नेपालमा मोटर बीमा र नक फर नक प्रावधानः एक समीक्षा

Citizen Life Insurance Co

विरोध भट्ट

मोटर बीमामा सामान्यतयाः दुई प्रकारको जोखिमको सुरक्षण प्रदान गर्ने गरिन्छ । स्वयं क्षति (Own Damage) वा तेश्रो पक्ष क्षति (Third Party Loss)। नेपालमा मोटर बीमाको हकमा तेश्रोपक्ष बीमा अनिवार्य रहेको छ । नेपालमा यातायात क्षेत्रमा हुने दुर्घटना र त्यसको कारणले उत्पन्न हुने दायित्व हेर्ने हो भने प्रायः कुन सवारी साधन पक्षको दुर्घटनामा दोष रहेको छ भनि अनुसन्धान हुने, अभियोजन हुने र त्यसकै आधारमा कुन पक्षको दायित्व हुने अर्थात कसले क्षतिपूर्ति व्यहोर्ने भनि निक्र्यौल हुने गरेको देखिन्छ, कारण, दुर्घटना बीमाको विषय मात्र नभई यातायात सम्बन्धी प्रचलित कानूनको पनि विषय रहने गर्दछ ।

दुर्घटनाको प्रकृति, प्रमाण र साक्षी आदिको आधारमा सवारी साधनको दोष प्रमाणित हुने गर्दछ, तर कहिले काँही प्रष्ट रुपमा कसको दोष रहेको छ भनि पुष्टि नहुन पनि सक्दछ वा पुष्टि हुन लामो समय लाग्ने सम्भावन पनि रहँदछ । बीमाको क्षेत्रमा यस्तो अवस्थालाई सम्बोधन गर्न ‘नक फर नक’ सिद्धान्तको विकास भई प्रायः मुलुकहरुमा यो सिद्धान्तको प्रचलन रहेको देखिन्छ । Collins English Dictitonary को नक फर नक सम्बन्धी परिभाष हेर्ने हो भने “An agreement between vehicle insurers that in the event of an accident each will pay for the damage to the vehicle insured with them without attempting to establish blame for the accident” भनि उल्लेख भएको देखिन्छ । अर्थात, मोटर बीमा गर्ने बीमकहरु बिचको यस्तो सम्झौता जस अनुसार सवारी साधनहरु दुर्घटना भएमा कुन बीमकमा बीमा भएको सवारी साधनको दोष रहेको छ भन्ने तथ्य स्थापित गर्नुको सट्टा प्रत्येक बीमकले आफूले बीमा गरेको सवारी साधनको क्षति बापतको रकम भुक्तानी गर्नुपर्दछ भन्ने बुझिन्छ । यो सिद्धान्त अनुसार कस्को दायित्व रहन्छ भनि प्रमाणित गरी रहनुपर्दैन ।

अर्को कुरा, नक फर नक सम्झौता वा सिद्धान्तको प्रयोग मोटर बीमा अन्तर्गत ओन ड्यामेज (Own Damage) सुरक्षण भएको अवस्थामा मात्र लागू हुने गर्दछ (नेपालमा व्यापक बीमालेख खरिद गरेको अवस्थामा ओन ड्यामेज कभर हुने गर्दछ) । तेश्रोपक्ष बीमा मात्र खरिद गरेको अवस्थामा बीमितले आप्mनो बीमकसित आफ्नो सवारी साधनको क्षतिको दावी गर्न मिल्दैन, मात्र आफ्नो सवारी साधनले तेश्रो पक्ष व्यक्ति वा सम्पत्तिलाई पुर्याएको नोक्सनीको हकमा मात्र दावी गर्न मिल्दछ ।

नेपालमा ‘नक फर नक’ सम्बन्धी व्यवस्थाको अध्ययन गर्दा यूरोपियन मुलुक, अमेरिकी मुलुक साथै भारतमा प्रचलनमा रहेको व्यवस्थाबाट प्रभावित भएको भएतापनि केही फरक ढंगले व्यवस्था भएको देखिन्छ । अन्य मुलुकमा यो व्यवस्था बीमकहरुको बिचमा सम्झौता भई प्रयोगमा आएको हुन्छ भने नेपालमा बीमाको नियमनकारी निकाय बीमा समितिबाट जारी मोटर बीमा सम्बन्धी निर्देशिका, २०७३ मै उल्लेख भई बीमकहरुलाई बाध्यकारी रुपमा लागू भएको देखिन्छ । नेपालमा नक फर नक बीमकहरु बिचको सम्झौताको विषय नभई नियमनकारी निर्देशनको रुपमा रहेको छ र बीमकहरुले निर्देशिकामा उल्लेख भए अनुरुप पालना गर्नुपर्ने देखिन्छ ।

निर्देशिकाको परिच्छेद २ को २.१३ मा नक फर नक सम्बन्धी व्यस्था रहेको छ । निर्देशन २.१३ को बुँदा नं.१ मा ‘बीमा भएको सवारी साधनहरु एक आपसमा ठोक्किई दुर्घटना भएमा बीमकहरुले आ-आफ्नो सवारी साधन बनाउनुपर्नेछ ………’ भनि नक फर नकको परिभाषा र कुन अवस्थामा यो व्यवस्था लागू हुने भनि व्याख्या भएको देखिन्छ । तर, सोही निर्देशनको ५ नं.बुँदामा “एक आपसमा ठोक्किएका दुई सवारी साधनहरु मध्ये एकको बीमा नभएको अवस्थामा बीमा भएको सवारी साधनको क्षतिपूर्ति दिने प्रारम्भिक दायित्व बीमा भएको सवारी साधनको बीमकको हुनेछ । यस दुर्घटनामा बीमा नभएको सवारी साधन दोषी ठहरिएमा आफ्नो बीमितको क्षति भुक्तानी गर्ने बीमकले त्यस्तो क्षति बीमा नभएको सवारी साधन धनीसँग असुल उपर गर्न बीमितमार्पmत वा बीमितको सहयोगमा कानूनी कारवाही गर्नुपर्नेछ ….” भन्ने प्रावधान उल्लेख भएको देखिन्छ । यद्यपी, यो प्रावधान बीमाको सर्वमान्य सिद्धान्त Principle of Subrogation अर्थात प्रतिस्थापनाको सिद्धान्त को विषय रहेको देखिन्छ । नक फर नक, निर्देशनमा उल्लेख भएजस्तो बीमा नभएको अवस्था र बीमा नभएको सवारी साधन धनीसित असुल उपर गर्ने अवस्थामा लागू हुने होइन । साथै, यो प्रावधान निर्देशन २.१३ को १ नं.बुँदामा उल्लेख भएको परिभाषासँग र ‘नक फर नक’ सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र परिभाषासँग समेत मिलेको देखिंदैन, किनकी ‘नक फर नक’ सिन्द्धाततः ओन ड्यामेज सुरक्षणका सवारी साधनको हकमा उत्पन्न हुने हो, बीमा नभएका सवारी साधनको हकमा यस्को प्रयोग हुने होइन ।

त्यसैगरी, निर्देशन २.१३ को बुँदा नं.२ मा ‘दुईवटा बीमित सवारी साधनको संयुक्त दुर्घटनाको कारणले तेश्रोपक्ष प्रतिको दायित्व सिर्जना भएको तर प्रमाणित नभएको अवस्थामा बीमितले प्रथम पटक रोजेको बीमकसँग दावी गर्न पाउने छ र त्यस बापत उक्त बीमकले तेश्रो पक्षलाई नियम अनुसारको क्षतिपूर्ति गरी सो बापत समानुपातिक हिसाबले आधा रकम अर्को बीमकसँग शोधभर्ना लिनु पर्नेछ’ भनि उल्लेख भएको देखिन्छ । नक फर नक सिद्धान्तको प्रयोग बीमा भएको सवारी साधनहरुको ओन ड्यामेज सुरक्षण भएको अवस्थामा त्यस्तो बीमित सवारी साधनहरुमा भएको क्षतिको हकमा आफूले बीमा गरेको बीमकले आ-आफ्नो बीमितलाई भुक्तानी गर्ने हो । निर्देशिकाको यो प्रावधानले तेश्रो पक्ष प्रतिको दायित्वको पनि व्यवस्था गरेको देखिन्छ, जुन नक फर नक सिद्धान्त अनुकुल देखिदैंन । तेश्रोपक्ष क्षति हुँदा जहिले पनि कस्को गल्तिको कारण क्षति भएको हो त्यसकै आधारमा दायित्व उत्पन्न हुने हुन्छ, किनकी, तेश्रो पक्ष दायित्व कानूनी दायित्व अन्र्तगत पर्दछ । नक फर नकको कानूनी दायित्व सित कुनै सम्बन्ध रहेको हुँदैन ।

साथै, निर्देशनमा उल्लेख भएको “समानुपातिक हिसाबले आधा रकम……” भन्ने व्यवस्था बीमाको 50:50 split liability Agreement अन्तर्गत पर्दछ, जुन नक फर नक सिद्धान्त भन्दा नितान्त फरक सिद्धान्त हो । जस अनुसार सवारी दुर्घटनामा दोषी पक्षलाई दावीकर्ताले मुद्दा गरेको अवस्थामा दावीकर्ताको पनि दुर्घटना हुनुमा कुनै भूमिका भएमा contributory negligence दावीकर्ताले पनि केही दोयित्व व्यर्होनुपर्ने हुन्छ । नक फर नक सम्बन्धी प्रावधानमा यो सिद्धान्तको प्रयोग गर्न मिल्ने होइन ।

समग्रमा, मोटर बीमा निर्देशिकाको नक फर नक सम्बन्धी खण्डमा उल्लेख भएका व्यवस्थाहरु बीमाको प्रचलित सिद्धान्त र अभ्यास अनुरुप नै रहेको देखिन्छ तर माथि विवेचना गरिएको हदसम्म नमिलेपनि यसलाई नेपालको मौलिक बीमा अभ्यासको रुपमा लिन सकिन्छ ।

यसरी, नेपाली बीमा क्षेत्रमा नक फर नक सम्बन्धी व्यवस्थालाई कानूनी मान्यता दिएको कार्यलाई सराहनीय मान्नुपर्दछ । उक्त सिद्धान्त सम्बन्धी व्यवस्थाहरु समय सापेक्ष मुलुकको यातायात सम्बन्धी कानून, क्षतिपूर्ति सम्बन्धी सिद्धान्त तथा कानूनी प्रावधान र बीमा क्षेत्र तथा कानूनमा उत्तम स्थान हासिल गरेका मुलुकहरुमा रहेको व्यवस्था अनुरुप प्रष्ट र दुविधा रहित हुन अपरिहार्य रहेको यथार्थताबारे समीक्षा गर्न सबै पक्ष खुल्ला छन् ।

(भट्ट बीमा समितिका उपनिर्देशक (कानुन) हुन । प्रस्तुत लेख निजि विचार हो, यस लेखमा प्रस्तुत भएका विचारले बीमा समितिको प्रतिधित्व गर्दैन ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार