सम्पत्ति शुद्धिकरण निवारणमा बीमा कम्पनीहरुको भूमिका

2010

पुजन ढुंगेल अधिकारी । गैरकानुनी तरिकाबाट प्राप्त गरिएको सम्पत्तिको प्रारम्भिक श्रोत लुकाउनु वा छल्नु वा उक्त कसुरमा संलग्न ब्यक्तिलाई कानुनी कारवाहिबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रुपान्तरण वा हस्तान्तरण गर्ने कार्य सम्पत्ति शुद्धिकरण अन्तर्गत पर्दछ ।

अवैध हातहतियारको बिक्री, लागू औषधको कारोबार, भ्रष्टाचार, मानव तस्करी, जनावरको तस्करी, राजस्व छली, क्यासिनो, फिरौति, घुस खोरी आदिबाट प्राप्त गरिएको सम्पत्तिको प्रारम्भिक श्रोत लुकाई उक्त सम्पत्तिलाई वित्तीय प्रणालीमार्फत बैध बनाउनु नै सम्पत्ति शुद्धिकरण सम्बन्धी क्रियाकलाप गर्नेहरुको मुख्य उद्देश्य हो । सम्पत्ति शुद्धिकरण सम्बन्धी कृयाकलापहरुको पहिचान गरि उक्त कार्यमा संलग्न ब्यक्ति (प्राकृतिक र कानुनी) लाई कानुनी दायरामा ल्याउनु नै सम्पत्ति शुद्धिकरण निवारण गर्नु हो ।

कालो धन (गैरकानुनी ढंगले प्राप्त धन) लाई सेतो धन (कानुनी रुपमा बैध) मा परिणत गर्ने प्रयोजनको लागि वित्तीय क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र रहेको छ । वित्तीय क्षेत्रहरु मध्ये बैंकिङ्ग क्षेत्र सम्पत्ति शुद्धिकरण गर्ने प्रयोजनका लागि सबैभन्दा बढि प्रयोग हुने क्षेत्र भएता पनि बिभिन्न अनुसन्धानको प्रतिवेदन हेर्दा बीमा क्षेत्र पनि उत्तिकै संवेदनशील क्षेत्र देखिन्छ ।

सन् २०१२/१३ मा नेपालमा भएको राष्ट्रिय जोखिम मूल्याङ्कनमा बीमा क्षत्रको जोखिम १ देखि १० को स्केल मा ५.५ देखिएको थियो । जसले यो दर्शाउछ कि नेपालको बीमा क्षेत्र सम्पत्ति शुद्धिकरणको दृष्टिकोणले मध्यम जोखिममा रहेको छ ।

अन्तराष्ट्रिय संघ संस्थाको भूमिका
संसारमा सम्पत्ति शुद्धिकरण सम्बन्धी क्रियाकलापहरुको बढ्दो घटनाक्रम र उक्त क्रियाकलापहरुबाट उत्पन्न हुने अराजकतालाई न्यूनिकरण गर्न बिभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको स्थापना भएका छन् । त्यस्ता संस्थाहरुको सूचीमा नेशनल एक्सन टास्कफोर्सको महत्वपूर्ण योगदान रहेको छ । सन् १९८९ मा पेरिसमा सम्पन्न भएको जी–७ समिटको निर्णय बमोजिम स्थापना भएका नेशनल एक्सन टास्कफोर्सले सन् १९९० मा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी बिस्तृत मागदर्शन प्रदान गर्ने उद्देश्यले ४० वटा मापदण्डहरु तोकि उक्त मापदण्डहरुलाई समय सापेक्ष संशोधन समेत गर्दै आएको छ ।

सोही मापदण्ड र देशको बर्तमान परिवेशलाई आधार बनाएर संसारका बिभिन्न राष्ट्रहरुले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनहरु निर्माण गर्दै आइरहेका छन् । यसै प्रसंगमा टास्कफोर्सले जीवन बीमाको जोखिममा आधारित धारणा सम्बन्धी मार्गदर्शन २००९, नामक दिग्दर्शनसमेत प्रकाशन गरेको छ । जोखिमका प्रकृतिहरु पहिचान गरि, यसरी पहिचान रकम राख्नु, गैरकानुनी रुपमा प्राप्त सम्पत्तिलाइ बीमाको प्रणाली भित्र प्रवेश गराइन्छ (जीवन तथा निर्जीवन बीमालेख खरिद) तहगत बित्तीय कारोबार गरि रकमको श्रोत लुकाइन्छ (समर्पण, बीमाङ्क बढाउने कार्य, ऋण लिने कार्य, बीमालेख रद्द गर्ने कार्य, बीमा दावी गर्ने कार्य आदि) सम्पत्ति एकिकरण बीमाबाट प्राप्त रकमलाई अन्य क्षेत्रमा लगानी गर्ने कार्य भएका जोखिमहरुलाइ वर्गिकरण गर्ने तरिका लगायत जीवन बीमा गर्ने बीमकले अवलम्बन गर्न सक्ने अन्य उपायहरु समेत उक्त दिग्दर्शनमा समावेश गरिएको छ ।

बीमा क्षेत्रलाई हेर्ने हो भने बीमा सर्भेयरको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) ले बीमा नियमन सम्बन्धी २६ वटा सिद्धान्तहरु प्रकाशन गरेको छ जस मध्ये बाइसौं सिद्धान्त सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी सम्बन्धमा जारी भएको छ । उक्त सिद्धान्त बमोजिम बीमक तथा बीमकका मध्यस्थकर्ताहरुले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा बित्तिय लगानी निवारण सम्बन्धमा प्रभावकारी उपायहरु अवलम्बन गर्नुपर्ने प्रावधान रहेको छ ।

साथै नियमनकारी निकायले पनि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने प्रावधान रहेको छ । साथै नेशनल एक्सन फर टाक्सफोर्सको क्षेत्रीय संयन्त्र (एफआरबीएस), एपीजी ग्रुप जस्ता संस्थाहरु पनि सम्पत्ति शुद्धिकरण निवारणमा महत्वपूर्ण भूमिका निभाई रहेका अन्तराष्ट्रिय संस्थामध्ये पर्दछन् ।

बीमा क्षेत्रमा हुन सक्ने गतिबिधि
बीमा क्षेत्रमा पनि बिशेष गरि जीवन बीमा क्षेत्रलाई सम्पत्ति शुद्धिकरणको लागि दुरुपयोग गरिने संभावना अत्याधिक रहेको छ । बीमा क्षेत्रमा यस्तो गतिबिधि सर्वप्रथम सन् २००२ मा न्यूयोर्क टाइम्सले प्रकाशन गरेको थियो । जसअनुसार लागू औषध व्यापारबाट आर्जन गरिएको आठ करोड डलर रकम २०० वटा जीवन बीमालेख खरिद गर्न प्रयोग गरिएको थियो ।

बीमा क्षेत्रमा नयाँ नयाँ प्रकारका बीमालेखहरुको बिकास संगै बीमालेखमा भएका बिभिन्न बिशेषताहरुलाई कालो धनलाई सेतो बनाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । त्यस्ता बिशेषताहरु मध्ये केहि बिशेषताहरु निम्न बमोजिम रहेका छन् ।
बीमा शुल्क नगदमा नै स्वीकार गरिने बीमालेख
एकल बीमाशुल्क भूक्तानी गर्ने बिकल्प भएको बीमालेख
लगानी गर्ने बिकल्प भएको बीमालेख
बीमालेख धितो राखि ऋण लिन मिल्ने बीमालेख
चाँडै र सजिलै समर्पण गर्न मिल्ने बीमालेख
तेश्रो पक्षले गरेको बीमाशुल्क भूक्तानी स्वीकार गरिने बीमालेख

बिद्यमान कानुनी ब्यवस्था
सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दोस्रो संशोधन २०७० ले वित्तीय क्षेत्रका नियमनकारी निकायहरुको महत्वपूर्ण भूमिका तोकिदिएकाले बीमा समितिले पनि सो सम्बन्धमा बिद्यमान कानुनी ब्यवस्थाहरुमा परिमार्जन गर्न आवश्यकता महसुस गरी बीमा समितिबाट लागू गरिएको सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लाई, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दोस्रो संशोधन २०७० बमोजिम परिमार्जन गरी सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ जारी गरेको छ ।

नेपालको बर्तमान परिवेश र राष्ट्रिय आवश्यकता, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाका मान्यता, प्रचलन, प्रतिवेदन, नियमनकारी निकायको क्षेत्राधिकार र जोखिमको अवस्था आदि कुराहरुलाई ध्यानमा राखी बीमा समितिले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ जारी गरेको छ । उक्त निर्देशिकामा रहेका प्रमुख ब्यवस्थाहरु निम्न बमोजिम रहेका छन् :

आन्तरिक नीति तथा कार्यविधि :
बीमकले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी आन्तरिक नीति तथा कार्यबिधि तयार गर्नुपर्ने ब्यवस्था बीमा समितिबाट जारी गरिएको “सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९” मा पनि भएको तर २०७५ को निर्देशिकाले उक्त कार्यबिधिमा समावेश गर्नुपर्ने कुराहरु बिस्तृत रुपमा प्रष्ट पारेको छ ।

कर्मचारीको आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मुल्यांकन प्रणालीको आधार तथा पद्दती, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन प्रणाली, अस्वभाविक तथा शंकास्पद कारोबारको पहिचान गर्ने पद्दती र सो बीमा समाचार र बिचारको आधार जस्ता कुराहरु समेत समावेश गरी बीमकले आन्तरिक नीति तथा कार्यबिधि तयार गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

ग्राहक पहिचान तथा सम्पुष्टि:
बीमकले ग्राहकको पहिचान तथा सो को सम्पुष्टि गर्दा बीमित र प्रस्तावकको औंठा छाप (ल्याप्च) लिनुपर्ने साथै बीमित र अभिकर्ता बाहेक अन्य कुनै व्यक्तिले बीमितको नाममा नेपालस्थित कार्यालयमा एकलाख रुपैयाँभन्दा बढी बीमाशुल्क वा अन्य नगद रकम जम्मा गर्न आएमा त्यसरी रकम जम्मा गर्न आउने व्यक्तिको नाम, थर, सम्पर्क नम्बर वा ठेगाना र ग्राहकसँगको सम्बन्ध खुलाउने विवरण लिनुपर्ने ब्यवस्था गरिएको छ । ग्राहक पहिचानको सिलसिलामा ल्याप्चे सहीछाप लिंदा प्राकृतिक व्यक्तिको हकमा बीमित व्यक्ति र प्रस्तावक फरक भएमा प्रस्तावकको समेतको लिनुपर्ने तर नाबालिगको हकमा प्रस्तावकको मात्र ल्याप्चे सहिछाप लिए पुग्ने भएको छ ।

उच्च पदस्थ व्यक्तिको पहिचान
बीमकले बीमालेख जारी गर्दा, बीमालेख धितो राखी ऋण प्रदान गर्दा, बीमालेख समर्पण गर्दा वा बीमालेख अन्तर्गत अन्य कुनै पनि प्रकारले भुक्तानी गर्दा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र बनाइ लागू गर्नु पर्दछ । उच्च पदस्थ ब्यक्ति पहिचान गर्दा सार्वजनिक रुपमा उपलब्ध सूचनाबाट जानकारी प्राप्त गर्ने र सामाजिक सञ्जालमा उपलब्ध सूचनाहरुको विश्लेषण गरी जानकारी लिने समेत गर्नु पर्नेछ । साथै, उच्च पदस्थ व्यक्ति वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख त्यस्तो व्यक्ति अवकाश भएको, निजको बीमा अवधि समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नु पर्नेछ ।

वास्तविक धनी पहिचान
बीमकले वास्तविक धनी पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने माध्यम तयार गरि वास्तविक धनी र निजसँग सम्बन्धित सम्पूर्ण कारोबारको एकीकृत रूपमा अनुगमन गर्ने संयन्त्र तयार गरि लागु गर्नुपर्नेछ । साथै बीमकले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख त्यस्तो व्यक्तिको बीमा अवधि समाप्त भएको मितिले पाँच बर्षसम्म राख्नु पर्नेछ ।

