मृत्युको सपनापछि बल्ल ब्यूझियो सुमन

1284

–सौरभ ढकाल

छोरो मोबाइलमा गेम खेल्दै साथीसँग (सौगात रिभाईभ गर्देउन रिभाईभ गर्देउन भन्दै) चिच्याउदैछ । साँझको बेला पुजा कोठाबाट घण्टी बज्दै गरेको आवाजसँगै मिश्रित भएर अगरबत्तिको सुगन्ध समेत आइरहेको छ । उता, भान्सा कोठामा साग ओइरिदै गरेको चुस्स चुस्स आवाज अनि खोस्रानी मिश्रित तेलको खार दुवैले उसलाई खासै फरक पार्न सकेको छैन ।

उ एक्कासी उसकी श्रीमतीले ल्याएका चियाको कप तिर एकोहोरीएर हेर्दा हेर्दै श्रीमतीको झक्झकाइले भने एक्कासी सतहमा आइपुग्छ । खोर्सानीको खारले होला सायद छोरो खुक्क खुक्क गर्दै भएपनि उसको साथी सौगातलाई रिभाईभ हान्देउन भन्न भने छोडेको छैन ।

ए हजुर के भयो हजुरलाई सन्चो भएनकी क्या हो ? श्रीमतीको चिन्ता लिएको शब्द शब्दमा भरिएको मायाको मिठास अनि प्रत्येक शब्दको उच्चारणमा महसुस हुने उसको श्रीमतीको बोलीमा मात्र उसैको लागी फिक्रीयुक्त मिठो तरङ्ग……

सासूतर्फ सकेत गर्दै श्रीमतीले भन्छिन्,
‘आमा हेर्नुस न आज वहाँको व्यवहार अनौठो अनौठो भएको छ । चिया सेलाएर सर्वत भैसक्यो न त वहालाई चियाको मतलव छ न त केहि बोल्नु नै भएको छ, खाली रुन्चे अनुहार बनाएर टोलाई राख्नु भाको छ ।’

आमाले निधार छाम्दै,
‘बावु के भयो तलाई’ आमाले भावुक हुँदै चिन्तायुक्त शैलीले निधारबाट माथितिर कपाल समेत मुसार्दै ममतामय भावमा गरेको फिक्रीयुक्त प्रश्नले भने उस्को आँखा रसाउन कति पनि समय लागेन । मनमा निकै नै चोट बोकी उदास भएर बसेको उसको आँखाबाट आँशु बग्छ ।

उता, सात बर्षिय छोरा सौगात भने पब्जीमा रमाउँदैछ ।

‘तिमी काउण्टर अट्याक गर म ब्याक कभरेज गर्छु आज चिकेन डिनर गर्नै पर्छ ।’ साथीसँग खेल रणनीति आदान प्रदान गर्दैछ ।

चड्याङ्ग चड्याङ्ग, गरेको आवाजले माहोललाई झनै शान्त बनाउन मद्दत गर्छ । सायद श्रीमानको अस्वभाविक अनि आकस्मिक परिवर्तित व्यवहारले गर्दा चिड्चिडिएर होला छोराले गेम खेलेर रमिरहेको चित्त नबुझेको । बिचरा छोरो हजुरआमाको सिफारिसले बल्ल तल्ल मोबाइल चलाउने अवसर जुराएको थियो तथापी माहोल चै मोबाइल चलाएर साथीसँग इत्तरीने नहुन सक्ला..

उसले छोराको मोेबाइल थुतेर आफुसँग राख्छ । मोबाइल वाला इलम खोसिएपछि पाएको दुई झापड पारिश्रमिकले एकछिन अध्यारो बनाएपनि हजुरआमाको काखमा पल्टिरहेको बाबालाई अलिक उत्सुकताका साथ हेर्दै नजिक आएर हजुरआमा र बावुको भलाकुसारी सुन्ने अनी बुझ्ने कोशिस गर्दछ ।

बिस्तारै छोरालाई आफु तिर तानेर मोइ खाँदै आफ्नो ८ बर्षे छोरालाई उसले सोध्छ । बाबाको माया लाग्छ बाबु ? धेरै समय निन्याउरीएपछि उस्ले बोलेको पहिलो वाक्य….धेरै लाग्छ । कती धेरै ? मोबाइलमा खेल्ने गेम भम्दा पनि धेरै ?
‘उम्म ! ढेरै लाग्छ । आकाश भन्दानी ढेरै ।’

छोराको हल्का तोते तोते जस्तो बोलीले उसलाई केही हल्का बनाउछ । भित्रबाट साग पकाई वरि भान्सा तयार बनाएर श्रीमानले देखाएको अघिको रमिता बिचार गर्न श्रीमती पनि आइ पुग्छिन् ।

के भयो छोरा भन् त नढाटी….अमाले प्रश्न तेर्साउन कतिपनि बेर लाउनु हुन्न….

खै काबाट सुरु गरोस बिचरा ! के भनोस ? अनि कसरी भनोस ? सासलाई अलि भित्र तानेर घाँटीमा किक्क हुनेगरी रुन आँटेको रुन्चे श्वरमा बलिन्द्रधारा आँसु बगाउन थाल्छ । केही बोल्दैन ।

केही बेरपछि बोल्यो सुमन, आमा ! नितिन रहेन !

उसले संसार त्यागेर गयो । घाटमा लगिसकेको छ अरे भनेर फोन आएको थ्यो । हुन त रगतको नाता भनेको सबै भन्दा नजिक अनि गाढा नाता मानिन्छ तर भावनात्मक नाता पनि रगतको नाता जति नै गाढा अनि आत्मिय हुने रैछ भन्ने कुरा पल–पल अनि झलझल धेरैले अनुभव गरिआएको कुरा हो । हामी खाली आयौँ अनि खाली नै जान्छौ भन्ने कुरा सबैले बुझेका छौ… तर रित्तो आएका हामी परिवारमा हर्ष र उमङ्ग लिएर आयौँ र जाँदा भरपुर याद अनी कति तिता मिठा अनुभव र आत्मीय साथ छौड्दै कैयौँ रहस्य आफुसँग साथै लिएर जान्छौ । सायद यो नै प्रकृतीको नियम हो । सायद प्रकृतिलाई यहि नै चाहिएको थियो ।

मोटर साइकललाई टिपरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएछ …. घाटमा गाइगुइ गरेको सुनिन्छ…. आँखाभरी आँशु लिएर घाटमा पुगेको सुमनले अब कसरी नितिनका परिवारसँग भेट्ने ? अनी अब कसरी के भनेर सम्झाउने सुमन आफैले आफुलाई कसरी सम्झाउने बियोगान्तको कठिन चुनौती थियो….. भर्खरै नितिनले त्यत्रो ऋण काढेर बनाएको घरको ऋण अब कसरी तिरिसक्ने होला ? नितिनको परिवारले… त्यसमा मेरो भुमिका के होला ? जे हुन्छ–हुन्छ तत्काल मैले मन दरो बनाउनै पर्छ…म रुने छुइन….म सबैलाई सम्झाउने छु….। मन मनै यस्ता अनगिन्ती कुरा हरु खेलाउँदै चितामा सुतिरहेका नितिन नजिकै पुग्छ । उ कराइ रहेको हुन्छ ..उसलाई कसैले घचघचाई रहेको हुन्छ ..ए हजुर के भयो किन कराउनु भएको..ए हजुर…उ चिच्याई नै रहन्छ….. छोड मलाई त्यो उठ्छ … तेस्ले मैले भनेको मान्छ … म उठाउछु त्यसलाई भन्दै बरबराई नै रहन्छ …. कस्ले मलाई यो भिडमा हजुर भन्दैछ… उस्ले रियलाइज गर्न खोज्छ …त्यो आवाज सँगसँगै उ झल्यास्स हुन्छ… उस्की श्रीमती लाई एक्कासी अँगालो हाल्छ…

उ सपनाको संसार बाट बिपनामा आउँछ… अघिको घाटमा भएका मान्छेहरु सबै बिलाउछन् …. घाट पनि बिस्तारै आँखाबाट हराउँदै जान्छ उसको अगाडी उसकी श्रीमती मात्र हुन्छिन् । उसको मुख सुकेर खडेरीमा बञ्जर भएर चिरा परेको खेतको गरा जस्तै भएको हुन्छ । पानी पानी उस्ले होसमा आउने बित्तिकै पानी पिउने मनसाय व्यक्त गर्छ ।

घुटुक घुटुक पानी पिउदै गरेको आवाजले पनि रातको सुन–सानमा राम्रै गुन्जिने अवसर पाउँछ । त्यसपछि उस्ले मोबाइल खोज्छ र रातको २ बजे नै नितिनलाई फोन गर्छ…पहिलो पल्ट घण्टि पुरै बज्छ तर फोन उठ्दैन… श्रीमती अचम्म मानेर भन्छिन.. रातीराती के डिस्टर्व गर्नुभएको होला ?

एकछिनमा मोबाइलमा फोन बज्छ…नितिनले कलब्याक गरेको हुन्छ । फोन उठाउने बित्तीकै

सुमन बोल्छः ओइ सुन त्यो हिजो बेलुका भेटेको जिवन बीमा कम्पनीको अभिकर्ताको मोबाइल नम्वर त छ नी त सँग ?
नितिनः अँ छ, मेरो सालो पर्छ भन्या थिएँ त मैले तलाई..
सुमनः ए..भोलि त्यस्लाई भेटेर तेरो र मेरो जिवन बिमा गरौँ यार….
नितिनः (फोनमा खित्का छोडेर हास्दै), त्यै भन्न यती राती फोन गरीस ?
हिजो त मेरो सालो केटोलाई बीमाको कुरै नगर भन्दै थिइस त…. बरु बैंकमा पैसा राख्छु तर बीमा गर्दिन भन्या होइन ?
सुमनः होइन यार बीमा जरुरी रैछ…. झन राम्रो कम्पनीमा बीमा गर्दा बचत पनी हुने रैछ । आफुलाई केही भैहाले परिवारलाई, केही नभए अवधी भुक्तानी पछि आफुसहित आफ्नो परिवारलाई, तेरो सालोेले कुन कम्पनीको नाम लिएको थ्यो अरे ? खै मैले बिर्सीए यार । भोलि बिहानै आउँछु तेरोमा…
नितिनः ल ल सुत राती–राती काँ बाट बीमाको भूत चढेछ, तलाई ।

भोलिपल्ट दुवै एउटा होटलमा सँगै बसेर चिया पिउदै गफ गर्छन् । सुमनले नितिनलाई सम्झाउदै भन्छ, ‘प्रायः आर्थिक हैसियतले मुख्य मानिने व्यक्ती पुरुष नै हुने गरेका कारण पनि पारिवारीक आवश्यक्ता इच्छा आकांक्षा पुरा गर्नुमा पुरुस्वार्थ जोडीएको हुन्छ । कुनै एउटा आवश्यक्ता पुरा गरेपछी जुङ्गामा ताऊ लाउनुको मज्जा अनी सन्तुष्टि नै बेग्लै हुन्छ । यो अर्थमा पारिवारमा आर्थिक रुपमा महत्वपुर्ण मानिने त्यो (मुख्य व्यक्ती) अविभावक हुन् । परिवारका अभिभावक सद्दे हुँदासम्म परिवारमा हत्त–पत्त आर्थिक संकट आउन सक्दैन । आइ हाले पनी केही न केही उपाय पक्कै निक्लिन्छ । मुख्य व्यक्तीले कवचको रुपमा परिवारलाई सुरक्षित बनाइरहेको हुन्छ । तर के हामीले कहिले यो कुरा सोचेका छौँ की परिवारको कवच मानिने मुख्य व्यक्तीलाई केही भै हाल्यो भने परीवारको के हुन्छ? के प्रत्येक मुख्य व्यक्तीले यो कुराको बिचार गर्नु भएको छ कि मेरो अनुपस्थितीमा म भइन भने मेरो परिवारको अवस्था के हुनेछ ?’

बीमा प्रति नितिन अझै संवेदनशिल थियो । नितिशले भन्छ, ‘बितेको १० बर्षमा करिब २२ हजार भन्दा बढी मान्छेहरुको सडक दुर्घटनामा परेर अप्राकृतिक मृत्यु भएको कुरा हामीले पटक पटक समाचार र सामाजिक सञ्जालमा देखेर पढेर अनी सुनेर पनी अन्जान झै रहेछौं । के हामी सडकमा यात्रा गर्दैनम र ? के हामी सार्वजनीक यातायातमा यात्रा गर्दैनम् र ? के हामीलाई केही हुन सक्ने सम्भावना छैन र ? के हामी जहाजमा यात्रा गर्दैनम् र ? एक पटक सबैले सोचम् …भरिसक्के हामी कसैलाई केही नहोस तर जिवन र मृत्युको फरक मिली सेकेन्डमा सीमित भएको तथ्य हामी सबैलाई थाहा छ त्यसैले राम्रो बीमा कम्पनी छानेर आफ्नो पारिवारिक दायित्व बुझि पारिवारिक दायित्व बरावरको जिवन बीमा गर्नुपर्ने रहेछ ।’

नितिशले बीमा गरौं भन्दा पनि सुमनले मानेको थिएन । दुवै जना एउटा सहकारीमा काम गर्दथे । असाध्ये मिल्ने हुनाले एक अर्काको सहमति बिना कुनै काममा दुवै अघि बढ्दैन थ्ये । समुनको एउटा वियोगान्तक सपनाले दुवै जना बीमा गर्ने निधो गर्दछन् ।

(लेखक ढकाल, नेपाल लाईफ इन्स्योरेन्स विराटनगर शाखाका उपप्रमुख हुन् ।)

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्