टप अभिकर्ताको बीमा शैली, भिईआईपीसँग उठबस, हुँदा खानेको सेवा

Citizen Life Insurance Co
शंकर लामिछाने (अशान्त), राष्ट्रिय प्रथम अवार्ड बिजेता एजेन्सी म्यानेजर, नेशनल लाईफ इन्स्योरेन्स

मध्यपश्चिमको जीवन बीमा ब्यवसायमा परिचित नाम हो शंकर लामिछाने । जो शंकर अशान्तका नामले बढी परिचित छन् । लामो समय अखबारी लेखनमा आफूलाई स्थापित गरिसकेका अशान्तसँग डेढ दशकको इलेक्ट्रोनिक ब्यावसायको अनुभव पनि छ । त्यो अघि उनी निजी बिद्यालयको प्रिन्सिपल समेत थिए । बीमा ब्यवसायमा उनी प्रवेश मात्रै गरेनन् बरु जमेर लागे । बीमालाई जीवनशैलीनै बनाए । उनी आफूमात्रै रमाएनन् धेरैलाई स्वरोजगार बनाउने गरी लागे । उनको पछाडि दुई हजारभन्दा बढि बीमा सदस्यमात्रै होईन दुईसय बढी अभिकर्ताको सन्जाल बनेको छ ।

समाजशास्त्रमा एमए गरेका अशान्त इतिहासको कुनै कालखण्डमा प्रगतिशील खेमाका राम्रै कलाकार थिए भन्ने कुरा भर्खरै चिनेकाले थाहा पाउँदैनन् । हाल पत्रकार महासंघ बाँकेका निर्वाचित कार्यसमितिका सदस्यसमेत रहेका अशान्तले बीमा ब्यावसायमा पूर्णकालीन समय दिन खोजिरहेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित सरस्वतीमार्ग निवासी अशान्त दुइपटक नेशनल लाइफ इन्स्योरेन्समा राष्ट्रिय प्रथप अवार्ड बिजेता हुन् । त्यसो त यो साल पनि उनी प्रथम अवार्डमा अगाडि नबढेका भने होईनन् । प्रतिस्पर्धाको प्राबिधिक तराजुमा झिनो अन्तरले दोस्रो भएपनि मेचीकालीका अभिकर्ता उनलाई नै अग्रस्थानमा मान्छन् । उनको बीमा ब्यावसाय कुनै शाखाले गर्ने भन्दा कम छैन । बिशेषतः यात्रा सस्मरणमा दख्खल राख्ने उनको लेखनी साहित्यप्रधान देखिन्छ । उनको साहित्यिक झटारोले समाजलाई जुरुक्क उठाउने खालको हुन्छ । २०६६ सालमा बीमा तालिम लिएका अशान्तले दुई वर्ष कुनै बीमा गर्न सकेनन् । २०६८ साललाई बीमाको साल घोषणा गरेर उनी त्यसैसाल ब्यावसाय प्रबन्धकमा नपाल टपर बने । उनको आगमनसँगै कम्पनीमा पुनरजागरण ल्याए । सुतेकालाई जगाउन थाले । अशान्तकै कारण नेशनल लाईफको नेपालगंज शाखाको ब्यवसायले उकालो यात्रा शुरु गर्यो ।

आफूलाई बीमा अभिकर्ताका रुपमामात्रै नबुझी बीमा कन्सल्टेन्टको रुपमा बुझ्न आग्रह गर्छन् अशान्त । बीमा ब्यावसायमा देखिने जुनसुकै अस्पष्टता बुझाउन मात्रै होईन यदि कुनै कम्पनीले बीमितलाई खुःख दिएको या ढिलासुस्ती भएको या भुक्तानीमा कुनै समस्या भएमा आफूलाई निर्बाध सम्पर्क गर्न आग्रह गर्छन् ।

उनको मीठो बोली नै सफलताको पहिलो औजार हो । जुन बोलीमा धेरै मान्छेको सहभागिता सम्भव भएको हो । मीठो बोली र सकरात्मक सोचले जुनसुकै काममा सफलता पाउने उनको भनाई छ । सफल हुनको लागि जहाँ पनि जुन काममा पनि सम्भव छ भन्ने मान्यता राख्ने उनी नयाँ काम भन्दा नि कामलाई नयाँ तरिकाले गर्दा सफल भइन्छ भन्ने मान्यतामा बिश्वास गर्छन् ।

हालसम्म दुईपटक थाइल्याण्ड दुइपटक फ्रान्सको पेरिस सहर त्यसैगरी दुबई मलेसिया सिंगापुर इन्डोनेसिया, कतार स्वीटजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, जर्मनी भ्रमणका अनुभव उनीसँग छ । भारतको राजधानी सहर नयाँ दिल्ली देखि शैक्षिक नगरी बैंगलोर सम्मको यात्रा तय भैसक्दा यी र यस्ता भ्रमणले समाजको तुलनात्मक अध्ययनको आफ्नो रहर पूरा भैरहेको बताउँछन् । बीमाको अन्तराष्ट्रिय अभ्यास र प्रचलनमा चासो राखेकै कारण उनले भ्रभणलाई सामान्य घुमाई र शपिङमा सीमित नराखेको बताउँछन् । प्रोफेसनल बीमा अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरममा पुगेर नयाँ नयाँ मित्रताको चाहना उनीभित्र प्रबल छ । त्यसैले नै हो हालै आफूले काम गर्ने कम्पनीले पहिलो पटक ल्याएको ग्लोबल कन्फरेन्सको प्रशिद्ध एमडिआरटी को ब्यवसायिक लक्ष पूरा गरेर बसेका छन् ।

उनको बीमा अभियानकै सक्रियताको दौरान नेपालगंज शाखा देशकै नमूना शाखा बन्न सफल भएको छ । ‘आज आफू नेपालगंज शाखाको हुँ भन्दा आफूलाई गर्ब लाग्छ भने शाखाले पनि हामीप्रति उत्तिकै गर्व गर्छ ।’ अशान्त आफ्नै कामबारे भन्दछन् । उनले सफल अभिकर्ताहरु समेत उत्पादन गरेका छन् । तुल्सी दर्शन, हुकुम बुढा, शिखा गौतम, संगीता अधिकारी, अमर चन्दजस्ता अत्यन्तै मेहेनेती र प्रोफेसनल अभिकर्ता जन्माउन पाएकोमा गर्व महसुस गर्दछन् ।

‘धेरथोर बिजनेस गरिरहने दुईसयभन्दा बढी सदस्य रहेको आफ्नो सञ्जाल देशकै नमूना भन्न सकेकोमा खुशी छु’ अशान्त भन्दछन् । राज्यको ढुकुटीमा हालसम्म आफ्नो पौरखबाट ३० लाख भन्दा बढी राजस्व बुझाएको प्रमाण आफूसँग भएको दाबी गर्ने लामिछाने बीमा पेशालाई अझै विस्तार गर्ने लक्ष्य रहेको बताउँछन् । पुग नपुग एक दशकको घामपानीको बीमा अनुभव छ उनीसँग– तीता र मीठा । बीमा ब्यावसाय तात्नै लाग्दा कुनै समय नेटवर्किग बिजनेसले अनेकन सपनाहरु बाँडेर बीमालाई ग्रहण लगाएको बताउने अशान्त कालान्तरमा सरकारले नै अबैध भनेर प्रतिबन्ध लगाएपनि अझै सर्वसाधरण भने बीमा र नेटवर्किग ब्यवसायलाई एउटै डयांगमा राखेर हेर्ने गरेको गुनासो गर्दछन् । अगुल्टोले हानेका कुकुर बिजुली चम्किंदा तर्सिए झैं । आजको दिनसम्म आउँदा बीमाप्रति मान्छेको भरोसा क्रमशः बढिरहेको छ । सरकार स्वयम् बीमाको प्रचार प्रसारमा छ ।

बीमाप्रति मान्छेका धारणा आशातित सकरात्मक भने भइसकेको छैन । अत्यन्तै बौद्धिक मान्छेले पनि बीमा भुक्तानी झन्झटिलो छ भनेर तर्किएमो पाईन्छ । केहीले मरेपछि पाईने पैसाको के अर्थ भन्छन् । पैसा भए बरु बैंकमा राखेर ब्याज खाँदै बस्र्थे भन्नेहरुको ठूलै जमात छ । हुनेखालेले त आफूसँग पैसाको अभाव नभएकोले बिपतमा बीमासीमा नचाहिने भनेर पन्छिन्छन् ।

बीमा कम्पनी र बीमितको बीचमा पुलको काम गर्ने अभिकर्तामै पनि भ्रमको जालो ब्याप्त भएको अशान्तको ठम्याई छ । बीमा गर्नुस् डबल पाउनुहुन्छ भन्ने आम बुझाई अभिकर्ताले नै सर्बसाधारण माँझ पुर्याए । आफ्नै कम्पनीको बोनसदर थाहा नहुनेले यसो भन्नु सरासर गलत अभ्यास भएको उनी बताउँछन् । अभिकर्ता समाजको मज्जाले अध्यययन गर्ने मान्छे हो । जो मान्छेको अत्यन्तै बैयक्तिक दुनियाँमा प्रवेश गरिरहन्छ ।

के पेसा गर्नुहुन्छ, मासिक आम्दानी कति, शारीरिक समस्या छ कि छैन बिरामी भए नभएको सबै सोध्छन् । पारिवारिक बिवरणमा कोको हुनुहुन्छ, स्वास्थ्य अवस्था कस्तो छ देखि महिलाको हकमा गर्भवती भए नभएको वा अन्तिम प्रसुती मितिसम्म भर्नैपर्ने हुन्छ । यसले आफूलाई आर्थिक सामाजिक अवस्थाको गहन अध्ययनमा योगदान पुर्याएको अशान्त बताउँछन् ।

