बीमा कम्पनीहरुले मुद्दति निक्षेपमा निर्भर लगानीलाई अब विविधिकरण गर्नुपर्छ-विवेक झा, सिईओ, नेपाल लाईफ

Citizen Life Insurance Co

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिईओ विवेक झा यही असार ३१ गतेबाट दुई कार्यकाल पूरा गरी अवकास लिँदैछन् । ३७ वर्षको उमेरमा सिईओ बनेका झाले नेपाल लाईफलाई एक नम्वरको बीमा कम्पनी बनाएर विदा लिँदैछन् । एक सफल सिईओ हुनुको नाताले उनको ज्ञान, शिप र दृढता नेपाली बीमा क्षेत्रका लागि शिक्षाप्रद हुनसक्छ । यसै सेरोफेरोमा रहेर सिईओ झासँग इन्स्योरेन्स खवरका केशब भण्डारी  र नबराज न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सिईओ हुनु भएको आठ वर्ष पुगेको छ । २०६९ साल भदौं १ गते सिईओमा नियुक्त हुँदाका दिन सम्झदा कस्तो लाग्छ ?
समय कुर्दैन भन्ने लाग्छ । हामीले सानैदेखि पढ्दै र सुन्दै आयौं, ‘टाईम फ्लाईज’ । हामीले समयको महत्व बुझ्नुपर्छ, समयसँग तालमा ताल मिलाएर अघि बढ्यौं भने जिन्दगी बाँच्न रमाइलो हुने रैछ भन्ने लागेको छ । सधैं आफ्नो काम आजै गर्यौं, पूर्ण क्षमतामा काम गर्यौं भने लक्ष्यहरु, गन्तव्यहरु नजिक लाग्ने रहेछ । २०६९ साललाई तपाईले सम्झाईदिनुभयो । म झसंग भए ! याद आयो, त्यो दिनको, जब म यस कम्पनीमा सिईओ बनेर नयाँ जिम्मेवारी लिँदै थिए, कता कता डर, उत्साह र दृढता थियो । आज एउटा नतिजा दिन सफल भएको छु । खुशी नै लागेको छ ।

सिईओ नियुक्त भएको दिन तपाईसँग संकल्प थियो, अठोट थियो, ति सबै पूरा भए जस्तो लाग्छ ?
म वर्तमानमा  रमाउन चाहने मान्छे । मैले आफ्नो काम इमान्दारिताका साथ दृढतापूर्वक गरेँ जस्तो लाग्छ । मैले गरेको कामको मूल्याङ्कन अरुले गर्ने हो । नेपाल लाईफको हकमा कम्पनीका अभिकर्ता, बीमित, कर्मचारी र शेयर सदस्यहरुले गर्नुभएकै होला । बीमा कम्पनीमा गरेको कामको लेखाजोखा प्रत्येक ३/३ महिनामा वित्तीय विवरण विभिन्न प्यारामिटर मार्फत हेरी नै रहेका हुन्छौं । यो टिमसँग मिलेर काम गर्दा, आज यहाँबाट उभिएर हेर्दा, हामीले हाम्रो पोजिशनलाई प्रमाणित गरेका छौं जस्तो लाग्छ । यो मेरो मात्रै सफलता होइन । बोर्ड, व्यवस्थापनका सबै टिम, अभिकर्ताहरूको प्रयास अनि शुभचिन्तकहरुको चासो र सुझावबाट यहाँसम्म आइपुगेको हो । यो सफलतामा सबैको समान हक छ । आजको नेपाल लाईफको सफलता प्रत्येक अभिकर्ता, कर्मचारी साथीहरु बोर्डका सदस्यहरुको सामूहिक प्रतिफल हो ।

नेपाल लाईफमा दुई कार्यकाल सिईओ भएर बाहिरिँदै हुनुहुन्छ । तपाईले कम्पनीलाई लयमा डोर्याउँदै गर्दा, कुदाउँदै गर्दा आफूले अघि सारेका कुराहरु केही छन्, जुन आगामी नेतृत्वले पछ्याए हुन्छ  जस्तो  लाग्छ?
समय सधैं प्रगतिशील हुन्छ । सुधारको लागि, परिवर्तनको मार्ग सधैं खुल्ला हुन्छ । पूर्णता भन्ने केही पनि हु्ँदैन । हामीले काम गर्दै यहाँसम्म आउँदा पनि कति कुरा हामीले गर्यौं । कतिकुरा अझै प्लानिङ फेजमै होलान, कतिकुरा अझै परिवर्तन गर्नुपर्ने होलान , त्यो सबै कुरा वातावरणले निर्धारण गर्छ । हामी कुनै पनि कुरा जब योजना बनाइरहेका हुन्छौं, त्यो त्यतिबेलाको परिवेशलाई हेरेर गरिएको हुन्छ । समय सापेक्ष निर्णय गरेर नै हामीले राम्रो स्टेज सेट गर्न सफल भएका छौं ।

यो दशक नेपाली बीमा क्षेत्रका लागि निकै फलिफाप देखियो है ?
यो दशक नेपाली बीमा क्षेत्रको लागि सुनौला अक्षरले लेखिनुपर्छ । यो दशक नेपाली बीमा क्षेत्रको लागि स्वर्ण युग हो । यसमा म वा नेपाल लाईफ मात्रै होइन । हामी सबैले मिलेर यो क्षेत्रलाई अघि बढाएका छौं । यो सिंगो बीमा क्षेत्रले हासिल गरेको सफलता हो । मैले भनिरहँदा हामी कर्मचारी, सिईओ, लगानीकर्ता र अभिकर्ता सबैको यसमा देन छ । त्यस्तै नियमनकारी निकाय बीमा समिति छ । बीमा समितिको सही मार्गदर्शनले पनि यो सम्भव भएको हो । म  नेपाल लाईफबाट अवकास लिँदै गर्दा नेपाली बीमा क्षेत्रमा नयाँ तरंग आएको छ । नयाँ वातावरण सिर्जना हुनेवाला छ । विश्व बजारको बीमाबारे अध्ययन गर्दा नेपाली बीमा क्षेत्रमा अझै धेरै गर्न बाँकी छ । हामीले छिमेकी र मित्र राष्ट्रहरुमा बीमाको अवस्था पनि हेर्नुपर्यो । अनि हामी के-के मा पछाडि छौं त ? ति कुराहरु अध्ययन गरेर अघि बढ्यौं भने पक्कै पनि हामी अझै धेरै अगाडि जान सक्नेछौं ।

प्रविधिमैत्री हुने कुरामा नेपालमा अझै ढिलाई भइरहेको छ । कम्पनीहरु तयार नभएका हुन् वा बीमा समितिको नियमन प्रभावकारी नबनेको हाे? के जस्तो लाग्छ ?
यो घटनाक्रमको विकास हो । विश्वभरी नै यस्ता समस्याहरु छन् । प्रविधि सधैं नयाँ आइरहने, मानिस नयाँ प्रविधि पछ्याईरहने यो नियम हो । बीमा क्षेत्रलाई तुलना गर्नको लागि तथ्याङ्क आवश्यक छ । योजना, रणनीति र सुधारको लागि तथ्याङ्क आवश्यक छ । प्रविधिको माध्यमबाट तथ्याङ्कहरुको अपडेट गरेर अघि बढ्नु जरुरी छ । प्रविधिको उपयोग अधिकतम् हुनुपर्दछ । वित्तीय प्रतिवेदनहरु एनएफआरएस स्टाण्डर्डमा लैजादा वित्तीय विवरणहरुमा ढिलाई भइरहेका छन् । आजको युगमा वित्तीय विवरण र तथ्याङ्कहरु सही समयमा अपडेट हुन सक्दैनन् भने व्यवसाय गर्नुको अर्थ छैन । आज रिस्क बेस क्यापिटल अप्रोच (जोखिममा आधारित पुँजि समबन्धी धारणा) का कुराहरु आइरहेका छन् । यी सारा चिजहरु यसअघि नै प्रयोगमा आइसकेका छन् । आज विश्व भुमण्डलीकरणको जमाना छ । विश्वको एउटा कुनामा आविस्कार भएको प्रविधि, शिप क्षणभरमै विश्वभर फैलिएर अझै समृद्ध भइसेको हुन्छ । विश्वका कही पनि प्रयोगमा आएका प्रविधिहरु अनुभवबाट सिकेर बाधाहरु हटाएर नेपालमा लागू गर्न सकिन्छ । त्यसैले नेपाली बीमा क्षेत्रमा नविनतम् प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्नुपर्दछ । अबको युग भनेको बीमा क्षेत्रलाई स्तरोन्नती गर्ने नै हो । त्यसको लागि कम्पनी आफू पनि तयार हुनुपर्दछ भने राज्यले पनि तयारी गर्नुपर्छ । अबको प्रविधिको अधिकतम् उपयोग गर्ने समय आएको छ । हामीले एउटा उचाई प्राप्त गरिसकेका छौं । नेपाली बीमा क्षेत्र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा एउटा पहिचान बनाउन सफल भइसकेको हुँदा अबको रणनीति उपलब्धीको रक्षा र अग्रगाामी यात्रातर्फ केन्द्रीत हुनुपर्दछ ।

नेपालमा बीमा कम्पनीहरुको भविष्य झनै राम्रो हुँदै गएको मान्न सकिन्छ ?
करिब ७५ वर्ष पुरानो इतिहास बोकेको नेपाली बीमा क्षेत्रमा करिब ५० वर्षसम्म त जम्मा दुई वटा कम्पनीले एकछत्र राज गरे । हाम्रो कम्पनी करिब २० वर्ष मात्रै भएको छ । पछिल्लो २० वर्षमा नेपाली बीमा क्षेत्रले नसोचेको नतिजा ल्याउन सफल भएको छ । त्यसमा पनि १० वर्षमा अझै बढि परिवर्तन आयो । नेपाल लाईफ इन्स्योरेन्स  स्थापना हुँदा नेपाली बीमा क्षेत्रले विदेशी कम्पनीमा बीमा गराउने अवस्थाको सामना गरिरहेको थियो । नेपालभित्र बीमा गर्ने भन्दा नेपालबाहिर बीमा गर्नेहरुको संख्या बढि थियो । हामीले पछिल्लो १० वर्षमा नेपाली बीमा कम्पनीहरु विश्वका अन्य कम्पनीभन्दा कमजोर छैन भनेर अभियान चलायौं । हामी आज दुई अर्बको ठाउँमा साढे पाँच अर्बको पुँजि लिएर बसेका छौं । कम्पनीको बलियोपना बढायौं । सल्भेन्सी मार्जिनको कोणबाट हेर्ने हो भने नेपाल लाईफ साढे तीन सय प्रतिशत भन्दा माथि छ । नेपाल लाईफ मात्रै होइन, सबै कम्पनीहरुको अवस्था राम्रो छ । आजभन्दा १० वर्षभन्दा अगाडिसम्म ठूलो मात्रामा नेपाली पुँजि बीमाको नाममा विदेश जाने गरेको थियो । तर, आज हामीले विदेशी र अन्तर्राष्ट्रियस्तरको कम्पनी भन्दा नेपाली कम्पनी राम्रो बनाएर हामीले जनतालाई विदेशी कम्पनीको विकल्प दिन सफल भएका छौं । मलाई लाग्छ, यो उपलब्धी सिंगो बीमा क्षेत्रको लागि र देशको लागि नै हो । जीवन बीमा कम्पनीहरुले बोनस दिँदा तोकेको भन्दा बढि दिन सफल भइरहेका छन् । आज पुँजि बजारमा जीवन बीमा कम्पनीहरुले एउटा पहिचान बनाउन सफल भएका छन् । यो बीमा क्षेत्रका सफलताहरु हुन् । यी सबै कुराले के देखाउँछ भने जीवन बीमा क्षेत्र अब स्थापित भइसकेको छ । गत वर्ष बीमा समितिले पनि बोर्डर साईडहरुमा जनचेतना अभियान सञ्चालन गरेको थियो । अब क्रस बोर्डर बीमा प्रिमियम जाने अवस्था पूर्ण रुपमा रोकिएको अवस्था छ । यसले देश, समाज र बीमा उद्योगलाई फाइदा पुगेको अवस्था छ ।

