काठमाडौं । सानिमा समूह मुख्य प्रवर्द्धक रहेको धुम्बाहारीमा अवस्थित पाँच तारे होटल अकामाको माउ कम्पनी अकामा होटल लिमिटेडको व्यापार २५ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १७ करोड ७० लाखको कारोबार गरेको होटलले गत आर्थिक वर्ष २०८०।८१ मा २२ करोड १० लाख रूपैयाँ कमाएको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार, बैठक, सम्मेलन, सभा समारोह, सामाजिक रितिरिवाजसँग सम्बन्धित कार्यक्रम, प्रवर्द्धनात्मक कार्यक्रमका कारण होटलको आम्दानीमा वृद्धि भएको हो। होटलको कुल बिक्री कारोबारमध्ये ४६ प्रतिशत हिस्सा यस्तो गतिविधिको आतिथ्यताबाट प्राप्त हुन्छ। यसैगरी पर्यटकको लागि कोठा उपलब्ध गराएर कुल आम्दानीको ४९ प्रतिशत हिस्सा ओगटेको छ।
अघिल्लो आर्थिक वर्षमा ३० प्रतिशतको तुलनामा गत आर्थिक वर्षमा अकुपेन्सी(कोठा बिक्री) दर ४६ प्रतिशतमा उक्लिएको छ। यसबाहेक, चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो ८ महिनामा अकुपेन्सी दर ४२ प्रतिशत रहेको छ। अकुपेन्सी दरसँगै होटलको आम्दानी बढेकाले हासकट्टी र कर अघिको नाफा मार्जिन अघिल्लो वर्षको २४.३१ प्रतिशतबाट गत आवमा २६.०१ प्रतिशत पुगेको छ।
होटल निर्माण र सञ्चालनका लागि लिएको बैंक ऋणको ब्याजवापतको खर्चका कारण होटलले गत आवमा खुद घाटा बेहोर्नु परेको छ।
सन् २०१९ देखि सञ्चालनमा आएको यो होटलमा कुल १०८ कोठा, ब्याङ्कवेट हल, जिम, रेष्टुरेण्ट सहितको सुविधा छ।
केयर रेटिङले आइपीओ निष्काशनका लागि यसअघि दिएको केयर एनपि डब्बल बी माइनस इस्युअर रेटिङलाई पुनः निरन्तरता दिएको छ। यसैगरी १ अर्ब १० करोड रूपैयाँ दीर्घकालीन कर्जा सुविधाका लागि पनि डब्बल बी माइनस रेटिङलाई समर्थन गरेको छ। यस्तो रेटिङ प्राप्त कम्पनीले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको जोखिम रहेको हुन्छ।
केयर रेटिङका अनुसार, कोठा बिक्रीवापतको आम्दानीमा सुधारसँगै कुल आयमा वृद्धि गर्न सक्ने क्षमतासँगै तोकिएको समयमै बैंक ब्याज चुक्ता गर्न सक्ने क्षमताले यो कम्पनीको क्रेडिट रेटिङ र इस्युअर रेटिङको निरन्तरता निर्भर रहनेछ।
धुम्बाराहीमा पाँच तारे होटल अकामा सञ्चालन गरिरहेको अकामा होटल लिमिटेडले प्रति कित्ता रू ५० का दरले शेयर निष्काशनको प्रस्ताव गरेको छ। यो होटलले कुल ४५ लाख कित्ता शेयर जारी गरेर २२ करोड ५० लाख रूपैयाँ जुटाउने योजना बनाएको छ। अकामा होटलमा सानिमा बैंक र सानिमा समूहको लगानी छ।
होटलले ख्याती बढाउन र विदेशी पर्यटक आकर्षित गर्न अमेरिकी होटल सञ्जाल रमादा बाइ विन्दमसँग व्यवस्थापन साझेदारी गरेको छ।