काठमाडौं । शनिबार राति नेपालका १८ वटा बैंकको नेटवर्क ह्याक गरी एटिएम मेशिनलाई स्वतन्त्र बनाएर करोडौं लूटपाटमा संलग्न चिनियाँहरु रंगेहात पक्राउ परे । प्रहरीले तत्कालै अनुमान गरेको थियो, यो काण्डमा नेपालीको पनि कुनै न कुनै कोणबाट सहयोग हुनुपर्छ । प्रहरीले अनुमान गरे झै चिनियाँ ह्याकरहरुलाई सहयोग गर्ने नेपालीहरु फेला परेका छन् । सोमबार प्रहरीले राजधानीको ठमेलबाट तीन जना नेपालीलाई चिनियाँ ह्याकरसँग कनेक्सन रहेको आधारमा पक्राउ गरेको हो ।
एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहलाई सहयोग गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलस्थित डेस्को भन्ने मनिचेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती नाम गरेका एक युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।