जीवन बीमा कम्पनीहरुको लगानीको क्षेत्र साँघुरो छ, बैंकमा मुद्दतिमा रकम राख्दा लगानी चुनौतिपूर्ण बन्दै गएको भन्ने पनि छ नि ?
जीवन बीमा कम्पनीहरुको मुख्य काम भनेको दायित्व लिनु हो । हामीले दायित्व ग्रहण गरेबापत रकम लिएका हुन्छौं । त्यस्तो दायित्व बोनस सहित फिर्ता गर्नु हाम्रो दायित्व हो । अहिले भइरहेको अभ्यास के छ भने दायित्व चाही हामीले दीर्घकालिन लिइरहेका छौं । लगानी भने अल्पकालिन छ । विद्यमान लगानी नीतिका कारण बीमा क्षेत्रले जति फड्को मार्नुपर्ने हो, त्यति प्रगति गर्न सकिरहेको छैन । बीमा कम्पनीहरुको लगानीको दायरा असाध्यै साँघुरो छ । हामी बीमा कम्पनीहरु कमर्शियल बैंकको मुद्दति निक्षेपमा गएर केन्द्रीकृत हुनुपरेको छ । हामी कमर्शियल बैंकको मुद्दति निक्षेपमा जाँदा एउटा कुरा के भयो भने दीर्घकालिन मुद्दति निक्षेप गर्न नसकिने र अर्को प्रतिफल दर पनि तल–माथी भइरहने हुँदा समस्या परेको छ । मुलुकमा राजनीतिक अस्थिरतासँगै बैंकिङ क्षेत्रको ब्याजदर पनि एकदमै तलमाथि भइरह्यो । बीमा क्षेत्रले बीमितलाई ग्यारेन्टी प्रदान गरेको हुन्छ । तलमाथि हुने प्रतिफलले ग्यारेन्टी गरिएको प्रतिफल कसरी दिन सकिन्छ ? यो अस्थिरताले इन्भेष्टमेन्ट पोर्टफोलियो रणनीति बनाउन समस्या परेको चाही पक्कै हो । अधिकांशले अनुमानका भरमा काम गर्नुपर्ने अवस्था छ । विगतमा बैंकहरुसँग व्यक्तिगत रुपमा बार्गेनिङ गर्नुपर्ने अवस्था समेत आयो । दीर्घकालिन रुपमा १०/१५ वर्षका लागि लगानी गर्ने अवस्था नपाउँदा बीमा कम्पनीहरुको लगानी सधैं चुनौतिपूर्ण नै रह्यो । अब सरकारले १५ वर्षभन्दा बढि अबधिका लगानीका क्षेत्रहरु विस्तार गर्नु आवश्यक छ । बीमा कम्पनीहरुले २५ वर्ष ३० वर्ष लामो दायित्व लिएको हुन्छ, तर लगानीको दायरा हेर्दा जम्मा ५/७ वर्षको हुने यसले बीमा कम्पनीमा सम्पत्ति दायित्व मिसम्याचको खतरा छ । जोखिमरहित लगानीको वातावरण सरकारले बनाउनुपर्छ । दीर्घकालिन लगानीको लागि सरकारी ऋणपत्र खुल्ला हुनुपर्दछ । जबसम्म दीर्घकालिन लगानीका सरकारी ऋणपत्रहरु जारी हुदैनन्, तबसम्म बीमा कम्पनीहरुले प्रतिफल ग्यारेन्टी गरिएका र पेन्सन बीमा प्लानका बीमा पोलिसी बिक्री गर्न सक्दैनन् । अर्को, ‘लिङ्क’ विश्वव्यापी रुपमा फेमस भएर गएको छ । क्यापिटल मार्केट्समा लिङ्क गरेर अघि बढ्नुपर्दछ । यसको लागि चाहिने वातावरण बन्यो भने बीमाको लगानी डाईभर्सिफिकेशन गर्न सकिन्छ र सम्भव पनि छ । यी कामहरु आगामी दशकका लक्ष्य हुन् ।

बीमाको पहुँच पनि बढेको छ । जनचेतना बढेको छ, बीमाप्रति जनताको उत्साह पनि देखिन्छ, तर बोनस दर अझै २ अंकमा  छ । अब ३ अंकको  बोनसदरतर्फ सोच्ने बेला भएन ?
यो निकै महत्वपूर्ण कुरा हो । अब बोनसभित्र छिर्नुपर्ने आवश्यकता भयो । अधिकांश बीमा योजनाहरु सहभागितामूलक छन् । समीक्षात्मक बोनस दिने चलन छ । जब प्रडक्ट तयार गर्छौ, त्यतिबेला प्राईसिङलाई ध्यान दिनुपर्छ । बीमा शुल्कलाई प्रभाव पार्ने तत्वहरु भनेको प्रतिफलको दर, मृत्युदर, बीमा कम्पनीले गर्ने खर्चहरु हुन् । यी तीन वटामा सामूहिक भूमिका हुने हुँदा तीन वटै कुरामा हामीले ध्यान दिन आवश्यक छ । मैले हेर्दा नेपालका अधिकांश बीमा कम्पनीका प्रोडक्टहरु पाँच देखि साढे छ  प्रतिशत ब्याजदर आम्दानी हुने आधारमा बनेका छन् । उनीहरुले राखेका बोनसदर २० देखि २५ र ३० सम्मका छन् । अब त्यो प्रडक्ट बनाइएको बेलामा भन्दा अहिले काम गर्ने बेलामा कम्पनीहरुले राम्रो काम गरे बापत बढि लाभ लिन्छन् । जस्तोः मृत्युदर एक्चुअलको ४० प्रतिशतसम्म हुन्छ । त्यहाँ ६० प्रतिशत बचत कम्पनीले गर्छ । बीमा समितिका अनुसार सरप्लस हिसाब गर्दा ६ प्रतिशतमा गर्नुपर्छ । अहिले पनि हामी १० प्रतिशतमा गरिरहेका छौं । त्यसले पनि बीमितलाई फाइदा नै दिन्छ । २० रुपैयाँ बोनस भनेपनि कम्पनीहरुले ६० देखि ६५ रुपैयाँसम्म बीमितलाई लाभ दिन सफल भएका छन् । अझ दीर्घकालिन रुपमा ७२ देखि ८५ रुपैयाँसम्म बोनस दिन सफल भएका छन् । यो बीमा उद्योगको सकारात्मक पाटो हो । तर, अवस्था हेर्दा भोलि बैंकको ब्याजदर ३ वा ४ प्रतिशतमा झर्ने, बीमा कम्पनीहरुसँग अर्को लगानीको क्षेत्र नहुने भने हो भने त्यस्तो अवस्थामा त बीमा कम्पनीमाथि नै हिट हुने जोखिम पनि छ । त्यस्तो अवस्थामा आजको भोलि परिवर्तन गर्न त सकिदैन । बोनसदर बृद्धि गर्नको लागि यी तीन वटा फ्याक्टर मध्ये प्रतिफल कमाईमा बृद्धि गर्न सक्छौैं । खर्च अहिले पनि लो नै छ, मृत्युदर देशको अवस्थासँग निर्भर गर्छ ।

अब बीमा कम्पनीहरुले आम्दानी बृद्धि गर्नको लागि लगानीको दायरामा फराकिलो हुनैपर्छ । यस पटक म बीमा समितिलाई धन्यवाद पनि दिन्छु । केही पहिले लगानी विविधिकरण गर्ने सम्बन्धमा बीमा समितिले मार्ग निर्देश गरिसकेको छ । त्यसलाई उपयोग गर्न सकिएको त छैन । तर, समितिले बीमा कम्पनीहरुलाई आफ्नो लगानी विविधिरकण गर्ने मार्ग प्रशस्त गरिएको छ । नेपाल लाईफमा हामीले लिएको नीति बैंकको मुद्दति निक्षेपमा निर्भरताबाट बाहिर आउने भन्ने हो । हाम्रो ७० देखि ८० प्रतिशत बैंकमा भएको मुद्दति निक्षेपलाई विस्तारै घटाउनुपर्छ बेला यही हो । बैंकमा मुद्दति निक्षेपमा रकम थुपार्ने प्रवृत्तिबाट लगानी विविधिकरणतर्फ जाने हो भने शायद बीमा क्षेत्रले अब कर्पोरेट लेण्डिङमा पनि भूमिका निर्वाह गर्न सक्दछ । घरजग्गाको कुराहरु गरिएको छ । कम्पनीहरुमा शेयरमा लगानी गर्ने कुरा आएको छ । त्यस्तै पूर्वाधार विकास बैंकमा लगानी गर्ने छुट पनि छ । हामीले पूर्वाधार विकास बैंकको ठूला लगानीकर्ता मध्येका एक हौं । कोभिडपछि नयाँ नयाँ सेक्टरहरुमा लगानीको लागि नयाँ अवसर पक्कै आउँछ । नेपालको हाईड्रोपावर र टुरिजम वा अन्य कुन क्षेत्रमा हुन्छ, जहाँ होस्, २० देखि २२ प्रतिशत रिटर्न हुने लगानी गर्नु आवश्यक छ । ३० प्रतिशत पोर्टफोलियो, २० प्रतिशतभन्दा माथि प्रतिफल आउने गरी लगानी गर्ने हो भने बैंकको मुद्दति निक्षेपको निर्भरताबाट हामी बाहिर आउँन सक्छौं । पोर्टफोलियो विविधिकरण गरी औषतमा १२ प्रतिशतभन्दा माथि आम्दानी गर्न सक्नुभयो भने पक्कै पनि बीमितले पाउने बोनसमा सकारात्मक प्रभाव पर्न सक्छ । त्यस्तो अवस्थामा ३ अंक  (९९ भन्दा माथि) मा बोनस दर लैजान सकिन्छ ।

