बीमा समिति ५१ बर्ष पुग्दा, बीमा पहुँच भने १७ प्रतिशत पुग्यो

563

नेपालमा बीमा कम्पनीको स्थापना हुनु अगावै भारतीय बीमा कम्पनीका शाखाहरुले नेपालको औद्योगिक र व्यापारीक क्षेत्रमा आफनो व्यवसाय विस्तार गरेका थिए । नेपालको सिमा क्षेत्रमा विदेशी कम्पनीहरुको प्रभाव बढ्न थालेपछि नेपालमा पनि बीमा कम्पनीहरुको आवश्यकता मशसुस गरियो । फलस्वरुप २००४ सालमा नेपाल बैंकको पूर्ण स्वामित्वमा माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीमा परिवर्तन भयो । विं स. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा परितर्वन भयो ।

२०२४ साल पुस १ गते १ करोडको अधिकत्तम पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन जारी गरी यसलाई राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरियो । नेपालमा बीमा कम्पनीहरु स्थापना हुन थालेपछि २०२५ सालमा बीमा ऐन जारी गरियो । बीमा नियमावली अनुसार २०२६ साल जेठमा बीमा समितिको स्थापना भयो । त्यसपछि नेपालमा भारतीय बिमा कम्पनीहरुले शाखा विस्तार र नयाँ नेपाली कम्पनीहरुकै स्थापना भए । नेपाल बीमाको बजार बढ्न थालेपछि तत्कालिन समयमा बनाईएको बीमा ऐन धेरै संकुचित भएको महसुश गरियो । पुराना ऐनलाई पूर्ण रुपमा विस्थापित गरी २०४९ सालमा बीमा ऐन २०४९ जारी गरियो ।

बीमा समितिले आफनो स्थापनाको ५० औ बर्ष पुरा गरी आज ५१ औ बर्षमा प्रवेश गरेको छ । समिति स्थापना भएको आधा शताब्दी नाघि सकेको छ भने नेपालमा बीमा व्यवसायको सुरुवात भएको सात दशक नाघि सकेको छ । तर, नेपालमा बीमाको पहुँच भने बढ्न सकेन । बीमा समितिले पछिल्लो समयमा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको दाबी गरेको छ । तर, सरोकारवालाहरु भने यसलाई मान्न तयार छैनन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को पुस महिनासम्ममा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । समितिले नेपालको जनसंख्या २ करोड ९४ लाख ७० हजार ९२६ लाई अनुमान गरी गणना गर्दा बीमा पहुँच १७ प्रतिशत पुगेको देखिएको हो । उक्त अवधिमा ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी भएका छन् । जसमध्ये १६ लाख ५२ हजार ४५३ वटा बैदेशिक बीमालेख जारी भएका छन् । अन्य बीमालेखको संख्या भने ५२ लाख ५० हजार १२७ रहेको छ । समितिले २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको अनुमान गरेको छ । जुन कुल जारी बीमालेखको ५ प्रतिशत हो । बैदेशिक रोजगार र दोहोरिएको बीमा योजना बीमा योजनालाई घटाउँने हो भने बास्तविक बीमा योजनाको संख्या ४९ लाख ८७ हजार ६२० मात्रै जारी भएको देखिन्छ ।

समितिको दाबी अनुसार समितिको ५१ बर्षको अवधिमा १७ प्रतिशत पहुँच पुग्न आफैमा प्रसंशनीय छ त ? यस बिषयमा नियमनकारी निकायले ध्यान दिनु जरुरी छ । पक्कै पनि बीमा पहुँच सन्तोषजनक भने होईन । तुलनात्मक नेपालमा बीमा कम्पनीको संख्या अत्याधिक हुदाँ हुँदैन पनि बीमाको पहुँच बढ्न नसक्नुका विभिन्न कारण छन् ।

बुझाईमा कमी :

धेरै मानिसमा बीमा भनेको के हो ? यसको आवश्यकता के छ ? भन्ने बुझाई नै छैन । मानिसमा बुझाईमा कमी आउँनुको कारण भनेको बीमा सम्बन्धी कहि कतै चर्चा नै हुँदैन । न त बीमा सम्बन्धी अध्ययन अध्यापन हुन्छ । न त बीमा सम्बन्धी अनुसन्धान र प्रचार प्रसार हुन्छ । त्यसैले पनि मानिसमा बीमाको बुझाई कम छ ।

आम्दानी स्तर कम हुनु :

मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बाँस र कपास हो । त्यसपछि मात्रै मानिसले अन्य बिषयमा सोच्न सक्छ । नेपालमा धेरै मानिस दिनभर काम गरेर बेलुकाको छाक टार्ने अवस्थामा छन् । त्यसैले जबसम्म नेपालीको आम्दानीको स्तर बढ्दैन तबसम्म उनीहरुले बीमाको बारेमा सोच्न पनि सक्दैनन् ।

पहुँच नपुग्नु :

बीमा कभरेज नबढ्नुको अर्को कारण भनेको सबै ठाउँमा बीमा पहुँच नै नहुँनु हो । अधिकांश कम्पनीहरु शहर केन्द्रित छन् । त्यसमा पनि निर्जीवन बीमा कम्पनीहरु त आर्थिक गतिविधि नहुने स्थानमा जान नै चाहदैनन् । तसर्थ मानिसमा बीमाको पहुँचबाट बाहिर छन् ।

जर्बजस्ती गर्नु :

बीमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । अभिकर्ताले बीमाको बारेमा राम्ररी बुझाएर बीमा गराउँनु पर्छ । तर, नेपालमा अधिकांश अभिकर्ता नै बिमाको बिषयमा अनभिज्ञ छन् । त्यसैले उनीहरुले मानिसलाई बीमाको बारेमा बुझाउँने भन्दा पनि जबरजस्ती गर्न खोज्छन् । जसका कारण मानिसहरु बीमा भन्ने वित्तिकै डराएर भाग्छन् ।

दाबी भुक्तानी नहुने :

मानिस बीमा प्रति निरुत्साहीत हुने अर्को मुख्य कारण भनेको समयमा दाबी भुक्तानी हुन नसक्नु हो । जति बीमा गर्न सहज छ त्यति नै दाबी भुक्तानी लिन कठिन । भुक्तानी लिदाँ कम्पनीहरुले झन्झटिलो प्रक्रिया बताउँछन् । समयमा भुक्तानी पनि गर्दैनन् । जसका कारण मानिसहरु बीमा प्रति नकरात्मक छन् ।

अबको बाटो :

बीमा समितिले प्रत्येक बर्ष बार्षिक उत्सव मनाएर बर्ष गनिरहँनु भन्दा पनि बीमाको बिषयमा थप प्रचार प्रसार गर्नु आवश्यक छ । बीमालाई अझै आम जनता माझ लैजाउनु पर्छ । जति सक्दो सस्तो बनाउँनु पर्छ । नियमनकारी निकायको हैसियतले कम्पनी, बीमा अभिकर्ता र सर्भेयरलाई अनुगमन गर्नु आवश्यक छ । कम्पनीलाई सहज भुक्तानी गर्न निर्देशन दिनुपर्छ । अभिकर्ता र सर्भेयरलाई आचार संहिता भित्र रहेर काम गर्न लगाउँनु पर्छ । तब मात्रै नेपालमा बीमाको पहुँच बढ्न सक्नेछ । बार्षिक उत्सव मनाउँनु पनि सार्थक हुनेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्