर्दा निश्चित खर्च लाग्दछ । त्यस्तै बीमा शुल्क संकलन गर्न पनि निश्चित खर्च त बीमा कम्पनीहरुले गर्नै पर्छ । डेस्क, कर्मचारी, दैनिक बैंकमा जम्मा गर्ने झन्झट त छदैछ । हामीले परम्परागत शैलीमा जुन आर्थिक कारोबार गर्दै आएका छौं, त्यसको ठूलो लागत मूल्य छ । यी हिसाब किताबहरु कतिपय ठाउँमा देखिन्छ र कतिपय ठाउँमा देखिदैन । विद्युतीय माध्यम अर्थात इसेवाबाट सोही रकम भुक्तानी गर्दा आर्थिक कारोबारमा हुने खर्चको लागत र जोखिम दुवै घट्छ । बीमा मात्रै नहेरौं माइक्रो फाइनान्सको किस्ता संकलनको लागत हेरौं, ७ देखि ८ प्रतिशत लागत खर्च लागेको छ । त्यस्तै रेमिट्यान्सको कारोबार खर्च हेरौं, त्यसको आफ्नो खर्च छ । त्यसले गर्दा आम उपभोक्तालाई आर्थिक कारोबार खर्च समेत जोडेर रकम लिने हुँदा महंगो पर्न गएको छ । डिजिटल्ली कारोबार गर्दा त्यस्तो खर्च घट्न गई उपभोक्ता वा सेवाग्राहीलाई सस्तो समेत पर्न जान्छ । आर्थि कारोबार गर्दा हुने दुःख र यसको लागत दुवै घटाउन इसेवाले विकल्प लिएर आएको हो । बैंकमा रकम जम्मा गर्न जाँदा पनि पार्किङ शुल्क, यातायात शुल्क त लागि नै हाल्छ । घरैमा बसेर टच गरेको भरमा भुक्तानी भयो भने भुक्तानी गर्ने मानिसको पनि समय र खर्च दुवै बचत भयो । त्यसैले इसेवाबाट कारोबार गर्दा सबैलाई फाइदा छ ।

बीमा सेवा लिन चाहने व्यक्तिले आफ्नो मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् । जीवन बीमाको लागि बीमा पोलिसी नं र जन्म मिति प्रविष्ट गर्ने वित्तिकै रकम भुक्तानी गर्न सकिन्छ भने निर्जिवन बीमाको रकम भुक्तानीको लागि नाम ठेगाना लगायतका विवरण भर्नुपर्दछ ।

बीमा शुल्क भुक्तानीको प्रक्रिया कस्तो हुन्छ ?

बीमा कम्पनीहरुलाई पोलिसी होल्डरले भुक्तानी गर्नुपर्ने सबै प्रकारका रकमहरु बीमा कम्पनीको खातामा सिधैं डिपोजिट हुने गरी सेवा प्रदान गर्दै आएका छौं । त्यसको लागि बीमा सेवा लिन चाहने व्यक्तिले आफ्नो मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् । जीवन बीमाको लागि बीमा पोलिसी नं र जन्म मिति प्रविष्ट गर्ने वित्तिकै रकम भुक्तानी गर्न सकिन्छ भने निर्जिवन बीमाको रकम भुक्तानीको लागि नाम ठेगाना लगायतका विवरण भर्नुपर्दछ ।

बीमा अभिकर्ताहरुले बीमितसँग उठाएको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्दा थप लाभ प्राप्त गर्न सक्छन् ?