दोस्रो कुरा हामी अब बचतबाट बाहिर निस्कनु पर्यो । ग्यारेन्टेड रिटर्न प्लान दिनका लागि ग्यारेन्टेड लगानी हुनुपर्यो । बीमा कम्पनीले ग्यारेन्टेड रिटर्नमा लिएको बीमा शुल्क अहिलेको अवस्थाको बैंकमा मुद्दति निक्षेपमा राखेर सम्भव छैन । त्यसको लागि दीर्घकालिन लगानीको वातावरण हुन जरुरी छ । त्यस्तैै, पुँजिबजारसँग जोडेर ल्याउने प्रडक्टहरु हुन्छ । हाम्रो देशको पुँजि बजारलाई बलियो पार्न धेरै जरुरी छ । त्यो मुलुकको समृद्धिको सूचक हो । पुँजि बजारसँग जोडेर योजनाहरु भविष्यमा राम्रो हुनेछ । आज जीवन बीमा कम्पनीहरुले देशमा तीन खर्बभन्दा माथि योगदान पुर्याएको छ । राज्यको तहबाट, नीतिगतबाट बीमा कम्पनीमा कसरी बढीभन्दा बढि पुँजि संकलन गर्न सकिन्छ भनेर सोच्न आवश्यक छ । किनभने राज्यका लागि दीर्घकालिन पुँजि संकलन गर्ने योभन्दा उत्तम माध्यम हुनै सक्दैन । त्यसको लागि हामीले २० वर्षभन्दा माथि योजनाका लागि फोकस गर्न जरुरी छ । अहिले बीमा परिपक्वतामा ५ प्रतिशत कर लिन्छौं । दीर्घकालिन बीमामा त्यो कर छुट दिएर प्रोत्साहन गर्न सकिन्छ । २५ वर्ष देशको समृद्धिका लागि पुँजि प्रयोग गर्न पाइन्छ भने त्यति छुट दिँदा सरकारलाई पनि कुनै घाटा लाग्दैन । देशलाई चाहिने फण्ड त्यहाँबाट आउँछ । यसरी हामीले बीमालाई नेपालको समृद्धिसँग प्रत्यक्ष जोड्न सक्छौं । नेपाली बीमा व्यवसाय फड्को मार्ने क्रममा छ । त्यसैले तीन अंकको  बोनस दर अर्थात ९९ रुपैयाँ भन्दा माथि बोनस दरको लक्ष्य पनि एक दिन हासिल हुन्छ भन्ने लाग्छ ।

बीमा कम्पनीहरुले पुँजि संकलन गर्ने, तर त्यो संकलन भएको पुँजि बीमा कम्पनीले नभई बैंकहरुले परिचालन गर्ने गरिएको छ । बीमा कम्पनीहरुले पुँजि संकलन गर्ने तर परिचालन गर्न नपाउँदा बैंकहरुले दिएको ब्याज हात थापेर प्रतिफल बाँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने तपाईको आशय हो ?
बीमा कम्पनीहरुको काम नै पुँजि उत्खनन् गर्ने हो । बीमा कम्पनीहरुले पुँजि संकलन कार्य तीव्र पारेका छन् । यो वर्ष कोभिडले केही प्रभावित पारेपनि अर्को वर्ष जनचेतनाको कारण बीमा बजार अझै गुल्जार हुने देखिन्छ । तर, उत्खनन गरिएको, संकलन गरिएको फण्डको सही सदुपयोग गर्न सकियो भने शायद बीमाको भविष्य अझै यो भन्दा पनि राम्रो हुनसक्दछ । हामीले सामान्य तरिकाले बैंकमा राखेर बीमितहरुको अपेक्षालाई पूरा गर्न सक्दैनौं । अहिले आएको नयाँ गाईडलाइनले धेरै सहुलियत दिएको छ । हामीले संकलन गर्ने रकम जनताको पैसा हो । त्यो जनताको पैसा न्यून जोखिम भएको क्षेत्रमा मात्रै लगानी सम्भव छ । जोखिम भएको क्षेत्रमा लगानी गर्न मिल्दैमिल्दैन । अहिले त सल्भेन्सी मार्जिन लागू भइसकेको छ । जोखिम क्षेत्रमा लगानी गर्ने वित्तिकै सल्भेन्सी मार्जिन घटेर तल आउने हुन्छ । लगानीको विषयमा सबै बीमा कम्पनीहरु मिलेर एउटा ज्वाईन्ट भेन्चर बनाएर अघि बढौं । त्यसरी अघि बढ्दा सबै बीमा कम्पनीहरुलाई मुनाफा दिन्छ । यस्तो अभ्यासले बीमितलाई धेरै फाइदा हुन्छ । आम्दानीमा समानता भएपनि कम्पनीले दिने बोनस दरमा पनि करिब करिब समान जस्तै हुन्छ । अनि कम्पनीपिच्छे फरक फरक बीमा शुल्कको अभ्यास हट्छ । अहिले एउटा बीमाङ्कको लागि कम्पनीपिच्छे फरक फरक बीमाशुल्क छ । ज्वाईन्ट भेन्चरमा लगानी गर्दा त्यस्तो अवस्थालाई घटाउन मद्दत गर्छ ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र र नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने भन्ने चर्चाहरु चलिरहेका छन् । नेपालका १९ वटै जीवन बीमा कम्पनीहरुले लगभग शतप्रतिशत लगानी बैंकहरुमै छ । बीमा कम्पनीहरुको लगानी डुब्ने चिन्ता कत्तिको लाग्छ ?