बीमा अभियानकै दौरान धेरै भिआईपीहरुसँगको उठबस भएको छ । राप्रपाबाट निर्वाचित मेयर डा. धवलशमशेर राणा, सहरी बिकास मन्त्री मो.इस्तिहाक राई भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको बीमा आफ्नै हातले बीमा पोलिसी भरेको उनीसँग अनुभव छ । धनगढीका मेयर नृप ओड देखि परशुराम नगरपालिका डढेलधुराका मेयर भिम साउदसम्म बीमाकै कारण सामिप्यता बढेको हो । भिआइपीहरुको संलग्नताले बीमाप्रति सर्वसाधरणको लगाव ह्वात्तै बढ्ने अनुभव छ ।
बाँकेको कोहलपुरमा डेढ दशक देखि एजेन्सी कार्यालयको प्रम्ख भएर काम गरिरहँदा यो कार्यालयलाई आफ्ना अभिकर्ताको साझा थलोको रुपमा बिकास गरिरहेका छन् । आजको दिनसम्म आउँदा नेशनल लाईफमा रातो कार्पेट ओच्छयाउने दीपनारायण खनाल आफूले कहिल्यै नभुल्ने नाम बनेको बताउँछन् । रामचन्द्र तिवारी दीपक जोशी, यज्ञ सापकोटा बिष्णु बम जस्ता नामले पनि सधैं गुरुको प्रेरणा दिइरहेको अशान्त बताउँछन् ।

पैसा खुबै छापेको होला भन्ने चर्चा हुने गर्छ । तथापि यो पेसा आम्दानी एकरुपता नहुने खालको हो । साउन भदौमा पैसा देख्न पाईन्छ । अन्य समय दश हजार पाउँदा पाँच हजार थपेर नयाँ नयाँ बीमामै लगानी गर्ने गरेको अशान्तको भनाई छ । ‘कमिसनको त रंग नै देख्न पाईन्न’ अशान्त अनुभव सुनाउँछन् । उपहार या छुट जस्ता कुरा सामान्य नै भए । नजिककाबाट साथ नपाउने आफैले बोलाएर बीमा गरिदिनुस् भनेर बचन दिएकाले नि धेरै दुख दिएको अनुभव अक्सर सबै अभिकर्ताको साझा ब्यथा भएको उनी बताउँछन् । यी समस्यालाई फेस गर्न नसक्ने अभिकर्ताहरु पलायन हुनेगरेको दखिन्छ । आज मलाई समाजले प्रोफेसनल अभिकर्ताको नजरले हेर्छ । यो मेरो ठूलो सम्पती हो ।

ब्यवसायबाट आर्जित कमाईलाई सामाजिक काममा खर्चेका अशान्तले राउटे बस्तीमा खाद्यान्न मोबाईल लत्ता कपडा ,बाढी पीडितलाई आर्थिक सहयोग क्याम्पस निर्माणमा सहभागिता, अशक्त रोगीहरुलाई उपचार खर्च जस्ता धेरै ठाउँमा सहयोग गरेर समाज सेवामा समेत लगानी गरेका छन् । हालसम्म पाँचवटा दावी भुक्तानीको केस परेकोमा सबै समयमै र सहजै सम्पन्न भएको अनुभव छ ।

बीमामा पूर्णकालीन समय दिएकाहरुको भविष्य अनिश्चितजस्तो देखिएको छ । एकदिन यसमा सुधार आउला भन्ने आशा छ । नियमन निकाय बीमा समितिको पहल बिना यसमा आफूहरुको केही नलाग्ने ब्यवस्थापनपक्षको कुरा रहेको पाईन्छ ।
कुनै समय बीमाको अवधारणा समाजमा पुगाउने कंपनीकै अभाव थियो । आज धरै कम्पनीहरु सलबलाईरहेका छन् । बीमासमिति आजको मितिमा आउँदा पूर्णरुपमा बीमितमैत्री देखिएको छ । समितिले अभिकर्ताको सुबिधा कंपनीका खर्चमा कसिकसाउ गरेको छ । बिदेश भ्रमणमा लगाम लगाएको छ । जनताको नासोलाई न्यायाचित बोनस सहित फिर्ता गर्नुपर्ने दायित्वालाई भुलेर उत्ताउलो नारा र सस्तो लोकप्रियतामा चल्नेमाथि अंकुश लगाउनु आवश्यक पनि छ ।

बीमा मेरो रोजाईको बिषय हो । म लहडले या अचानक यो क्षेत्रमा आएको होईन । आँखाले देखिने सामाजिक धर्म निभाएको छु जस्तो लाग्ने बताउँछन् अशान्त । अभिकर्ताले आफ्नो पेशाप्रति गर्व गर्र्नैपर्छ । बीमितले पनि बीमा दिनुअघि प्रोफेसनल हो कि होईन भनर बिचार गर्छन् । सबैले बुझ्नु पर्ने एउटै कुरा यो हो कि जुनसुकै मान्छे सफल ब्यक्तिसँग सहकार्य गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार