नेपालमा जीवन बीमा: उपदेयता र चुनौती

1279

लक्ष्मण थापा

पछिल्लो समयमा आएर बीमा शब्द प्रायः सुनिन थालेको शब्द हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा माध्यम हो । यसले मानव जीवनमा देखा पर्ने आर्थिक जोखिमसँग सरोकार राख्दछ । जोखिम मानिसको जीवन र भौतिक सम्पतिमा निरन्तर देखा परिरहन्छ । हामी जोखिमले भरिरहेको जीवन व्यतित गरिरहेका छौं । जीवनयापनका दौरानमा आइपर्ने यस्ता जोखिमलाई हामीले रोक्न नसके पनि यसबाट कम क्षति होस् भन्नका लागि हामीले विभिन्न उपायको खोजी गरेका हुन्छौं । यीमध्ये जोखिम हस्तान्तरण विधि ज्यादै महत्वपूर्ण र आधुनिक विधि हो । यसबाट आफू र आफ्ना आफन्तको जीवनका अतिरिक्त आफ्नो धनसम्पतिमा रहेको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नु भनेको नै बीमा हो ।

र्घटना भयो अथवा कुनै क्षति भएको अवस्थामा बीमा कम्पनीले क्षतिपूर्ति दिने कबुल गर्दछ र भविष्यमा क्षतिपूर्ति प्रदान गर्दछ । सो बापत व्यक्ति वा संस्थाले बीमा शुल्क बीमा कम्पनीलाई तिर्नुपर्ने हुन्छ । त्यसैले पछिल्लो समयमा व्यक्तिको जीवन बीमादेखि ठूल्ठूला उद्योगधन्दा, सवारी साधन, पशुचौपाया, कृषिउपज जस्ता जीवन तथा निर्जीवन बीमा गर्ने गरिन्छ । नेपालमा बीमाको इतिहास हेर्ने हो भने पनि बीमाले सात दशक पार गर्न लागिसकेको अवस्था छ । हाल नेपालमा ३९ ओटा बीमा कम्पनी कार्यरत रहेकोमा १९ ओटा जीवन वीमा र २० ओटा निर्जिवन वीमा कम्पनी रहेका छन् । जीवनबीमा कम्पनीले व्यक्तिको जीवनमा आइपर्ने जोखिमको दायित्व लिएको हुन्छ । निर्जीवन बीमा गर्ने बीमा कम्पनीले व्यक्तिका भौतिक साधन, घर, मोटरगाडीदेखि विभिन्न व्यवसाय ठूलाठूला परियोजनाको जोखिम लिएर कार्य गरिरहेका हुन्छन् । नेपालमा जीवन बीमाको उपादेयता र चुनौतीका सम्बन्धमा यो लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१. परिचय
नेपालमा जीवन बीमाको इतिहास त्यति लामो छैन । विसं २०२९ मा राष्ट्रिय बीमा संस्थानले जीवन बीमा व्यवसाय थालनी गरेसँगै संस्थागत विकासको शुरुआत भएको हो । त्यसपछि करिव डेढ दशकसम्म निरन्तर उक्त संस्थानको एकाधिकार रह्यो । विसं २०४४ मा अर्को कम्पनी थपियो । मुलुकले खुला एवं उदार अर्थतन्त्र अवलम्बन गरेपछि नेपालको बीमा उद्योग क्षेत्रमा प्रतिस्पर्धी बीमा कम्पनीहरूको संख्या ह्वात्तै बढ््यो । नेपालमा बीमकको संख्या अनुरूप बजार बिस्तार हुन सकेको छैन ।

जीवन बीमा सर्वोत्तम बचतका साथै जोखिम हस्तान्तरण गर्ने एउटा आधुनिक विधि हो । यसले हाम्रो जीवनमा घट्ने घटनाबाट सिर्जीत आर्थिक जोखिम न्यूनीकरण गर्दछ । ‘बीमा ऐन २०४९’ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’ त्यसैले प्रत्येक व्यक्तिले जीवन बीमाको महत्व बुझेर बीमा गर्नुपर्छ । अहिले प्रत्येक गाउँ, सहरमा बीमा अभिकर्ता रहेका छन् । प्रत्येक नगरपालिकामा बीमा कम्पनीका कार्यालय छन् । हरेक नागरिकले यसको फाइदा उठाउँदै बीमा गर्नुपर्छ । निश्चित शुल्क तिरेर आर्थिक सुरक्षणको जिम्मा बीमा कम्पनीले लिएको हुन्छ । यसैलाई करार ऐनले पनि पूर्ण रुपमा निर्देशित गरेको हुन्छ । बीमा भन्नु नै दुई पक्ष बीचको सम्झौता वा करार भएकोले करारमा उल्लेख गरिएको शर्त जसले भंग गर्छ, उसलाई पक्कै पनि आर्थिक क्षति वा नोक्सानी हुन्छ । त्यसैले जीवन बीमा वा निर्जीवन बीमा जुनसुकै बीमा गर्नु अघि वा करारमा सहमति जनाउनु अघि आफूले पालना गर्नुपर्ने शर्तहरुको बारेमा पर्याप्त जानकारी लिनु उपयुक्त हुन्छ । बीमा र यसका पोलिसीहरुको बारेमा, अभिकर्ता, बीमा कर्मचारी, बीमा कम्पनी, बीमा कम्पनीका अधिकृत, बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिमा गएर पनि पूर्ण जानकारी हासिल गर्न सकिन्छ ।

नेपालमा जीवन बीमाको प्रयास लामो समयदेखि हुँदै आएको छ तर आम मानिसमा यसको सकारात्मक प्रभाव पर्न समय लागेको दखिन्छ । पछिल्लो समयमा यसबारे चेतना वृद्धि हुँदै गएको छ र मानिसहरु आकर्षित पनि हुँदै गएका छन् । विद्यमान समस्याको बाबुजत पनि नेपालमा ढिलै भए पनि बीमा क्षेत्रको विस्तार हुनु सकारात्मक पक्ष हो । यद्यपि जुन गतिमा यस क्षेत्रको विस्तार हुनुपर्ने हो त्यो रुपमा नभए पनि पछिल्लो पटक यस क्षेत्रको विस्तारको क्रम जुनरुपमा बढेको छ, यसले बीमा क्षेत्रलाई थप आशावादी बनाएको छ । कुनै पनि राष्ट्रको आर्थिक विकासमा बीमा क्षेत्रको ठूलो महत्व रहेको हुन्छ । सबै क्षेत्रमा हुने जोखिम व्यवस्थापन तथा घटना तथा दुर्घटनाबाट हुने आर्थिक तथा भौत्तिक क्षति न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको हुन्छ । तर बीमा क्षेत्रको यही अनिवार्यता आम ग्राहकहरुले बुझ्नु पर्छ । यो बुझाइ बिनाबीमा क्षेत्रको विस्तार प्रायः असम्भव रहेको छ । यस अर्थमा बीमाको विकास र विस्तारको लागि जनचेतनाको ठूलो भूमिका रहेको देखिन्छ । पछिल्लो समयमा बीमासम्बन्धी जेनचतनामा वृद्धि भएका कारणले यो क्षेत्रमा बीमितको संख्यामा बुद्धि हुँदै गएको छ । प्रतिकूल राजनीतिका कारण देशमा लगानीमैत्री वातावरणको अभाव र चरम ऊर्जा संकटका कारणले देशको आर्थिक तथा समग्र वित्तीय परिसूचकहरु नकारात्मक देखिएको अवस्थामा पनि बीमा क्षेत्रको पहुँचमा विस्तार हुनु सकारात्मक पक्ष हो । बीमा क्षेत्रको विस्तारले प्रत्यक्ष वा परोक्षरुपमा यस क्षेत्रसँग सरोकार राख्ने सबैलाई नै उत्तिकै उत्साहित बनाएको छ । घटनाहरु तोकिएको स्थान र समयमा हुँदैनन् । त्यसको बारेमा कसैलाई पूर्व जानकारी पनि कसैलाई हुँदैन । तसर्थ यो जोखिमलाई न्यूनीकरण गर्न बीमाको अति आवश्यकता देखिन्छ ।

२. जीवन बीमाको उपादेयता
नेपालमा जीवन बीमा अभिकर्ताको संख्या वर्षेनी बढिरहेको छ । बीमासम्बन्धी जनचेतना फैलाउने बलियो माध्यम भनेकै बीमा अभिकर्ता हुन् । सबै जिल्लामा जीवन बीमा कम्पनीका कार्यालय स्थापना भएका छन् । हरेक कम्पनीमा सयौंको संख्यामा बीमा अभिकर्ता रहेका छन् । तिनीहरूको संगठित प्रयासले जीवन बीमाबारे चेतना जगाउन निकै सहयोग पुगिरहेको पनि छ । जीवन बीमाका महत्व धेरै छन्, तीमध्ये केही तल दिएको छ–

सर्वोत्तम बचत: जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर यसप्रकारको बचत जुनसुकै समयमा झिक्न सकिदैन । बैंक तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर जीवन बीमावापत संकलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धारित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ । तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरीवानासमेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निर्धारित समयमै बीमाशुल्क भुक्तानीमार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ । सर्वाेत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटक–पटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम संकलन हुन्छ । साथै, बीमा अवधि नसकिदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमाङ्क तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।
आर्थिक सुरक्षा: जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम बहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नोे जीविका चलाउन सक्छ ।
कर छुट: नेपालको आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
ऋण सुविधा बीमा गर्दा दुई वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेख अन्य सम्पत्ति धरौटीमा राख्नुपर्दैन ।
आत्मनिर्भरता: जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नोे जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।
मानसिक शान्ति: मानिसलाई आफ्नोे जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नोे मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ ।
अभिकर्ताहरूले सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउनुपर्ने देखिन्छ । नेपालको कुल जनसंख्याको करीब ८३ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका छन् । तर अधिकांश बीमा कम्पनीका अभिकर्ताहरू शहरमुखी छन् । आगामी दिनमा ग्रामीण क्षेत्रमा पनि बीमासम्बन्धी जनचेतना फैलाउनुपर्ने देखिन्छ । यस्तो हुन सकेमा जीवन बीमाप्रतिको विश्वास अभिवृद्धि भई जीवन बीमा गर्नेको संख्या बढ्नेछ । हाल बजारमा केही अस्वस्थ प्रतिस्पर्धाको संकेत देखिन थालेको छ । बीमायोग्य जनसंख्याको अधिकतम १७ प्रतिशत नागरिकले मात्र जीवन बीमा गराएको तथ्य सार्वजनिक भइरहेको खण्डमा कम्पनीहरूको भविष्य उज्ज्वल नै देखिन्छ ।

एउटा जीवन बीमा पोलिसीले बीमितको मृत्यु भएमा नगद लाभ प्रदान गर्ने बाचा गर्दछ । इच्छाइएको व्यक्तिद्वारा मुख्यतः यस कोषको केही रकम बीमितको मृत्युसँग सम्बन्धित खर्चहरु र बाँकी रकम लगानी गरी आम्दानी प्राप्त गर्न प्रयोग गरिन्छ । यसले बीमितको मृत्युको कारणले हुने भविष्यको आम्दानीको क्षतीको सोधभर्ना गर्न सहयोग गर्दछ । मुख्य रुपमा जीवन बीमाले आर्थिक सुरक्षा प्रदान गर्दछ। जीवन बीमाले बीमा चालु रहेको अवस्थामा रहँदा बीमितको मृत्यु भएको अवस्थामा आर्थिक लाभ प्रदान गर्दछ। अझै, केही प्रकारका जीवन बीमाहरुले बीमित जीवीतै रहेको अवस्थामा पनि सञ्चित वचतको मूल्य प्रदान गर्दछ (जस्तैः अग्रिम भुक्तानी जीवन बीमा योजना) । जसरी हरेक व्यक्ति अनुसार रुपैंयाँको आवश्यकता फरक–फरक हुने गर्दछ, त्यसरी नै हरेक व्यक्तिको जीवन बीमाको आवश्यकता फरक–फरक हुने गर्दछ । यदि कमाउने व्यक्तिको असामयिक निधन भएको अवस्थामा साधारण व्यक्तिगत आवश्यकताहरुको पुन:स्थापना गर्नुपर्ने हुन्छ । यस प्रकारले आर्थिक जिम्मेवारीहरु जस्तैः धितो, पारिवारिक खर्च तथा आश्रितहरुसँग सम्बन्धित खर्चहरु पूरा गर्न सकिन्छ । जीवन बीमालाई शैक्षिक खर्च तथा निवृत्त आम्दानीको कोषको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

जीवन बीमा मार्फत्, व्यापारिक आवश्यकता पनि पूरा गर्न सकिन्छ । एउटा जीवन बीमाले कुनै मृत मालिकको वा हिस्सेदारको व्यापारको हिस्सा जीवीत हिस्सेदारले किन्न कोष प्रदान गर्न सक्छ । यदि कुनै व्यवसायमा महत्वपूर्ण व्यक्तिको मृत्यु भएको अवस्थामा व्यवसायमा ठूलो क्षती हुन सक्दछ । यस्तो अवस्थामा मुख्य व्यक्ति बीमाले व्यापारलाई थप रकम प्रदान गर्दछ । मृत्यु लाभ तथा शोधभर्नाको रुपमा कुनै व्यवसायले जीवन बीमा खरिद गरी आफ्नो कर्मचारीहरुलाई लाभ प्रदान गर्न सक्दछ ।

आर्थिक सुनिश्चितता: मानिसको जीवनको कुनै भरोसा हुँदैन । हरेका व्यक्तिको मृत्यु निश्चत छ, केवल मृत्युको समय अनिश्चित छ । मृत्युले युवा, वृद्धा, रोगी, निरोगी, केही भन्दैन । हाम्रो जस्तो विकासोन्मुख देशमा प्रायः परिवारको एक जना सदस्यले कमाएको आम्दानीले परिवार पाल्नु पर्ने र घर व्यवहार चलाउनुपर्ने हुन्छ । यदि परिवारको लागि आम्दानी गर्ने मुख्य व्यक्तिको अचानक मृत्यु हुन गएमा परिवारको बिचल्ली हुन्छ । आश्रितहरू बेसहारा बन्न पुग्छन् भने परिवारलाई गाँस, बास र कपासको आश्यकताले पिरोल्दछ । परिवारको मुख्य सदस्यको असामयिक निधनले परिवारलाई सामाजिक र आर्थिक दुवै किसिमको क्षती हुन्छ । सामाजिक रुपमा उसलाई आपसी स्नेह, सहयोग एवं संरक्षणको अभाव हुन्छ भने आर्थिक रुपमा परिवारलाई ठुलो क्षति पुगेको हुन्छ ।

माथि उल्लेख गरिएका क्षतिहरूमध्ये पहिलो क्षति भावनात्मक किसिमको हुन्छ, जसलाई पूर्ति गर्न सकिँदैन । तर समय बित्दै जाने क्रममा यसलाई बिस्तारै बिर्सदै जान सकिन्छ । दोस्रो किसिमको आर्थिक क्षतिलाई केही हदसम्म भएपनि बीमाले न्यूनीकरण गर्न सहयोग गर्दछ । जीवन बीमाले राम्रो तथा अनुकुल समयमा थोरै थोरै रकम बचत गरेर नराम्रो तथा प्रतिकूल समयको लागि आवश्यक व्यवस्था गर्न सहयोग पु¥याउँछ । यस किसिमको आर्थिक व्यवस्था केवल जीवन बीमाको माध्यमबाट मात्र गर्न सकिन्छ । किनकि बैंकमा जम्मा गरिएको रकम तथा अन्य सम्पत्तिमा गरेको लगानीबाट केवल आफ्नो जम्मा पूँजीगत राशि मात्र प्राप्त गर्न सकिन्छ भने जीवन बीमामा गरेको लागानीबाट चाहे मृतकद्वारा मृत्यु पूर्व एकै किस्ता भुक्तानी गरेको किन नहोस् उसले पूरै अवधिको रकम (बीमाङ्क) प्राप्त गर्दछ । यसले आर्थिक अनिश्चिततालाई सुनिश्चिततामा बदली दिन्छ ।

जीवन बीमाले बीमितका थप आवश्यकताहरू पनि निम्नानुसार पूरा गर्न सक्दछः
अ. शिक्षा कुनैपनि व्यक्तिको बालबच्चा भविष्यमा डाक्टर, ईन्जिनियर, वकिल, बैज्ञानिक, चार्टड एकाउण्टेन्ट, कुशल प्रशासक आदि हुन सक्दछ । यसको लागि केवल राम्रो शिक्षाको आवश्यकता पर्दछ । बालबच्चाको शिक्षादिक्षामा विशेष ध्यान दिनु प्रत्येक आमाबुबाको परम दायित्व कर्तव्य हो । यदि परिवारको मुख्य व्यक्तिको मृत्यु भएमा वा पूर्ण अशक्त तथा अपाङ्ग भएमा त्यस परिवारमा बालबच्चाको शिक्षा अधुरै रहन जान्छ र बालबच्चाको भविष्य अन्धकारमय हुन्छ । यस्तो अवस्थामा जीवन बीमाले आवश्य वित्तीय सुरक्षा प्रदान गर्दछ । केही जीवन बीमा योजनाहरू यस्ता हुन्छन्, यसले बालबच्चाहरूको शिक्षा दिक्षामा आर्थिक सहयोग जुटाउने किसिमका हुन्छन् (जस्तैः बाल सुरक्षा, नौलो बाल सुरक्षा) । यस्ता बीमा योजनाहरू परिवार पालनकर्ता जीवित रहेमा वा मृत्यु भएमा जुनसुकै अवस्थामा पनि बालबच्चाको शिक्षाको लागि सहयोग हुन्छ ।

आ. विवाह छोराछारीको विवाह कर्मको लागि खर्च चाहिन्छ । यदि परिवारमा आय आर्जन गर्न बाबुको मृत्यु भएमा छोरीको विवाह गर्न कठिन पर्न जान्छ । हाम्रो समाजमा दाइजो नपाएको कारण महिलाहरू हिंसाको सिकार बनेका समाचारहरू धेरै सुनिन्छ । यदि छोराछोरीको विवाहको लागि लक्षित गरी जीवन बीमालेख खरिद गर्ने हो भने परिवारमा यस किसिमको वित्तीय समस्या आइपर्ने छैन । उदाहरणका लागि हाल छोरीको उमेर १० वर्षको छ भने यदि १५ वर्ष अवधिको जीवन बीमा गर्ने हो भने छोरी २५ वर्ष हुँदा बीमा बापतको रकम प्राप्त भई आर्थिक टेवा हुनजान्छ ।

इ. बालबच्चाको बन्दोबस्त बालबच्चाहरूको शिक्षा दिक्षा पश्चात् उनीहरूको लागि आवश्य बन्दोबस्त गर्न आर्थिक सहयोगको जरूरत पर्दछ । यसलाई जीवन बीमाको माध्यमबाट पूर्ति गर्न सकिन्छ ।

ई. अन्त्येष्टी–कर्म परिवारको मुख्य व्यक्तिको निधनले परिवारलाई थप आर्थिक भार पर्न जान्छ । मृत्यु पूर्व अस्पतालमा उपचार गरिएको भएमा अस्पताल खर्च र दाहसंस्कार एवं काजक्रियाको लागि खर्च लाग्ने भएको हुँदा मुख्य व्यक्तिको निधनले आयश्रोत ठप्प हुन जाने र अर्कोतर्फ थप खर्च भार पर्न जाने हँुदा यस्तो अवस्थाबाट आफ्नोे परिवारलाई सुरक्षित राख्न जीवन बीमाको आवश्यकता पर्दछ ।

३. जीवन बीमाका चुनौतीहरु
कुनै पनि क्षेत्रको लागि एकपटक गरिएको बीमाले वर्षौंसम्म वहन गर्ने कुरा हुँदैन । जीवन बीमामा विमित र बिमकले गरेकोको करारमा भूक्तानीको किसिमको आधारमा बीमा रकम भुक्तान गर्नुपर्ने हुन्छ । यदि बिमितले वार्षिक रुपमा भुक्तानी गर्ने करार सम्झौता गरेको वखतमा प्रत्येक वर्षगाँठमा भुक्तानी गर्नुपर्ने हुन्छ । सो अवधि पश्चात ३० दिनको मौलत समय राखेको हुन्छ यो समय कटिसकेपछि बीमाले जोखिम लिँदैन अनि बीमाप्रति नै नकारात्मक धारणा फैलिन सक्छ । यस अर्थमा बीमा क्षेत्रको विकास र विस्तारमा सबैभन्दा ठूलो बाधक भनेको बीमाको बारेमा जनचेतना नहुनु हो । यसलाई हटाउनको लागि सरोकारवाला सबैको भूमिका अपरिहार्य रहेको छ । नेपालमा बीमाको व्यावसायिक विस्तारका लागि सम्भावनाहरुको खोजी भएको छैन । सबैले परम्परागतरुपमा नै बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । कम्पनीहरुले सम्भावना भएका अन्य क्षेत्रहरुलाई यसमा आबद्ध गर्ने प्रयास नै गरेका छैनन् । देशका सबै नागरिक समान हुन्छ, सबै नागरिकको जोखिमको व्यवस्था गर्नु राज्यको पहिलो कर्तव्य पनि हो । यसका लागि राज्यले विद्यालयस्तरबाट नै बीमाको बारेमा जनचेतना दिनु आवश्यक रहेको छ ।

नेपालमा जीवन बीमा कम्पनीहरुको बृद्धि पश्चात दावीका मुद्दाहरुलाई हेर्नेहो भने पोखरामा श्रीमती हत्या गरी दावी लिने योजना र रौतहटको मौलापुरमा बाबुले ४ वर्षकी छोरीको हत्या गरी वीमा दावी गर्ने योजना सहित गरिएको वीमाले वीमा क्षेत्रमा वेतीथि जन्मिएको प्रष्ट भएको छ । जसको रोकथामको लागि आवश्यक राज्यको तवरबाट र वीमा कम्पनीहरुबाट जनचेतना अभिबृद्धिमा विशेष जोड दिनुपर्ने देखिन्छ । मौलापुरमा भएको घटनाले अभिकर्ताहरुमा पनि तालिम तथा ज्ञानको कमी भएको देखिन्छ । यो पनि बीमा क्षेत्रको लागि ठूलो चुनौती हो । यसको खोजीतर्फ सरकार एवं सम्बन्धित निकाय चनाखो भएर लाग्नुपर्छ ।

यसको बारेमा आमनागरिकहरुमा सकारात्मक धारणाको विकास गर्न सके यसले मुलुकको सिंगो अर्थतन्त्रमा नै निकै ठूलो सकारात्मक भूमिका खेल्ने निश्चित रहेको छ । यसका लागि पनि अबको समय सरकार एवं सरोकारवाला निकायले बीमाको जग बलियो बनाउको लागि विद्यालयस्तरदेखि नै यस क्षेत्रको बारेमा जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको छ । अहिलेसम्म पनि नेपालमा क्षतिपूर्ति माग्ने कुरालाई प्राथमिकतामा राखिएको छ । दुर्घटना पछाडिका कारणहरु खोतल्ने प्रयास गरिएको छैन । यसको क्षति कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा पनि सबैको चासो पुग्न सकेको छैन । नेपालमा जीवन बीमा कम्पनीहरुको बृद्धि पश्चात दावीका मुद्दाहरुलाई हेर्नेहो भने पोखरामा श्रीमती हत्या गरी दावी लिने योजना र रौतहटको मौलापुरमा बाबुले ४ वर्षकी छोरीको हत्या गरी वीमा दावी गर्ने योजना सहित गरिएको वीमाले वीमा क्षेत्रमा वेतीथि जन्मिएको प्रष्ट भएको छ । जसको रोकथामको लागि आवश्यक राज्यको तवरबाट र वीमा कम्पनीहरुबाट जनचेतना अभिबृद्धिमा विशेष जोड दिनुपर्ने देखिन्छ । मौलापुरमा भएको घटनाले अभिकर्ताहरुमा पनि तालिम तथा ज्ञानको कमी भएको देखिन्छ । यो पनि बीमा क्षेत्रको लागि ठूलो चुनौती हो । यसको खोजीतर्फ सरकार एवं सम्बन्धित निकाय चनाखो भएर लाग्नुपर्छ ।

यसैगरी गलत दाबी भुक्तानी पनि यस क्षेत्रमा ठूलो समस्याको रुपमा रहेको छ । विभिन्न उद्देश्यले खोलिएका केही क्लिनिक तथा हस्पिटलहरुले पैसाको प्रलोभननमा पारेर गलत बिल दिनाले पनि यस क्षेत्रमा समस्या जन्माएको छ । यसलाई नियन्त्रण गर्नको लागि पनि सम्बन्धित मन्त्रालय एवं विभागले यस किसिमको कार्य गर्ने विरुद्ध कडारुपमा उत्रनुपर्ने समय आइसकेको छ । यसैगरी दुर्घटनासम्बन्धी प्रहरी प्रतिवेदनहरु पनि फेरिने गरेका छन् । यसमा पनि बिमक, बीमा समिति, ग्राहक र सरकारले वास्तविकतालाई ध्यान दिनु अति आवश्यक छ । दाबी भुक्तानीका लागि कार्यालयहरुमा विभिन्न व्यक्ति तथा समूहले दबाब दिने, राजनीतिक स्रोतबाट दबाब आउने र यी काममा गुण्डा र दादाहरुको प्रयोग हुन थालेको छ, यो पनि यस क्षेत्रको लागि ठूलो समस्याको रुपमा देखिएको छ । पछिल्लो समय बिमकलाई झुक्याएर जालसाजी गरेर गलत दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । यसलाई बीमा क्षेत्रप्रति नै गम्भीर संकट उत्पन्न गराउन सक्छ । यसको बारेमा पनि सबै क्षेत्र चनाखो हुनपर्छ । मुलुकमा बीमाको बारेमा जानकारी कम भए तापनि बीमा गर्नेहरुको संख्यामा भने क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । जीवन बीमाको क्षेत्रमा भन्दा पनि पछिल्लो समय निर्जीवन बीमाको क्षेत्रमा समस्या बढ्दै गएको छ ।

सरोकारवाला निकायको प्रभावकारी नियन्त्रण नहुँदा तेस्रो पक्षबाट हुने गलत दाबीमा पनि क्षतिपूर्ति दिनुपर्ने अवस्था रहेको छ, यो प्रक्रिया बढ्दै गएको छ । यस्तो दाबीको भुक्तानी नभएमा विभिन्न क्षेत्रबाट धम्कीसमेत आउने गरेकोे गुनासो पनि पाइन्छ । यस्ता विभिन्न खालका समस्या तथा चुनौतीहरुलाई समयमै ठोसरुपमा समाधान नगर्ने हो भने भविष्यमा यसले ठूलो संकट ल्याउने निश्चित रहेको छ ।

नेपाली समाजमा आफ्नोे लागि खर्च गर्नु भन्दा परिवारको लागि स्थायी सम्पत्ती संचय गर्ने प्रचलन छ । यस्तो सामाजिक परिवेशमा बीमाको बारेमा व्यापक जनचेतना जगाउन सकेमा परिवारको सुरक्षित भविष्यको लागि बीमालेख लिनेको संख्या पर्याप्त बृद्धि हुन सक्छ । देशको आर्थिक बृद्धिदर सन्तोष प्रद रहेको अवस्थामा सर्वसाधारणको बचत गर्ने क्षमतामा हुने बृद्धिले बीमालेख लिनेको संख्या बृद्धि हुनेछ । कर्मचारी वर्गको तलब बृद्धिको कारणले उनिहरुको बचत गर्ने क्षमतामा राम्रो बृद्धि हुने भै आर्थिक रुपमा सुरक्षित रहन बीमा गर्न अग्रसर हुने देखिन्छ । बीमा शुल्कको रुपमा तिरेको पुरै रकम तथा बीमाबाट आर्जित मुनाफामा समेत आयकर नलाग्ने व्यवस्था भएमा आयकरको दायरा भित्र पर्न आउने कर्मचारीहरु तथा अन्य मध्यम आय वर्गका व्यक्तिहरुलाई यो प्रावधानले बीमालेख लिने तर्फ अभिप्रेरित गर्नेछ । बीमा व्यवसाय उद्योग, व्यापार एवं जनसाधारणको प्रत्यक्ष आर्थिक सरोकार राख्ने व्यवसाय भएको हुंदा व्यवसायको नाममा यदाकदा हुन जान सक्ने दुरुपयोग बारे समयमा नै सोचबिचार नपु¥याएमा बीमितहरुलाई आर्थिक मार पर्नुका साथै बीमा व्यवसायको बारेमा नकारात्मक धारणा उत्पन्न हुन गई देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्न जान सक्ने परिस्थिति सृजना हुन सक्दछ ।

जीवन बीमा व्यवसायमा जोखिम मूल्यांकन गर्न बीमायोग्य जीवनका छनौटमा उल्लेखित आधार मात्र प्रयाप्त हुँदैन । जीवन बीमा व्यवसायमा व्यक्तिको नैतिक जोखिम (Moral Hazard) लाई पनि ध्यान पुर्याउनुपर्ने देखिन्छ । बीमितको खराव आचरणले पनि जोखिम बृद्धि गराउँदछ । जुन आचरण बीमित स्वयं आपूm भित्र लुकाउन चाहान्छन् । त्यस्तो आचराणको छानविन गर्नु अभिकर्ताको मुख्य दायित्व हुन्छ । अभिकर्ताहरु बीमकको प्रतिनीधि भएकाले बीमा गर्न चाहने व्यक्तिको आचरण कस्तो छ, त्यसको वास्तविक बीमक समक्ष प्रस्तुत गर्नु पर्दछ ।

त्यसैले बीमा गर्न चाहाने व्यक्तिका नैतिक आचरणहरु बाह्रमासे, रण्डीवाजी, देह व्यापार, कुलत, बढी मात्रामा मदिरापान, लागु पदार्थ सेवन आदी छन् भने त्यस्ता व्यक्तिको जोखिम बढी हुने सक्ने भएकाले, बीमा प्रति प्रोत्साहित नगर्नु नै अभिकर्ताको नैतिक दायित्व हुन्छ ।

त्यस्तै बीमितले इच्छाएको व्यक्ति मनोनयन गर्दा परिवारका सदस्य हुनुपर्ने बीमाको हितयोग्य सिद्धान्त मान्न सकिन्छ । किनकी बीमितको असामयीक निधनबाट परिवारको आर्थिक क्षति पुरा गर्न बीमाले सहयोग पुर्याउने छ (तर ऋणका लागि गरिने बीमामा यो सिद्धान्त लागु हुँदैन) । त्यसैले मनोनयनलाई पनि नैतिक जोखिमको रुपमा हेर्न सकिन्छ । त्यस्तै बीमितको सामाजिक प्रतिष्ठा, चालचलन, रहनसहन, व्यवसायिक गतिविधि, आर्थिक स्थीति आदी कस्तो छ, सोको आधारमा बीमितको नैतिक जोखिम मूल्यांकन गर्नका लागि अभिकर्ताले वास्तविकता बीमक समक्ष सत्य तथ्य खुलाउनु पर्दछ ।

 

४. उपसंहार
जीवन बीमाले बचत गर्न प्रोत्साहित गर्दछ । थोरै लगानी गरी धेरै आर्थिक सुरक्षा प्राप्त गर्न एक मात्र उपाय जीवन बीमा हो । यसका लागि एकै पटक धेरै रकमको आवश्यकता पर्दैन । यसमा स–साना रकम भक्तानीबाट पनि जोखिम न्यूनीकरणका साथै ठूलो रकम संकलन हुन पुग्दछ । दैनिक रुपमा थोरै थोरै रकम जम्मा गर्दै जाने हो भने यसबाट ठूलै बीमाङ्क रकमको बीमा गर्न सकिन्छ । बीमा कम्पनीले बीमितका आश्रितहरूलाई कूल बिमाङ्क र बोनोस भुक्तानी गरी आर्थिक सुरक्षा प्रदान गर्दछ ।

नेपाल जस्तो अस्थिर राजनीतिक भएको मुलुकमा जीवन बीमाको एकातर्फ सम्भावना र अर्कातर्फ चुनौतीहरु रहेका छन् । यी सम्भावना र चुनौतीहरुलाई सकरात्मक रुपमा लिइएर सर्वोत्तम वचत, आर्थिक सुरक्षा, मानसिक शान्ति, आत्म निर्भरता, करछुट, ऋण सुविधा आदि सुविधाका कारण पनि यसको महत्व दिनानुदिन बढ्दो क्रममा छ ।

विश्वव्यापी रुपमा वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्था भन्दा बढी बीमा कम्पनीहरुको प्रभुत्व बढी रहेको पाइन्छ तर नेपालमा त्यस्तो देखिदैन । नेपालमा अझैपनि बिमकहरुका बारेमा त्यति चर्चा परिचर्चा हुदैन । विषेशगरी जीवन बीमा कम्पनीहरुसँग लामो अवधिको ठूलो कोष हुन्छ । जीवन बीमा लामो अवधिका लागि गरिने भएकाले कोषको संरचना पनि त्यही किसिमले निर्माण हुने गर्दछ । त्यसैले पूर्वाधार निर्माण तथा जलविद्युत् जस्ता क्षेत्रमा लगानी गर्ने उपयुक्त उपकरणका रुपमा बीमाकम्पनीहरुको कोषलाई उपयोग गर्न सके त्यसले मुलुक र बीमा कम्पनी दुवैलाई फाइदा हुन्छ । बीमा कम्पनीलाई फाइदा हुनुभनेको लगानीकर्ता, बीमित, कर्मचारी र सरकारलाई पनि फाइदा हुनु हो । यसले बीमा क्षेत्रको वास्तविक पहिचान स्थापित गर्नुका साथै विकास निर्माणमापनि उचित हिस्सेदारी ओगट्छ । त्यसका लागि नियमनकारी निकाय बीमा समितिले नियमनकारी दायराबाट महत्वपूर्ण भूमिका निर्वाह गनुृपर्ने हुन्छ । बीमा कम्पनीहरुले सरकारी ऋणपत्र, बैंक तथा वित्तीय सस्थाको मुद्धति निक्षेपमात्रमा सीमित नभई पूर्वाधार निर्माण र जलविद्युतमा पनि सहभागि हुनुपर्ने देखिन्छ । यदि बीमा कम्पनीहरुले यस्ता पूर्वाधार निर्माण र जलविद्युतमा पनि लगानी गर्न सकेमा बीमाप्रति आम मानिसको धारणा परिवर्तन गराई सकरात्मक ढंगले बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

यसरी समग्रमा नेपाल जस्तो अस्थिर राजनीतिक भएको मुलुकमा जीवन बीमाको एकातर्फ सम्भावना र अर्कातर्फ चुनौतीहरु रहेका छन् । यी सम्भावना र चुनौतीहरुलाई सकरात्मक रुपमा लिइएर सर्वोत्तम वचत, आर्थिक सुरक्षा, मानसिक शान्ति, आत्म निर्भरता, करछुट, ऋण सुविधा आदि सुविधाका कारण पनि यसको महत्व दिनानुदिन बढ्दो क्रममा छ । –थापा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अण्डरराइटिङ्ग विभाग अन्तर्गत कार्यरत हुनुहुन्छ ।

सन्दर्भ स्रोत
बीमा ऐन, २०४९,
बीमा नियमावली, २०४९
बीमा चिनारी (२०६८), काठमाडौ, बीमा समिति
http://bsib.org.np/images/download/Annual%20Report%202071%20Final%20Approved.pdf
http://bsib.org.np/images/download/Strategic_Plan_2014-2019.pdfhttp://bsib.org.np/images/download/Yojana%20ma%20Beema.pdf
http://bsib.org.np/images/download/Purchase%20Byelaws.pdfhttp://bsib.org.np/images/download/Financial%20Byelaws.pdf

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्