नेपाली बैंकहरु त्यतिधेरै जोखिमयुक्त छ जस्तो लाग्दैन । अहिले बैंकहरुमा दुई वटा समस्या देखिएको छ । एउटा क्रेडिट नहुने र अर्को लेण्डिङ उद्योगहरुमा ट्रान्जेक्सनको समस्या । नेपाली बैंकहरु सेफ जोनमै छ जस्तो लाग्छ । मैले नेपाली बैंकहरुले धितोमा मात्रै कर्जा प्रवाह गरेको हुनाले सुरक्षित छ भन्न खोजेको हो । तर, हाम्रो चिन्ता बैंकको लगानी डुब्छ भन्ने भन्दा पनि बैंकले ब्याजदर कम दिएका कारण हाम्रो प्रतिफल न्यून हुन जाने कुराले चिन्तित तुल्याएको छ । बैंकको ब्याजदर घट्दा वा बढ्दा जनताले पत्याउँछन् । बीमा कम्पनीहरुको बोनसदर घटबढको अभ्यास अहिलेसम्म भएको छैन । बैंकले ब्याजदर धेरै नै घटाए भने हामीले यसअघि बीमा पोलिसी बिक्री गर्दा गरेको बाचा पूरा नहुने हो कि भन्ने चिन्ता छ ।

तपाईको आशय बैैंकमा मुद्दति निक्षेपमा रहेको रकम झिकेर लगानी र आम्दानी सुनिश्चित भएका क्षेत्रमा लगानी गरौं भन्ने हो ?
झिकेर भन्नुभन्दा पनि अब पोर्टफोलियो म्यानेज गरौं है भन्न खोज्या हो । बीमा क्षेत्रको तीन खर्बभन्दा बढि पैसा बैंकमा छ । त्यसको ३० प्रतिशत झिकेर जहाँ १५ प्रतिशत वा सो भन्दा माथि दीर्घकालिन रुपमा प्रतिफल लिन सकिन्छ । त्यता लगानी गरौं भनेको हो । त्यो शेयर हुनसक्छ, हाईड्रोपावर हुनसक्छ, भौतिक पूर्वाधार हुनसक्छ, अब रणनीति बनाउनुपर्छ । सम्पत्ति दायित्व मिसम्याच पनि ठूलो समस्या हुनसक्छ है भनेर मैले भन्दै आएको छु । हामीले लिने दायित्व दीर्घकालिन, हाम्रो लगानी अल्पकालिन भयो भने भोलिका दिनमा यसले समस्या निम्त्याउन सक्छ ।

कोरोना महामारीले समाज र जनताको दैनिकीलाई भताभुङ्ग बनाउँदै लगेको छ, आगामी दिनमा बीमितहरुले बीमा शुल्क तिर्नै नसक्ने अवस्था पनि आउन सक्छ, यसबारे के धारणा छ ?
परम्परागत व्यापारको शैली अपनाएका सबैलाई कोरोनाले हल्लाईदिएको छ । बीमितहरुको समग्रतामा अध्ययन गर्दा ७० प्रतिशत बीमितले अण्डर इन्स्योरेन्स गर्नुभएको छ । त्यसैले अण्डर इन्स्योरेन्स गरेकाहरुलाई समस्या पर्छ जस्तो लाग्दैन । यही कारणले बीमाको शुल्क तिर्न नसकेमा कुनै उपाय त पक्कै निकाल्नुपर्छ । बीमाङ्क रकम संशोधन गर्न मिल्ने बीमाहरु बाहिरतिर प्रयोगमा छन् । नेपालमा आजसम्म त्यस्तो अभ्यास भएको छैन । हरेक संकटले नयाँ कुरा जन्माउँछ । भविष्यमा त्यस्ता बीमा पनि नेपालमा आउन सक्ला । अहिलेको लागी भने बीमितले ऋण लिन पाउने अर्को व्यवस्था पनि भएको कुरा जानकारी गराउँदछु । बीमितले बीमा शुल्क तिर्न मात्रै होइन, ठूलो रकमको बीमा गरेको थियो । केही लाख बीमा शुल्क भुक्तानी गरिसकेको छ भने सरेण्डर भ्यालुको आधारमा ऋण लिएर आफ्नो काम वा पेशा व्यवसायलाई सहयोग गर्न पनि सक्छन् ।

तपाई यहाँ आठ वर्ष सिईओ भएर काम गर्नुभयो । अब यही महिनाबाट विदा लिँदै हुनुहुन्छ । बीमा अभिकर्ता र बीमितलाई के भन्न चाहनुुहुन्छ ?
यहाँ काम गर्दा केही मान्यताहरु स्थापित गरेको थिएँ । केहीले मलाई सोध्छन्, नेपाल लाईफको ब्राण्ड एम्बेसडर को हो ? कहाँ छन् ? मैले जवाफ दिने गरेको छु– नेपाल लाईफका ४० हजार अभिकर्ता सबै ब्राण्ड एम्बेसडरहरु हुन् । यो मैले यत्तिकै भनेको होइन । विश्वमा जहाँ–जहाँ बीमा व्यवसाय हुन्छ, त्यो पहिलो व्यवसाय बीमा अभिकर्ताको कारणले गर्दा हुन्छ । अभिकर्ताको विश्वासको कारणले बीमा भइरहेको हुन्छ । अभिकर्ता भनेको यस्ता प्रोफेशनल हुन् जसले कम्पनीको ब्राण्डलाई सेवाग्रही कहाँ पुर्याएर झल्झल्ती आँखा अगाडि झल्काई दिन्छन् । उहाँहरुले पुलको काम गर्नु  हुन्छ । सारा, विश्वास, सारा ध्यान अभिकर्तामा छ । अभिकर्ताको बानी, चालचलन, व्यवहार नै मूल कुरा हो जीवन बीमामा , बीमा अभिकर्ताहरुले अल्पकालभन्दा पनि बीमितले सधैं सम्मान गर्ने अवस्थाको विकास गर्न सक्नु नै कम्पनी र बीमा अभिकर्ताहरुको सफलता हो । हामी अभिकर्ता भएर काम गर्दा आफ्नो छोराले पनि भोलि यही प्रोफेशन अंगालोस भनेर उदाहरणीय काम गर्यौं भने मलाई लाग्छ अरु केही गर्नुपर्दैन । यसले  बीमा व्यवसायलाई अझै दरिलो जग गाड्छ ।

अहिले बीमाको जनचेतना बढेको छ । कसैलाई बचत मन पर्ला, कसैलाई जोखिम बहन भएको मन पर्ला ? कसैलाई पेन्सन प्लान मनपर्ला, कसैलाई बाल बीमा मन पर्ला, त्यसैले बीमितले कुन बीमा पोलिसी लिने भनेर छानेर लिने बानी बसाल्न सक्यौं भने पक्कै पनि भविष्यमा अप्ठेरो पर्दैन । बीमा अभिकर्ताहरुले तपाई कहाँ आउनुभयो भने, समय छ भने, उहाँको कुरा सुनिदिनोस् । अभिकर्ताहरु आफ्ना लागि मात्रै तपाईकोमा आउनु भएको होइन, तपाईको लागि पनि हो । अभिकर्ताहरुसँग तपाईले स्वास्थ बहस गर्न सक्नुहुन्छ । मन लागे बीमा पोलिसी लिनुस् मन नलागे नलिनुस् । अभिकर्तालाई सबै कुरा सोधौं, कुरा बुझेर मात्रै बीमा गरौं । आज नेपाल लाईफको राम्रो देखेर नै होला धेरै बीमितहरु हामी कहाँ दोहोर्याएर बीमा गराउँदै आउनु भएको छ । यसको अर्थ हामी बीमितको मन जित्न सफल भएका छौं भन्ने अनुभूति हुन्छ ।

नेपालको बीमा उद्योगमा तपाईले १० वर्ष बिताउनुभयो । कम्पनीलाई पहिलो बनाउनुभयो । २०६९ सालमा फुच्चे सिईओ भनेको आजसम्म ताजा स्मरण गर्दै हुनुहुन्छ । तपाई यहाँबाट  विदा हुँदै गर्दा नेपाली बीमा क्षेत्रले तपाईबाट अनुशरण गर्नुपर्ने, तपाईबाट सिक्नुपर्ने केही छ कि ?
करिब १० वर्ष मैले नेपाल लाईफमा बिताए । चार्टर्ड एकान्टेन्ट थिए म । नेपाल लाईफमा आउँदा समकालिन सिईओहरुको तुलनामा निकै कान्छो थिए । अहिले केही सिकेर बाहिर निस्कदैछु । यसबीचमा मैले सिकेको कुरा कामलाई सामान्यकरण गर्ने नै हो, ‘मेक सिम्प्लीफाई योर जब’ । पहिलो आफ्नो कामलाई चिन्नुस् । बीमा कम्पनीमा काम गर्दै हुनुहुन्छ भने फण्डामेन्टल कुरा इन एण्ड आउट थाहा हुनुपर्यो । ठूलो शब्दहरु प्रयोग भन्दा जसरी पनि तपाईले फिल्डमै काम गर्नुछ भने सामान्यकरण गर्नुस् । यसको भ्यालु चेन बनाएर अध्ययन गर्दा झनै रााम्रो हुन्छ । त्यस्तो प्रोडक्ट बनाउनुस्, जसले बनायो, उसैलाई किनौ किनौ लागोस् । त्यसपछि प्रोडक्ट लिएर जाने अभिकर्ता हो । अभिकर्तालाई त्यो प्रोडक्टबारेमा राम्रोसँग थाहा हुनुपर्यो । अभिकर्तालाई विश्वास दिलाउन सक्नुपर्यो । अभिकर्तालाई मैले प्रोमिश गरेर बिक्री गरेको बीमा भोलिका दिनमा अप्ठेरो पर्दैन भनेर अभिकर्ता आफै पनि ढुक्क हुनुपर्यो । युवा पुस्ताहरुलाई भन्ने गरेको छु ‘जे पढ्छौं, त्यो चिजलाई व्यवहारमा उतार्नलाई पढौं, ता कि परीक्षामा नम्वर ल्याउनको लागि होइन ।’ हामी सबैले आ–आफ्नो काम बाँडफाँड गर्यौं । अनि त्यसलाई सिम्प्लीफाई गर्यौं । दैनिक टार्गेटमा हामीले कामा गर्यौं । त्यसो भयो भने असार मसान्तमा मात्रै व्यापार गर्न दौडधुप गर्नुपर्दैन ।

बीमाको पहुँचमा ठूलो बृद्धि भएको छ, जनचेतना व्यापक बृद्धि भएको छ, जीवन बीमा क्षेत्रमा झण्डै आधा खर्ब पुँजि सहित परिचालित भएका छन् । नेपाली जीवन बीमा क्षेत्र नयाँ युगमा प्रवेश गर्न लाग्दैछ भनेर भन्न मिल्छ ?
नेपाली बीमा व्यवसायको टर्निङ प्वाईन्ट सुरु भइसकेको छ । विगत पाँच वर्षको तथ्याङ्कमा जम्प नै भएको देखिन्छ । नयाँ कम्पनीहरु थपिए । त्यसले गर्दा बजारमा सकारात्मक तरंग पैदा भएको छ । दुर्भाग्यवश अहिले कोभिडका कारण केही फरक परेको छ । यदि कोभिड नभइदिएको भए यही वर्ष जुन चित्र देख्नुहुन्थ्यो, त्यो चित्रले नेपाली बीमालाई नयाँ युगमा पुर्याउनेवाला थियो । व्यापार मात्रै गर्नु ठूलो कुरो होइन । यसलाई बलियो पारेर जानुपर्दछ । एउटा सानो विश्वासमा धक्का लाग्यो भने त्यसले सिंगो व्यवसायलाई भत्काई दिन्छ । सबै साथीहरुलाई मेरो आग्रह के छ भने आजको व्यापारको लागि गलत बाचा नगरौं । तपाईले गरेको गलत बाचाले भविष्यमा सिंगो क्षेत्रलाई ध्वस्त पार्छ । यति मात्रै भइदिएन भने भोलिको दिनमा नेपाली बीमा क्षेत्रको भविष्य सुन्दर छ ।

अन्त्यमा …….
यो क्षेत्रमा काम गर्दा एकदमै रमाइलो भयो । हामीले कहिले पनि टप डाउनको एप्रोचबाट काम गरेनौं । पूर्ण लोकतान्त्रिक विधिबाट परिचालित भयौं र काम गर्यौ  । कतिपय अवस्थामा बटम अप्रोचमा पनि काम गर्यौं । तलबाट टार्गेट लिएर पनि काम गर्यौं । टार्गेट लिने छोडिदिने काम गरेनौं । उसले त्यो काम कसरी गर्न सक्छ भने साईड साईबाट सहयोग गरिरह्यौ । आजसम्म आईपुग्दा हिजोभन्दा अलि बढि सिक्न पाएको, केही जानेको अनुभूति भएको छ । नेपाल लाईफ आज ३० प्रतिशत बजार हिस्सा लिएर उभिएको छ । नेपालभन्दा बाहिर नेपाल लाईफ इन्स्योरेन्स उदाहरण लिँदै चर्चा गर्ने अवस्थामा छ । हाम्रो एजेन्सी मोडल र प्रोडक्ट विश्वकै नाम चलेका कम्पनीहरुले मनपराएको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्ससँग काम गरेर यहाँ आईपुग्दा मेरो जीवनबाट बीमा अब हट्छ जस्तो लाग्दैन । ३७ वर्षमा सिईओ भएर ४७ औं वर्षमा विदा हुँदैछु । बीमा क्षेत्रमा कही न कही मेरो भूमिका हुन्छ जस्तो लाग्छ । समग्र बीमा उद्योगको तर्फबाट भन्दा नेपाली जीवन बीमा नयाँ युगमा प्रवेश गर्दैछ । नीति निर्माता, नियमनकारी निकाय बीमा समिति र हामी कम्पनीहरु मिलेर जीवन बीमा उद्योगलाई नयाँ उचाईमा लैजाने तयारीमा अब जुट्नुपर्छ । वित्तीय क्षेत्रको नेतृत्व गर्ने भनेको सधैं बीमा कम्पनीहरुले हो, त्यो दिन छिट्टै आओस् । सबै एकजुट बन्यौ भने सम्भव छ ।

बीमा क्षेत्रमा एकदमै दक्षजनशक्तिहरु हुनुहुन्छ । सहकर्मी दाईहरु, साथीहरु हुनुहुन्छ । नयाँ युवापुस्ता पनि धेरै प्रवेश गरेका छन् अहिले । टिमवर्क, समन्वय र परिचालन नै मुख्य कुरा हो । लगानीकर्ताहरुको तर्फबाट बोर्ड हुन्छ । बोर्डले सपना देखेको हुन्छ । त्यो बोर्डले देखेको सपना पूरा गर्ने दिशामा काम गर्नु हाम्रो कर्तव्य हुन्छ । त्यसबाट पनि मैले धेरै कुराहरु सिक्ने मौका पाए । फिल्डमा खटिनुभएका अभिकर्ताहरुबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए । सहमकर्मी साथीहरुबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए । त्यस्तै प्रधतिस्पर्धी कम्पनीहरुबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए । अनि बीमा समितिबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए । सबैप्रति आभारी छु ।

भिडियो हेर्न यँहा क्लिक गर्नुहोला

 

तस्विरहरुः रोशन  ति.खत्री

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार