…र यसरी बुझे जीवन बीमाको महत्व

4496

सन्तोष राज बजगाँई ।
जिन्दगीमा अलि अलि पैसा कमाउन थालियो । २०-२१ वर्षको उमेरमा बुवा आमाले तोकेर दिनु भएको पैसामा खर्च चलाउनु पर्ने दिन सकिदै थियो । आफुलाई क्लव जान, घुम्न सारै मन लाग्ने। आफ्नो कमाई नभएसम्म वुवा आमासित क्लव जान्छु पैसा दिनुस भन्न पनि नसकिने ।

अब आफै पैसा कमाउन थालियो। महिनामा थोरै कमाई हुने। त्यो कमाएको थोरै पैसा पनि खल्तीमा टिक्दै नटिक्ने। कहिले क्लब-पब जान मन लाग्ने, कहिले घुम्ने, कहिले साथी भाइसित पार्टी गर्ने ।

जागिर गरेको एक दुई महिना त रमाईलो नै लाग्यो। त्यसपछि भने मनमा एउटा कुराले आक्रमण गर्यो । महिना भरी कमाएको पैसा आखिर १५ दिनमै अभाव हुन थाल्यो। दिन भर दुख गरेर कमाएको पैसा केही रमाईलो मै सकिन थाल्यो।
त्यहि दिन नै बाचा गरे, भोलिदेखि पैसा खर्च गर्दिन भनेर अठोट लिए। तर त्यति सजिलो कहाँ रहेछ र लागेको बानी हत्तपत्त छुटाउनलाई। भोलि विहान फेरि खल्तीबाट पैसा झिक्न थाली हाले।

पैसा फजुल खर्च भयो भनेर एटिएम बोक्न छाडे। त्यसपछि साथी भाइ सँग सापटी मागेर पैसा चलाउन थाले। अनि एकै पटक पैसा तिर्दा पैसा सकिएको थाहा नै भएन ।

दिनमा पैसा खर्च गर्दा मनमा कुनै तनाव नभए पनि सुत्ने बेलामा भने यो कुराले सधै तनाव दिन्थ्यो। महिनाभर दुख केका लागि गरेको भन्ने प्रश्नले मलाई सुत्न नै नदिने भयो । बैंक खातामा पैसा बचाउन नसकिने निष्कर्षमा पुगे र अब केही भएपनि पैसा जोगाउनु नै पर्छ भनेर केही जुक्ति निकाल्न खोजे ।

एक मनले प्रत्येक दिन सहकारीमा बचत गर्ने सोेच बनाए । त्यसपछि फेरि सोचे वचत गरेको पैसा सजिलै निकाल्न पाईन्छ ! त्यो पनि काम भएन मलाई ।

केही दिनको अथक मेहनत पछि मेरो ध्यान जीवन बीमा तर्फ गयो। मेरो टोलमा धेरै जीवन बीमा अभिकर्ता थिए । उनीहरुले पहिले देखिनै मलाई जीवन बीमा गर्न आग्रह गर्थे । मैले उनीहरूको कुरा सुने पनि खासै ध्यान दिएको थिईन ।
अभिकर्ताको कुरामा खासै ध्यान नदिए पनि केही कुराहरु चाहिँ मैले मनन गरेर राखेको थिए ।

जीवन बीमा सम्बन्धी चिन्तन मनन गर्न थाले । केही बीमा अभिकर्ता सँग सामाजिक संजालमा निरन्तर कुराकानी गर्न थाले । जीवन बीमा भनेको आफ्नो  मृत्यु पछि परिवारले पाउने कुरा त हो भन्ने लाग्थ्यो । तर बिस्तारै थाहा भयो जीवन बीमाको दायरा ठुलो रहेछ। बीमाले मृत्यु पछि परिवारलाई आर्थिक सहायता दिने मात्र होइन, आफ्नो रकमलाई वचत गर्ने काम पनि गर्दो रहेछ र बीमा अवधिभर आफुले जम्मा गरेको रकम बीमा अवधि समाप्त भएपछि फर्किएर आँउदो रहेछ त्यो पनि बोनस सहित । बोनस प्रति हजार हिसाब हुँदो रहेछ । प्रती हजार ५०-६० बोनस दर चलेको थियो ।

अनि जसरी पनि प्रिमियम बुझाउनु पर्ने भएकाले मैले गर्ने फजुल खर्च केही वचत हुने आंकलन गरे। विवाह भएको थिएन र परिवारका अन्य सदस्यहरु आर्थिक रुपमा सबल नै भएकाले मैल मृत्यु पछिको कुरा सोचिन। मेरो एक मात्र ध्यान थियो कसरी वचत गर्ने ।

मैले एउटा बीमा अभिकर्तालाई सम्पर्क गरे। उहाँ मार्फत मैले एउटा बीमा पोलिसी खरिद गरे । अर्धवार्षिक रुपमा प्रिमियम बुझाउने गरि १५ वर्ष अवधिको जीवन बीमा खरिद गरे । उहाँले मलाई भन्नु भएको थियो दुई वर्षसम्मको प्रिमियम मैले बुजाईन भने मेरो बीमा कोल्याप्स” हुन्छ । मैले त्यो कुरालाई सधै मनन गरे । म कुनै ठुलो खर्च गर्नु अघि बीमाको प्रिमियम तिर्नु पर्छ भनेर सोच्ने गर्थे ।

यसरी मैले पब, क्लब र घुमेर सकाउने पैसाले जीवन बीमाको प्रिमियम तिर्थे। यसरी मैले कमाएको मेरो रकम केही वचत भयो । समय चल्दै थियो त्यसपछि विवाह गरियो । मेरो श्रीमती पनि जागिर गर्थीन । श्रीमतीले कमाएको रकम पनि वचत हुन्छ भनेर मैले जीवन बीमा गरेको बीमा कम्पनीमा गएर श्रीमतीको पनि बीमा गराई दिए। मैले श्रीमतीको जीवन बीमा गर्नु अघि केही कुरो सोचेको थिईन्। मैले वचतको लागि मात्र बीमा खरिद गरेको थिए ।

समय बित्दै थियो । बिस्तारै व्यवहारिक हुँदै गईयो ।
अब हामीले आफ्नो लागि मात्र सोच्ने दिन सकिदै गएको थियो। हामीले अब धेरै पछिको भविष्यको लागि सोच्न थाल्ने अवस्था आएको थियो । घर बनाउनु पर्ने, जग्गा जमिन जोड्नै पर्ने बाध्यता थिएन । हुन त सम्पत्ति जतिनै भएपनि मान्छेलाई पुग्दैन थियो तर पनि वुवा आमाले दुख सुख गरेर ललितपुरमा सानो घर लगाउनु भएको थियो । त्यसले हामीलाई धेरै सहारा दिएको थियो ।

अब हामीले हाम्रो भविष्यमा कुन दिन ठुलो पैसाको आवश्यक्ता पर्छ भनेर सोच्न थालेउ । हामी दुवैलाई आफ्नो वुवा आमाले पढाउन दुख गरेका थिए, त्यो दुख हामीलाई थाहा थियो । सन्तान भएपछि मलाई पाईलट पढाउने ठूलो रहर थियो । पाईलट एकदमै महङ्गो विषयमा पर्ने भएकाले पढाउनको लागि ठुलो रकमका खाँचो पर्ने थियो । जन्मिदै नजन्मेको सन्तानको उज्ज्वल भविष्यलाई सम्झदै मैले श्रीमतिको नाममा बीमा पोलिसी खरिद गरिदिए । निकै ठूलो बीमा प्रिमियमको बीमा गर्ने रहर थियो तर घाँटी हेरी हाड निल्ने नेपाली उखानलाई सम्झिए ।

म आफ्नो काम गरेर बस्ने र श्रीमतीको प्राईभेट जागिर। कुनै बेला जागिरमा उतारचढाव हुन सक्ने सम्भावना पनि धेरै नै थियो । त्यसले त्यति ठुलो बीमा खरिद गरिन् ।दुवैको आम्दानी वृद्धि भएपछि अर्को बीमा लिन सक्ने सम्भावना पनि धेरै नै थियो । त्यसैले त्यति ठुलो बीमा खरिद गरिन । दुवैको आम्दानी वृद्धि भएपछि अर्को बीमा लिने आन्तरिक सहमतीका साथ हामीले अहिले नै त्यति ठुलो बीमा खरिद गरेनौँ ।

बीमा भनेको वचत सँगै सुरक्षा पनि हो । यसले भविष्यमा आफुलाई केही भएको अवस्थामा आफ्ना सन्तानको सडकको बाँस हुदैन । भौतिक रुपमा अभिभावक नभए पनि सन्तानको भविष्यको सुरक्षित हुन्छ । त्यस्तै, बीमा गरेपछि अनिवार्य वचत पनि हुन्छ । अनिवार्य प्रिमियम तिर्नु पर्ने भएकाले मान्छेले खर्च गर्नु अघि एक पटक सोच्छ ।

आफुलाई बीमा अवधिभर केही नभएमा एकमुष्ट बीमाको पैसा आँउछ । हामीले बीमा गर्दा बीमाको अवधिको बारेमा निकै ध्यान दिनु पर्छ। आफुलाई कति वर्षमा ठुलो रकम चाहिन्छ भनेर स्पष्ट हुनुपर्छ । सन्तानको पढाईको लागि बीमा गर्न सकिन्छ , सन्तानको विवाहको लागि, बुढेसकालमा एकमुष्ट रकम प्राप्त गर्न आदि बीमा गर्न सकिन्छ ।

बीमा गर्दा जहिले पनि कम्पनीले दिने बोनसलाई ख्याल गर्नु पर्छ । बोनस दर प्रत्येक वर्ष फरक हुन्छ। राम्रो बोनस र निरन्तर बोनस दरलाई वृद्धि गर्दै लगेका कम्पनीमा बीमा गराउँदा राम्रो हुन्छ । केही कस्मेटिक स्किमहरु पनि हुन्छन बजारमा देख्दा राम्रो तर कृत्रिम रहने त्यस्तै स्किममा हामी सचेत हुनुपर्छ ।

त्यसपछि भने म अभिकर्ता पनि बने । फुल टाईम अभिकर्ता होइन यसो भेट भएको बेला साथीभाईलाई बीमाको महत्व भन्दै गरे । यसो एकदुई जना साथीभाईको  बीमा पनि गराए । जसबाट थोरै भए पनि आर्थिक लाभ भयो। बीमा अभिकर्ता बनेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने मलाई लाग्यो । बीमा अभिकर्ता बनेर दुख गरेमा राम्रो पैसा कमाउन सकिने रहेछ । आफु अरु नै क्षेत्रमा व्यस्त भएकाले यो क्षेत्रमा पुरै समय भने दिन सकिन । तर युवा भाई बहिनीलाई चाहिँ बीमाको महत्व बुझाउछु बेला बेलामा । उनीहरुलाई यसो पकेट मनि हुन्छ आफ्नो पढाइ र लक्ष्य नबिग्रने गरि काम गर्न सल्लाह दिन्छु ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्