जोखिम व्यवस्थापन र मूल्याङ्कन
बीमकले जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, व्यवसायिक सम्बन्धको प्रकृति, उद्देश्य र अवधि जस्ता कुराहरुलाई आधार मानी गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

बृहत ग्राहक पहिचान र सरलिकृत ग्राहक पहिचान
बीमकले विद्युतीय माध्मबाट व्यवसायीक सम्बन्ध कायम गर्ने वा कारोबार गर्ने ग्राहक, उच्च जोखिम देखिएको ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, कुनै कसुरजन्य वा शंकास्पद कार्यमा संलग्न हुन सक्ने आधार देखिएका ग्राहक, नगदको बढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहकको बृहत ग्राहक पहिचान गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

साथै बीमकले एकल बीमाशुल्क वा त्यस्तै प्रकृतिको अन्य बीमालेख वा पचासलाख रुपैयाँ भन्दा बढी बीमाङ्क भएको बचत प्रकृतिको बीमालेख वा विदेशबाट बीमाशुल्क भुक्तानी हुने बीमालेख जारी गर्दा अतिरिक्त उपाय अवलम्बन गर्नुपर्ने ब्यवस्था गरिएको छ । बीमकले कम जोखिम देखिएका ग्राहकको पहिचान गर्दा सरलिकृत ग्राहक पहिचान गर्न सक्नेछ तर यस्तो उपाय अवलम्बन गर्दा समितिबाट स्वीकृति लिनु पर्नेछ ।

विद्यमान ग्राहकको पहिचान अद्यावधिक गर्नुपर्ने
विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि समय सापेक्ष रुपमा अद्यावधिक गर्दै लाने ब्यवस्था गर्नु पर्नेछ । बीमकले सम्वत् २०७५ साल चैत्र मसान्तसम्म निर्देशिका बमोजिम ग्राहकको पहिचान अद्यावधिक गर्ने कार्य सम्पन्न गर्नुपर्नेछ । साथै ग्राहक पहिचान अद्यावधिक गर्ने क्रममा यथासक्य प्रयास गर्दा ग्राहकसँग सम्पर्क हुन नसकेमा त्यस्तो ग्राहकको छुट्टै विवरण तयार गरी राख्नुपर्नेछ ।

सीमा कारोबार सम्बन्धी प्रतिवेदन
एक वर्षमा तीन लाख रुपैयाँ वा सो भन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी कुनै बीमितले निर्र्जीवन बीमालेख खरिद गरेमा वा एक वर्षमा एक लाख वा सो भन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी जीवन बीमालेख खरिद गरेमा बीमकले वित्तीय जानकारी इकाईमा तोकिएको ढाँचामा जानकारी पेश गर्नुपर्दछ । पुनर्बीमाको हकमा हालसम्म कुनै ब्यवस्था गरिएको छैन ।

खास कारोबारमा विशेष ध्यान दिनुपर्ने
बीमकले एकल बीमाशुल्क भूक्तानी तथा १० लाख भन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी गर्दा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्नेछ । सो प्रणाली लागू गरेको जानकारी बीमा समितिलाई दिनुपर्नेछ ।

शंकास्पद कारोबारको प्रतिवेदन गर्नु पर्ने
बीमकले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा शंकास्पद गतिविधि देखिएमा वा ग्राहकले शंकास्पद गतिविधि गर्ने प्रयास गरेमा तीन दिन भित्र वित्तीय जानकारी इकाईलाइ शंकास्पद कारोबारको विवरण तोकिएको ढाँचामा पेश गनुपर्ने व्यवस्था छ ।

आन्तरिक नियन्त्रण प्रणाली
ऐन, नियमावली र यो निर्देशन बमोजिम बीमकले पूरा गर्नुपर्ने दायित्व प्रभावकारी रुपमा पूरा गर्न, गराउन आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन स्रोत समेतको समुचित व्यवस्था मिलाउनको लागि बीमकको संचालक समिति जिम्मेवार हुनुपर्ने ब्यवस्था गरिएको छ ।

बीमकले ब्यवस्थापनस्तरको कार्यान्वयन अधिकारी नियुक्त गर्नुपर्नेछ र यदि कार्यान्वयन अधिकारी परिवर्तन भएमा बीमा समितिमा र वित्तीय जानकारी इकाईमा जानकारी गराउनु पर्दछ । कर्मचारी र कार्यान्वयन अधिकारीलाई आवश्यकता अनुसार सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी बिषयमा स्वदेश र बिदेशमा तालिम प्रदान गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

बीमाशुल्क तथा दावी भूक्तानीः
बीमकले सम्वत् २०७५ चैत्र मसान्तसम्ममा एक लाख रुपैयाँ वा सोभन्दा बढीको बीमाशुल्क स्वीकार गर्दा बैंक, वित्तीय संस्था वा बैंकिङ्ग उपकरण वा पोस मेशिनमार्फत भुक्तानी लिने व्यवस्था प्रयोग गर्नुपर्नेछ । बीमकले सबै प्रकारको बीमाशुल्क बापतको रकम यस्ता मेशिन मार्फत भुक्तानी लिने व्यवस्था गर्दै जानुपर्नेछ । साथै २०७५ साल चैत्र मसान्तसम्ममा बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा पचास हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

कारवाहीः
ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने बीमक र त्यस्तो बीमकको कर्मचारी तथा पदाधिकारीलाई बीमकले बीमकको आर्थिक तथा सांगठनिक अवस्था, पालनाका लागि भएका प्रयास र कसुरको गाम्भिर्यता समेतको विचार गरी प्रभावकारी, आनुपातिक र निरोधात्मक हुने गरी एक करोडसम्म कारवाही हुनसक्ने व्यवस्था गरिएको छ ।

उपसंहारः
सरी, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण सम्बन्धमा प्रचलित ऐन, नियमावली साथै अन्तराष्ट्रिय प्रचलनलाई समेत आधार बनाइ तयार गरिएको “शुद्धिकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५” ले बीमा क्षेत्रमा भईरहेका सम्पत्ति शुद्धिकरण सम्बन्धी कृयाकलापहरुको पहिचान गरि कानुनी कारवाहिको दायरामा ल्याउन प्रभावकारी संयन्त्रको रुपमा कार्य गर्ने आशा गर्न सकिन्छ । यस बाहेक पनि बीमकले सम्पत्ति शुद्घिकरण निवारण सम्बन्धी बिद्यमान कानुनी ब्यवस्थाहरुको प्रभावकारी रुपमा पालना गरे नगरेको यकिन गर्न स्थलगत तथा गैर स्थलगत निरीक्षणहरु पनि गर्दै आइरहेको छ र यस्ता निरिक्षणहरुलाई अझै प्रभावकारी बनाउने नीति समेत अवलम्बन गर्दै आएको छ ।

बीमा क्षेत्रमा अन्य वित्तीय क्षेत्रहरुमा जस्तै सम्पत्ति शुद्धिकरण निवारणको लागि प्रभावकारी प्रणालिहरुको बिकास गर्दै लान आवश्यक छ । सन् २०२० मा एफएटीएएफले नेपालको पनि तेश्रो चरणको साझा मूल्याङ्कन गर्नेछ । सन् २०११ को मूल्याङ्कनमा नेपालले एफएटीएएफको ४० वटा मापदण्डहरुमध्ये एउटा मापदण्ड मात्र पूर्ण रुपमा पालना गरेको देखिएको थियो ।

बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारणको लागि बनेका ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन नभएको खण्डमा समग्र वितीय प्रणालीको मूल्यांकनमा नै नकारात्मक असर पर्ने हुँदा बीमा समिति र बीमकहरुले समयमै पहल गर्न अत्यन्त आवश्यक देखिन्छ । साभारः बीमा समाचार र विचार स्मारिका

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्