पहिलो कुरा समय र खर्च दुवै बचत भयो । हामीले विभिन्न प्रबद्र्धनात्मक क्याम्पेनहरु ल्याइरहेका हुन्छौं । व्यवसायिक अभियानहरु ल्याइरहँदा बीमा अभिकर्ताहरुलाई हामीले पक्कै लाभ दिन्छौं । अहिले यति नै दिन्छौं भनेर दिइसकेका छैनौं । हामीले बीमा कम्पनीहरुमा यति प्रतिशत लिन्छौं भनेर चार्ज गरेको भए त दिन पनि सकिन्थ्यो । अहिले हामीले अत्यन्तै न्यून शुल्कमा काम गरेको भएर रिटर्न यति नै आउँछ भनेर भन्न सकिने अवस्था छैन । तर, अभिकर्ताहरुले अहिलेदेखि काम गर्दै गर्दा भोलिका दिनमा हामीले केही गरौं भनेर हेर्ने त उहाँहरुलाई नै हो । भोलिका दिनमा डाइरेक्ट काउन्टर प्रयोग गर्नुभन्दा इसेवा प्रयोग गर्न सजिलो हुनेछ । भोलिका दिनमा क्याम्पेनमार्फत प्रोत्साहन गर्ने त अभिकर्ताहरुलाई नै हो । आगामी दिनमा मोेबाईल लक्की ड्र, प्रोमोशन क्याम्पेनमार्फत बीमा अभिकर्ताहरुलाई पनि राहत दिने नै छौं ।

बीमा शुल्क इसेवा भुक्तानी गर्दा बीमक, बीमित र अभिकर्तालाई के के फाइदा हुन्छ ?

सबैलाई फाइदा छ । समयको हिसाबले खर्चको हिसाबले । नगद कारोबारमा निश्चित जोखिम पनि हुन्छ । इसेवाबाट भुक्तानी गर्दा त्यस्तो जोखिम न्यूनिकरण हुन्छ । त्यो बाहेक पनि अभिकर्तालाई समयको हिसाबले बढि फाइदा छ । बीमितबाट उठाएको नविकरण शुल्क बुझाउन कम्पनी धाउने समयमा नयाँ क्लाईन्टलाई समय दिँदा थप बीमा कारोबार हुनसक्दछ । यसो गर्दा बीमा शुल्क मोबाइलबाट समय क्लाईन्टसँग दिन सकिन्छ । अभिकर्ताले बीमा नविकरण बीमा शुल्क संकलन गरेबापत थप सुविधा पाउने होइन, त्यसैले यसमा समय र खर्च घट्ने हुँदा फाइदाजनक नै लाग्छ । त्यस्तै बीमा कम्पनीहरुलाई पनि फाइदा छ । बीमा शुल्क संकलनको लागि काउन्टर, सिष्टम, कर्मचारी राख्नु पर्नेमा हामीले सिधैं बैंक खातामा रकम जम्मा गरिदिन्छौं । यसबाट उहाँहरुलाई फाइदा नै पुग्छ । बीमितको हकमा बीमा नविकरण शुल्क सिधैं आफ्नै खाताबाट पठाउँदा बीचमा हराउने वा नासिने जोखिम हुँदैन । त्यसैले सबैलाई फाइदा छ ।

इसेवाका भुक्तानी काउन्टर तथा प्वाईन्टहरु छन्, उनीहरुलाई के कस्तो सुविधा दिइरहनु भएको छ ?

हामीले सबैलाई इसेवा प्वाईन्ट भनेर भन्छौं । जसले इसेवा चलाउन सक्छ, डाइरेक्ट कस्टुमर भयो । आफैले खाता खोलेर चलाउन इसेवा चलाउन नसक्नेहरुका लागि इसेवाका प्रतिनिधित्व गर्ने प्वाईन्टहरु हामीले सञ्चालन गरेका छौं । उहाँहरु पनि इसेवाको कस्टुमर नै हो । उनीहरुले इसेवाबाट छुट्टै कमिशन र इन्सेन्टिभ समेत पाउँछन् ।

पछिल्लो समय डिजिटल कारोबारमा विश्वभर नै सुरक्षा चुनौति बढ्दो छ । इसेवाको तर्फबाट कसरी सुरक्षा प्रत्याभूति व्यक्त गर्नुहुन्छ ?

सुरक्षाको विषय अहिलेको सन्दर्भको पहिलो प्राथमिकताको विषय हो । ग्लोबल फाईनान्सियल मार्केटमा सुरक्षा र साईबर सुरक्षालाई निकै महत्वका साथ प्राथमिकता दिएर काम भइरहेको छ । सुरक्षा हाम्रो छैन, सानो मार्केटमा सेक्युरिटी हुँदैन भन्ने हुँदैन । नेपाल जस्तो सानो बजार र विश्वका अरु ठूलो बजारमा सुरक्षा चुनौति छ र त्यसको लागि हामी काम गरेका छौं । सुरक्षा चुनौति शून्यमा झार्न सकिदैन, त्यसलाई मिनिमाईज गर्ने हो । त्यो चाही हामीले हटाउन सक्दैनौं । चुनौति सधैं आइरहन्छ । सुरक्षा चुनौति सामना गर्न हामीले तीन वटा कुरामा ध्यान दिएका छौं । पहिलो हार्डवेयरमा लगानी, सेक्युरिटी सम्बन्धी म्यानपावर र तेस्रो सफ्टवयेरमा लगानी । सेक्युरिटी अडिट सेक्युरिटी म्यानेज गर्ने टिम र त्यसका लागि आवश्यक सफ्टवयेरमार्फत हुन्छ । फायरवल, थप सर्भर र डाटा सेन्टर म्यानेजमेन्टका टुलहरु आवश्यक पर्दछन् । अन्तर्राष्ट्रिय जगतमा यी सबै ब्यवस्थापनको लागि आम्दानीको निश्चित प्रतिशत खर्च गर्ने गरेका छौं । इसेवाको हकमा भन्नुपर्दा अन्तर्राष्ट्रिय स्टाण्डर्ड भन्दा पनि केही प्रतिशत बढि खर्च हामीले सुरक्षामा लगानी गरेका छौं । हामीले ह्युमन रिसोर्समा निकै राम्रा र दक्ष व्यक्तिहरुलाई जिम्मेवारी दिएका छौं, त्यस्तै हार्डवयेर र सफ्टवयेरमा पर्याप्त लगानी गरेका छौं ।

डिजिटल कारोबारको चुनौतिहरु कत्तिको देख्नुहुन्छ ? भविष्य कस्तो छ ?

यो नयाँ उद्यमको क्षेत्र हो । मुख्य चुनौति भनेको एडप्सन (ग्रहण गर्नु) हो । आजको तथ्याङ्क हेर्ने हो भने दैनिक आर्थिक लेनदेन गर्ने मानिस एक करोडभन्दा बढि छ । मानिसहरु फाइनान्सिल्ली सक्रिय छन्, दैनिक गोजीमा नगद बोकेर हिडेको हामी देख्छौं । दैनिक रुपमा मानिसहरुले खर्च गर्ने गर्दछन् । टेलिफोन चलाउने मानिसहरुले नै दैनिक करोडौं रुपैयाँ टेलिकमलाई भुक्तानी गर्दछन् । त्यो सबै मानिसहरुले इसेवा चलाइरहेका छैनन् । आर्थिक कारोबार गरेपनि डिजिटल पेमेन्ट गरेका छैनन् । यसको अर्थ डिजिटल जनचेतनाको अभाव छ भन्ने कुरा यसबाट देखिन्छ । यो आजको भोलि परिवर्तन गर्न सकिने कुरा होइन । यसको लागि सकै न कसैले लगानी गर्नै पर्छ । यसमा हामी सबैभन्दा ठूलो कम्पनी भएको नाताले, पायोनियर हुनुको नाताले हामीले लगानी गर्दै आएका छौं । नयाँ कम्पनीहरुले पनि लगानी त अवश्यक नै गर्नै पर्छ । जो नयाँ आउनु भएको छ, अल्पकालिन रुपमै लगानी फिर्ताको सोच लिएर आउनुभयो भने यहाँ सम्भ्व छैन । यो क्षेत्र भनेको आज लगानी गर्ने ५।७ वर्षपछि प्रतिफल आउने क्षेत्र हो । त्यसैले दीर्घकालिन रुपमा लगानी गर्ने सोच लिएर आउनु होला । भविष्य राम्रो छ । अहिले समय भनेको लगानी गर्ने समय हो । लगानी गर्ने समयमा जति धेरै लगानी भविष्यमा त्यतिनै लाभ लिन सकिन्छ ।

बीमा एजेन्टहरु, नियमनकारी निकायतिर बीमा क्षेत्रमा भएका एक लाख भन्दा बढि एजेन्टहरुको च्यानल प्रयोग हुने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको भन्ने पनि सुने । हाम्रो स्पष्ट उद्देश्य के छ भनेको बीमा अभिकर्ताको रुपमा कार्यरत बीमा एजेन्टहरुलाई फेसिलियट गर्ने हो । त्यसैले यसमा कुनै आशंका व्यक्त गर्नुपर्दैन । हामी आफैमा एजेन्ट बनेर बीमा पोलिसी बिक्री गर्दै हिड्ने, हामी आफै बैंक बनेर ऋण दिँदै हिड्ने होइन । अथवा माईक्रो फाइनान्स शैलीको ऋण दिने आजको उद्देश्य हुँदै होइन । हाम्रो एक मात्र उद्देश्य भनेको जति पनि आर्थिक कारोबार हुन्छ, ति सबै कारोबार डिजिटल माध्यमबाट गराउने हो ।

अन्त्यमा…

इसेवा बीमा कम्पनीको एजेन्ट हो कि भन्ने आशंका पनि कतै कतै सुनिन्छ । त्यसबारे थप प्रष्ट पार्न चाहन्छु । हामी बीमा कम्पनीको एजेन्ट होइनौं र हामी भोलिका दिनमा बीमा कम्पनीको एजेन्ट बन्ने पनि होइन । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिँदा नै हामीले भुक्तानी सेवा प्रदायकको रुपमा पाएका छौं । त्यसैले हाम्रो काम भनेको भुक्तानीमा फेसिलियट गर्ने मात्रै हो । बीमा एजेन्टहरु, नियमनकारी निकायतिर बीमा क्षेत्रमा भएका एक लाख भन्दा बढि एजेन्टहरुको च्यानल प्रयोग हुने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको भन्ने पनि सुने ।

हाम्रो स्पष्ट उद्देश्य के छ भनेको बीमा अभिकर्ताको रुपमा कार्यरत बीमा एजेन्टहरुलाई फेसिलियट गर्ने हो । त्यसैले यसमा कुनै आशंका व्यक्त गर्नुपर्दैन । हामी आफैमा एजेन्ट बनेर बीमा पोलिसी बिक्री गर्दै हिड्ने, हामी आफै बैंक बनेर ऋण दिँदै हिड्ने होइन । अथवा माईक्रो फाइनान्स शैलीको ऋण दिने आजको उद्देश्य हुँदै होइन । हाम्रो एक मात्र उद्देश्य भनेको जति पनि आर्थिक कारोबार हुन्छ, ति सबै कारोबार डिजिटल माध्यमबाट गराउने हो । हामीले भोलिका दिनमा प्रोत्साहन गर्ने, सुविधा प्रदान गर्ने भनेको अहिले अस्तित्वमा भइरहेका अभिकर्ताहरुलाई नै हो । पोलिसी बिक्री गर्ने र बिक्री गरिसकिएको पोलिसी नविकरणमा सहयोग गर्ने हाम्रो उद्देश्य हो । हामी यही उद्देश्य लिएर बीमा क्षेत्रमा पनि सहयोग गर्न आएका छौं ।

                                                                                                                                                                 तस्विरहरुः रोशन  ति.खत्री

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार