काठमाडौं: मंगलबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ३७ अंकले बढेको छ । कारोबार सुरु भए देखि बढेको नेप्से परिसूचकले १ हजार २ सय ८० विन्दुमा पुगेर रोकिएको छ । लामो समय देखि निरन्तर रुपमा घटीरहेको नेप्से परिसूचक मंगलबार उत्साहजनक अंकले बढेको हो ।
मंगलबार कारोबार भएका अधिकांश समूहको परिसूचक बढेको छ । सो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक सबैभन्दा धेरै ६४ दशमलव ६५ अंकले बढेको छ । बिकास बैंक समूहको परिसूचक ३७ दशमलव ८२ अंकले बढेको छ भने जीवन बीमा कम्पनीको ३७ दशमलव ३६ अंकले बढेको छ । बैंकिंग समूहको परिसूचक २९ दशमलव ५२ अंकले बढेको छ । तर, अन्य समूहको परिसूचक भने १.९४ अंकले घटेको छ ।
बीमा कम्पनीका सेयर पनि बढ्न थाले
२६ दिनको अवधिमा ११ वटा बीमा कम्पनीको सेयरमूल्य धेरैले बढेको छ । जसमध्ये प्रिमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरैले बढेको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ११८ ले बढेको छ । उक्त अवधिमा कम्पनीको अधिकत्तम सेयरमूल्य १ हजार १९५ रुपैयाँ पुगेको थियो भने न्यूनत्तम १ हजार २१ रुपैयाँ पुगेको थियो । तर, कम्पनीको अन्तिम सेयरमूल्य १ हजार १४४ रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको ७ करोड ४५ लाख रुपैयाँ बराबरको ६६ हजार ८४५ कित्ता सेयर कारोबार भएको छ ।
त्यस्तै, सगथरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य भने १०४ रुपैयाँले बढेको छ । उक्त अवधिमा कम्पनीको अधिकत्तम सेयरमूल्य १ हजार ४८० पुगेको थियो भने न्यूनत्तम १ हजार ३४२ रुपैयाँ पुगेको थियो । तर, कम्पनीको सेयरमूल्य १ हजार ४४९ रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको १ करोड ६१ लाख रुपैयाँ बराबरको ११ हजार ४२० कित्ता सेयर खरिद विक्री भएको छ ।